मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रुघाखोकीलाई सामान्य र कस्तोलाई जटिल मान्ने ?

काठमाडौँ– सामान्यतया रुघाखोकीलाई हामी सामान्य बिमारको रुपमा लिने गर्दछौ । जुन मुख्यतया धुवा,धुलो र चिसोको कारणले लाग्ने गर्दछ भन्ने आम बुझाइ छ । जाडोयाममा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसो अर्थात रुघाखोकीले धेरै सताउने गर्छ । रुघाखोकी र ज्वरोको समस्या मौसम परिवर्तनको बेला धेरै मात्रामा देखिने गर्छ ।

रुघाखोकीलाई मेडिकल भाषामा सिजनल फ्लु भनिन्छ । यो प्रायः भाइरसको कारणले हुने गर्छ । त्यसैले, मुख्यतया खानपानमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । रुघाखोकी के कारणले लाग्ने गर्दछ ? यसबाट बच्न के गर्ने ? कस्तो रुघाखोकीलाई सामान्य र कस्तो लक्षण भएको रुघाखोकीलाई जटिल मान्ने भन्ने सन्दर्भभमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश-

कस्तो रुघाखोकीलाई सामान्य र कस्तोलाई जटिल मान्ने ?

छाती धेरै दुख्ने, सास फेर्न गाह्रो हुने, लामो –लामो सास फेर्ने,पखला लाग्नेजस्ता समस्या देखिन थाल्यो भने यस्तो रुघाखाकीलाई जटिल रुपमा लिनुपर्छ र अस्पताल जतिसक्दो छिटो जानुपर्छ । अनि यस्ता लक्षणहरु देखा परेनन् र सामान्य रुपमा घाँटी दुख्ने , रुघा लाग्ने मात्रै भइरहेको छ भने त्यो सामान्य रुघाखोकी हो ।

तर यदि सामान्य रुघाखोकि मात्रै लागेको छ तर गर्भवति, बालबालिका र जेष्ठ नागरिकहरुको हकमा हो भने यस्ता बिरामीहरुले भने जतिसक्दो छिटो अस्पताल जाँदा राम्रो हुन्छ ।

लगातार कति दिनसम्म रुघाखोकी निरन्तर भयो भने डराउनुपर्छ ?

भाइरल इन्फेक्सनको रुघाखोकी ठिक हुन साधरणतया एक हप्ता दश दिन लाग्छ । तर ब्याकटेरियल इन्फेक्सनले सङ्क्रमण गर्दै गयो भने छाति दुख्ने, शरीर गल्नेजस्ता समस्या हुन्छ । यसकारण यो अवस्थामा घरै बसिरहनु हुँदैन ।

रुघाखोकीका बिरामीहरुहरुले कस्तो खानपान गर्नुपर्छ ?

रुघाखोकीका बिरामीहरुहरुले विशेषतः झोलिलो खानेकुरामा जोड दिनुपर्छ । र, प्रशस्त रुपमा आराम गर्नुपर्छ । यसो गर्दा धेरैभन्दा धेरै मानिसहरु दश दिनभित्र ठिक हुने गर्छन् ।

जाडो महिनामा कसरी रुघाखोकीबाट बच्न सकिन्छ ?

चिसो याममा रुघाखोकीबाट बच्न पहिलो कुरा भनेको मास्क लगाउने, हुलमुलमा नजाने, साबुनपानिले हात धुने गर्नुपर्छ ।

रुघाखोकी लाग्ने कारणहरु के कस्ता रहेका छन् ?

कमन कोल्ड, फ्ल्यू ,राइनो भाइरसको कारण पनि रुघाखोकी लाग्ने गर्छ । र, अहिले कोरोनाको नयाँ सब भेरियन्ट पनि सलबलाई रहेको छ र यो पनि रुघाखोकीको एक कारक तत्व हो ।

गर्मियाम र जाडो महिनामध्य कुन सिजनमा रुघाखोकीका बिरामीहरु बढ्ने गर्छन् ?

रुघाखोकीका बिरामीहरुको त्यस्तो सिजन छैन । गर्मी, जाडो दुबै समयमा उस्तै सङ्ख्यामा बिरामीहरु आउनुहुन्छ ।

रुघाखोकी नै लाग्न नदिन के के कुरामा ध्यान दिन आवश्यक छ ?

रुघाखोकी नै लाग्न नदिन रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु, जस्तै उसिनेको अण्डा खाने गर्नुपर्छ । त्यसमा पनि ४० वर्ष कटेकाले अण्डाको सेतो भाग मात्र खाने गर्नुपर्छ । स्याउ र सुन्तला खानु राम्रो हुन्छ । सकेसम्म बासी खाना खानु हुँदैन । पानी उमालेर वा मनतातो बनाएर मात्रै खाने गर्नुपर्छ । दिनमा आधा वा एक घन्टाजति घाममा बस्ने, कागतीको सेवन गर्ने, चिसोबाट बच्ने गर्दा रुघाखोकीबाट बच्न सकिन्छ ।

रुघाखोकी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम के हो ?

रुघाखोकी लागेको बेलामा अरूको अगाडि बस्दा मास्कको प्रयोग गर्नुपर्छ । हाछ्यु गर्दा मुख छोप्ने गरियो भनेपनि अरूमा सर्नसक्ने सम्भावना र अरुको आफुमा सर्न सक्ने सम्भावना निकै कम भएर जान्छ । सङ्क्रमितले अरूको सामान प्रयोग गर्नु हुँदैन । धेरै भीडभाडमा जानु हुँदैन । जो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम छ, त्यस्ता व्यक्तिहरुमा यस्ता रोग छिटो सर्ने हुन्छ ।

अन्त्यमा, चिसो महिनामा रोगहरुबाट बच्न साथै आफ्नो शरीरको ख्याल गर्नको निमित्त आम सर्वसाधरणलाई के सुझाव दिन चाहानुहुन्छ ?

यो मौसममा शरीर ढाक्ने कपडा लगाउनुहोस् । त्यसपश्चात तातो, झोलिलो खानेकुराहरु बढी मात्रामा सेवन गर्ने गर्नुहोस् । आफू बिरामी पर्नुभएको छ भने परिवारका सदस्यहरुबाट परै रहनुहोस् । धेरै भिडभाड हुने ठाउँमा नजानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?