काठमाडौँ– दक्षिण भारतीय सिनेमा ‘केजीएफ’ नेपालमा प्रदर्शन हुँदा चावहिलस्थित एफक्युव सिनेमाले रात्रिकालीन शो नै चलाएको थियो । ‘पुष्षा’, ‘आरआरआर’, जस्ता सिनेमाको क्रेज बढिरहँदा नेपाली सिनेमाका लागि भने हलमा दर्शकको खडेरी थियो ।
एक दर्शक नहुनु अर्कोतिर हलहरुले ‘शो’ नदिएकै झोकमा एकताका सिनेकर्मीहरुले टुँडिखेलमा सिनेमा देखाउने चेतावनी समेत दिएका थिए । भारतीय सिनेमाको दबदबा नेपाली सिनेमा क्षेत्रमा बढिरहँदा नेपाली सिने क्षेत्र भने मारमा परको स्वयम् सिनेकर्मीहरुले बेलाबेलामा आवाज उठाउँछन् ।
खुला सीमाना र मिल्दो–जुल्दो भाषा र संस्कृतिका कारण भारतका हरेक उत्पादनले नेपाली बजारमा कब्जा जमाइरहेको सिनेकर्मीहरुको मत छ ।
पछिल्लो समय नेपाली सिनेमा बन्ने क्रम बढ्दो छ । यद्यपि नेपालका सिनेमा हलहरु हिन्दी सिनेमाहरु बेचेर नै चलिरहेको यथार्थलाई नकार्न सकिँदैन । व्यापारका लागि नेपाली हलहरूले बलिउडकै भर पर्नुपर्ने अवस्था रहेको सिनेमाकर्मी तथा विज्ञहरु बताउँछन् ।
चलचित्र विकास बोर्डको तथांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ सिनेमा रिलिज हुँदा विदेशी सिनेमाले धेरै कमाएको देखिन्छ । बोर्डका अनुसार नेपालमा हिन्दी सिनेमा ‘पठान’ले आर्थिक वर्ष २०७९–०८० मा १३ करोडभन्दा बढी आम्दानी गरेको छ । प्रभास स्टारर विवादित सिनेमा ‘आदि पुरुष’ ले समेत नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको तथ्याङ्क छ ।
विश्वव्यापीकरणको समयमा विदेशी सिनेमा चलाउनु हुँदैन भन्ने मान्यतामा नेपालका सिनेमाकर्मीहरु छैनन् । विश्व व्यापार संगठनको सदस्यता, खुला बजारको नीति तथा उदारवादी अर्थतन्त्र अवलम्बन गरेका लोकतान्त्रिक शासन व्यवस्था भएको नेपालजस्तो देशले विदेशी सिनेमामाथि प्रतिबन्ध लगाउने नैतिकता पनि हुँदैन भन्ने आम बुझाइ छ । तथापि पूरा बजार विदेशी सिनेमालाई दिएर स्वदेशी सिर्जनालाई मर्न दिनु हुँदैन भन्नेमा सिनेमाकर्मीहरु माग राख्छन् ।
हरेक हप्ता हलमा नयाँ–नयाँ नेपाली सिनेमाहरु आउनु, दर्शकको खडेरी पर्नु तथा कुनै सिनेमाले पोस्टरको पैसा समेत उठाउन नसक्नु नेपाली सिनेमा क्षेत्रका लागि नौला कुरा होइनन् । सिनेमा क्षेत्रलाई अगाडि बढाउँछु भन्ने निर्माताहरुका लागि लगानी डुब्ने जोखिम मापन उस्तै उकालो लागिरहेको देखिन्छ ।
नेपाल चलचित्र संघका महासचिव तथा सिनेमा निर्माता नरेन्द्र महर्जन भने नेपाली सिनेमाको चर्चा उत्तिकै हुने गरेको दाबी गर्छन् । सङ्ख्यात्मक हिसाबले नेपाली सिनेमाहरु धेरै उत्पादन हुनु र एकै समयमा दुई/तीन सिनेमाको प्रर्दशन मिति जुधाइको कारणले गर्दा चर्चा कम भएको जस्तो देखिने उनले बताए ।
‘नेपाली सिनेमाको चर्चा एकदमै भयङ्कर हुन्छ । वर्षभरिमा ग्रस कलेक्सन पनि धेरै हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ नेपाली सिनेमाहरु एकै मितिमा प्रदर्शन हुन्छन् । त्यसले गर्दा समस्या हुने गर्दछ ।’
यदि हलमा सिनेमा नजुधाउने हो भने नेपाली सिनेमाले पनि चर्चा पाउने उनले सुनाए । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सिनेमा निर्माणमा ध्यान दिनुपर्नेमा सिनेमाकर्मीहरु जोड दिन्छन् । नेपाली सिनेमाको कथावस्तु राम्रो भएमा राम्रो दर्शक पाउने महर्जनको बुझाइ छ ।
उनले भने, ‘विषयवस्तु राम्रो भयो नेपाली सिनेमा पनि हिन्दी, साउथ इङग्लिस सबै सिनेमाहरुलाई पछि पार्न सक्छ । त्यसपछि साउथ, हिन्दी, अङ्ग्रेजी भन्ने कुरै आउँदैन ।’
ओभरसिज राइट भनेर नेपाली सिनेमा पनि अन्तर्राष्ट्रिय बजारमा पुगेको मर्हजन बताउँछन् । यसमा नेपाली फिल्मी क्षेत्रमा चाख राख्ने मानिसहरुले चासो राख्नुपर्ने उनको भनाइ छ ।
राम्रा सिनेमाले पनि सोचे जस्तो बजार पाएनन्
पछिल्लो समय नेपाली सिनेमाहरुको कथावस्तु राम्रो भए पनि बजार पाउन नसकेको गुनासो सुनिन्छ । प्रविधिको उच्च प्रयोग गर्न नसक्दा नेपाली सिनेमाहरुले सोचे अनुसारको प्रगति गर्न नसकेको नेपाल चलचित्र विकास बोर्डका पूर्व सदस्य सचिव गुणराज श्रेष्ठले सहमति जनाए ।
नेपाली सिनेमाको सानो बजार र समसामयिक कथावस्तु सिनेमामा नआएकोले नेपाली सिनेमाको चर्चा कम भएको उनले बताए । उनले भने, ‘समय माग तथा दर्शकको भावना अनुसारका सिनेमा बन्न सके नेपाली सिनेमा उद्योग पनि राम्रो हुन्छ । दर्शकले कस्तो कुराहरु मन पराउँछन भनेर अनुसन्धान गरेर लगानी गर्नुपर्छ ।’
अङ्ग्रेजी, कोरियन र साउथ इण्डियन सिनेमाहरुको कथालाई हुबहु सारेर सिनेमा निर्माण गर्ने सिनेमाकर्मीहरुको जमात पनि ठूलो छ । यसले गर्दा नेपाली सिनेमामा मौलिक कथाको खडेरी परेको आम जनगुनासो सुनिन्छ । यसकारण पनि नेपाली सिनेमा बजार फस्टाउन नसकेको आरोप लाग्दै गर्दा निर्माता तथा निर्देशक महर्जन भने यसमा असहमति जनाउँछन् ।
पहिले एक जमानामा नेपाली निर्देशक तथा निर्माताले अरु सिनेमाहरुको स्क्रिप्ट हेर्ने गरिए पनि पछिल्लो समयमा यस्तो ट्रेन्ड हटिसकेको उनको ठहर छ । नेपाली सिनेमाहरुको ब्राण्डिङका लागि नै भनेर अन्तर्राष्ट्रिय स्तरको कुनै सिनेमा महोत्सवको आयोजना नभएकाले पनि नेपाली सिने क्षेत्र ओझेल परेको उनको तर्क छ ।
नेपाली सिनेमालाई विश्व बजारमा पुर्याउन सरकारले अग्रसरता देखाउनुपर्ने उनले सुझाव दिए । बलिउडका सिनेमामा सरकारी तवरबाट ठूलो लगानी हुँदा नेपालमा भने यस्तो अभ्यास नरहेको उनले सुनाए ।
देशको राजनीतिक अवस्थादेखि सामाजिक, साँस्कृतिक वा कलाको अवस्था के कस्तो छ भन्ने जान्नका लागि सम्पूर्ण विश्वले सिनेमा पनि मुख्य आधारका रुपमा लिने विज्ञहरुको मत छ । त्यसकारण पनि यो क्षेत्रलाई चलायमान बनाइराख्नुपर्छ भन्नेमा फल्मकर्मीहरु जोड दिइरहेका छन् ।
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रको अवस्था हेर्दा केही आशा लाग्दो समेत देखिएको छ । केही सिनेमाहरु राम्रै चर्चा पाउन थालेका छन् भने विश्व बजारमा पनि जाने क्रम जारी छ ।
नेपाली सिनेमा उद्योगको विकासका लागि सरकारले पनि सिनेमामा आवश्यक लगानी गर्नुपर्ने नेपाल चलचित्र विकास बोर्डका पूर्व सदस्य सचिव श्रेष्ठको भनाइ छ । सरकारले कलाकार र प्राविधिकको क्षमता अभिवृद्धि गर्ने गरी शिक्षालयको व्यवस्था गर्नुपर्ने उनले सुनाए ।
निर्माता महर्जनले भने श्रेष्ठकै भनाइलाई स्वीकार गरे । उनले भने, ‘देशको राजनीतिक, सामाजिक, साँस्कृतिक र कलाको विकासका लागि सिनेमाको पनि भूमिका रहन्छ भन्ने कुरा आजका राजनितिज्ञहरुले बुझ्न आवश्यक छ । सिनेमाकर्मसँग निर्माण, वितरण र प्रदर्शन जोडिएका यी तीनवटै पक्षलाई राज्यले सबल बनाउनुपर्छ ।’
यसको निमित्त संस्था, व्यक्ति, व्यवसायी, पत्रकार, दर्शकसँगै सिनेमा निर्माणसँग जोडिने सबैको तत्परता र सहकार्यलाई अगाडि बढाउनुपर्ने उनको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया