मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तर्वार्ता

‘दुःखले मैलिएको मन पखाल्न कहिलेकाहीँ रुनुपर्छ’

यो समाज, आफन्त र नातेदार तपाईँको सफलतामा मात्र साथ हुन्छन्

काठमाडौँ– चितवन मेघौलीकी सीता सुवेदी शास्त्रीय नृत्यांगनाका रुपमा आफ्नो अलग पहिचान बनाएकी छिन् । बाह्र वर्षकै उमेरमा क्यान्सरका कारण उनले एउटा खुट्टा गुमाइन् ।

यसका बावजूद पनि उनले आफूलाई शास्त्रीय नृत्यांगनाको रुपमा अझ फराकिलो परिचय बनाएकी छिन् । उनी शास्त्रीय नृत्यकी प्रशिक्षक समेत हुन् ।

पछिल्लो समय मोडलका रुपमा समेत परिचित सीताले हालै ‘मिसेस नेपाल इन्टरनेशनल २०२३’ उपाधि हात पारिन् । त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभाग अन्तर्गत संगीतमा उनले स्नातकोत्तर समेत गरेकी छिन् । उनका झण्डै आधा दर्जन गीतहरु रेकर्ड भएका छन् ।

समाजमा आफ्नो पहिचान स्थापित गरेर उदाहरणीय व्यक्तिका रुपमा चिनाएकी कलाकार सुवेदीसँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

शास्त्रीय नृत्य, संगीत र मोडलिङमा समेत पछिल्लो समय व्यस्त देखिनुहुन्छ । तपाई आफूलाई यी मध्ये कुन रुपमा चिनाउनुहुन्छ ?

शास्त्रीय नृत्यांगना भनेर मेरो परिचय निकालिदिएमा मेरो परिचय रहँदैन । ब्युटी प्याजेन्टसँग जोडिएर मिसेस इन्टरनेशनल २०२३ विजेता भनेर जोडिएको भर्खरै मात्र हो । मेरो कर्मक्षेत्र शास्त्रीय नृत्य नै हो । म नृत्यांगना हुँ र म यसैमार्फत् चिनिएकी छु । अर्को म संगीतको विद्यार्थी पनि हुँ । मेरा चार/पाँच वटा गीतहरु रेकर्ड पनि भएका छन् । एउटै क्षेत्र भए पनि म तीन वटा धारमा रहेँ । शास्त्रीय नृत्य, संगीतको विद्यार्थी र मोडलिङतिर परिचय बन्दैछ ।

वन लेग डान्सर’का रुपमा तपाईलाई आम मानिसले दिएको परिचयभन्दा फरक किसिमले आफ्नो व्यक्तित्वबारे कसरी चिनाउनुहुन्छ ? 

समाजले मलाई फरक क्षमताको व्यक्तिका रुपमा लिएको छ । मलाई विभिन्न उपनाम र परिभाषा पनि दिइएका छन् । तर शारीरिक चुनौतीहरुबीच पनि म आफैं समाजलाई योगदान दिनलाई लडिरहने योद्धाका रुपमा लिन्छु । गाह्रो त धेरै भयो । र, छन् । तर म निरन्तर सङ्घर्ष नै गरिरहेकी छु । म यो समाज र हामी जस्ता व्यक्तिहरु माथि राखिने मान्यतालाई तोड्न नै लडिरहेको छु ।

शारीरिक रुपमा अशक्त र फरक क्षमताका व्यक्तिलाई राज्य र समाजले दिएको परिभाषा तथा हेर्ने दृष्टिकोणप्रति तपाईको धारणा के छ ?

शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई राज्यले गर्ने परिभाषा र दिने केही सुविधाहरु समग्रमा हेर्दा आवश्यकताको विन्दु पनि हो । तर मेरो विचारमा सबैमा इन्क्लुसिभ हुनुपर्छ । राज्यले दिएको केही भागबाट खानेभन्दा पनि त्योभन्दा माथि उठेर हाम्री बलियो हुनुपर्छ । बलियो बनेर उदाहरण बन्न म आफैं लागिपरेकी छु । म समावेशी हुन चाहन्छु । मलाई पाँच प्रतिशतबाटै खाऊ भन्दा पनि म सय प्रतिशत नै लड्छु । कोसिस गर्छु भन्ने मेरो मान्यता हो ।

जीवनका अप्ठ्यारा मोडहरुमा लडेर आउनुभयो । सङ्घर्ष र सफलताका सम्बन्धलाई कहिलेकाहीँ केलाउनु हुन्छ होला नि होइन ?

सङ्घर्ष मेरो मात्र जीवनमा नभएर सबैको जीवनमा छ । सङ्घर्ष नगरिकन कोही पनि माथि उठ्न सक्दैन । मेरो लागि सङ्घर्ष निरन्तर मेहनतको फल हो । कुनै क्षेत्रमा सफल होस् या नहोस् निरन्तर लागिरहेमा सकारात्मक हुँदै जाँदो रहेछ । त्यसको प्रतिफल आउन धैर्य चाहिँ हुनु पर्दोरहेछ । मेरो लागि यी दुवै सिकाइ पनि भएको छ । मेहनत र धैर्यताले सफल भइन्छ । निरन्तर सङ्घर्षको प्रतिफल नै सफलता हो ।

सफल व्यक्तिको पछाडि मात्र समाज दौडने प्रवृत्तिलाई तपाई कसरी लिनुहुन्छ ? तपाईका भोगाइहरुले यसमा कतिको मेल खान्छन् ?

मेरो नितान्त व्यक्तिगत अनुभवले पनि के भन्छ भने प्रगति गर्न नसक्दा म समाजको पछाडि थिएँ । म समाजको साथ चाहन्थेँ । म केही गर्न चाहन्छु, म सिक्दै छु भन्दा पनि आफ्नै नातेदार, आफन्त नजिक थिएनन् । घर छोडेर बाहिर निस्कँदा म एक्ली भएँ । तिमी नजिक नबस भन्ने शब्दहरु पनि भोगेकी छु । शुरुमा चित्त दुख्यो । तर मैले बिस्तारै प्रगति गर्न थालेपछि मलाई बोलाउन थाले । यो समाज, नातेदार, आफन्त हाम्रो सफलतामा हुन्छ । हामी दुःख र सङ्घर्षमा छौं भने पछाडिबाट धाप मार्ने मान्छे पनि हुँदैन । साँच्चिकै दुःखलाई बुझ्ने विरलै हुन्छन् । त्यसैले म आफैंसँग मानसिक रुपमै सङ्घर्षरत छु र गर्छु ।

मान्छे दुःखमा अक्सर रुन्छन् । तपाईसँग पनि रुवाइका अनुभव पक्कै होलान् । यसलाई कसरी सम्झनुहुन्छ ?

जीवनमा मन चसक्क दुखेर म धेरै पटक रोएकी छु । रोएका धेरै पलहरु छन् । खुट्टा काटिएर जीवनको मोड नै बदल्दा रोएको क्षण छ । जुन रुवाइ नै मेरो लागि राम्रो नतिजा भयो । तीन कक्षामा एक चोटी गणित विषयमा त्रैमासिक परीक्षामा फेल हुँदा मन दुख्ने गरी रोएँ । त्यतिबेला एउटा विषयमा म फेल हुँदैमा म अगाडि बढ्न नसक्ने मान्छे हुँ र भन्ने सोचेँ र अन्तिम नतिजामा पास भएँ । रुनु आफैंमा नराम्रो होइन भन्दिनँ । कहिलेकाहीँ रुँदा आफैंलाई बलियो बनाउँछ । रुँदा मन चङ्गा हुन्छ र आफूभित्र भएको मन पखालिन्छ । रुवाइले मन सङ्लो पनि हुन्छ । अगाडि बढ्ने बाटो छर्लङ्ग बनाउन कहिलेकाहीँ रुनु पनि पर्छ ।

दुःखमा साथ रहनेहरु विरलै हुन्छन् । तपाईँको जीवनमा हरक्षण साथ रहनेहरु पनि होलान् नि ? 

मलाई यहाँसम्म ल्याउन धेरै जना मान्छे मेरो जीवनमा हुनुहुन्छ । मेरो पछाडि मिडिया, शुभचिन्तक र परिवार हुनुहुन्छ । यी मध्येमा मेरो भाइ नीलकण्ठ मेरो साथमा सधैं छ । म टुटेको बेला हौसला दिने मेरो भाइ हो । उसले मलाई साथ दिएको थियो र अहिले पनि छ । पछिल्लो समयमा शारीरिक अवस्थाकै कारण स्टेजमै अपमानित हुनुपर्ने दिन पनि आए । यस्तो बेला मलाई सपोर्ट गर्ने मिडिया र मेरा शुभचिन्तकहरु नै हुनुहुन्थ्यो ।

मान्छेलाई सफलताका लागि शरीरको अंगभन्दा हिम्मत चाहिन्छ भन्ने मान्यतामा तपाई कतिको अडिग हुनुहुन्छ ?

समाजले हामी जस्ता मान्छेलाई कठै विचरा भनिदिँदा दुःख लाग्छ । हामी कठै विचरा होइनौं । म पनि आफैं मेहनत गरेर यहाँसम्म आएकी हुँ । मुख्य कुरा सङ्घर्ष र हिम्मत नै हो । हामीलाई अवसर चाहिन्छ । सङ्घर्ष गर्ने नगर्ने व्यक्तिको आफ्नो कुरा हुन्छ । मैले आफूले सक्ने कोसिस गरेको छु । मेहनत गर्ने अवसर दिनुभयो भने या अवसर जुटाइदिनु भयो भने हामीलाई विचरा नै भन्नु पर्दैन । चुनौतीलाई सामना गर्ने वातावरण चाहीँ समाजले दिनुपर्‍यो । त्यो भयो भने दयाको पात्र बनाइरहनु पर्दैन ।

तपाईप्रति आम समाजले हेर्ने प्रवृति त फेरिएको छ नि होइन ? 

अहिले निकै परिवर्तन भएको पाउँछु । तिम्रो जीन्दगी खत्तम भयो भन्नेहरु पनि थिए । अहिले सम्झिँदा दुःख लाग्छ । तर त्यही कुराले मेरो जीवन नै बदलियो र त म यहाँ छु । अहिले पनि म पूर्ण स्थापित भएको जस्तो लाग्दैन । म कर्म गरिरहेकी छु । आम समाजले हेर्ने दृष्टिकोणको पाटोलाई समाजकै जिम्मामा छोडेकी छु ।

भनिन्छ, ग्लामर क्षेत्रमा यसै पनि चुनौतीहरु छन् । तपाईजस्ता व्यक्तिका लागि अझ होलान् नि ? 

अरुको तुलनामा चुनौतीको सामना दोब्बर नै छन् । सौन्दर्य क्षेत्रमा हामीले सुन्दरतासँगै हाम्रो हिम्मतको प्रदर्शन गर्ने हो । मैले सकेको गरिरहेकी छु । अझै राम्रो गरुँ भन्ने मेरो सोच हो । मेरो सोच नै अरुका लागि उदाहरण र अगाडि बढ्ने साहस होस् भन्ने मेरो लक्ष्य हो । मेरो सङ्घर्ष मेरो मात्र होइन । म जस्ता सबैका लागि हो । मलाई हौसला दिने मान्छे र समाज पाएकी छु । यसैमा अझ खुसी छु ।

तपाईँको आफ्नो अनुभवमा शारीरिक चुनौतीका बीच सफलताका सुत्र के–के हुन सक्लान् ? 

हामी पछाडि फर्केर हेर्ने होइन अगाडि बढ्न कोसिस गर्नुपर्छ । अरुले भन्दा हामीले दुई गुणा बढी दुःख गर्नुपर्छ यो सत्य हो । शारीरिक चुनौती छ भने र आफूलाई नरोकौं । सहभागीतामा सकेसम्म जोड दिनुपर्छ र मेहनत गरौं गर्न नछाडौं । अलिकति बढी सामना गर्नुपर्छ तर यही नै समाजमा जाने सकारात्मक प्रभाव बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?