मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

दश नेपाली उपन्यास, जसमा प्रेम र यौन मनोविज्ञानलाई प्राथमिकता दिइएको छ

काठमाडौँ– संसारमा सबैभन्दा बढी चर्चा गरिने विषय नै प्रेम हो । यसकै पृष्ठभूमिमा कैयन् सिनेमा बनेका छन् भने थुप्रै पुस्तकहरू लेखिएका छन् ।

विश्वका चर्चित कृतिहरू पनि प्रेमकै बारेमा लेखिएका छन् । महान् साहित्यकार शेक्सपियरको ‘रोमियो–जूलियट’, लियो टोल्सटायको ‘अन्ना करेनिना’, ग्याब्रियल गार्सिया मार्खेजको ‘लभ इन् द टाइम अफ कोलेरा’, निकोल क्रौसको ‘द हिस्ट्री अफ लभ’ लगायत कृतिहरु प्रेम कथाकै कारण विश्वमा प्रख्तात भएका छन् ।

नेपालको सन्दर्भमा पनि प्रेमको विषयमा लेखिएका साहित्यिक कृतिलाई पाठकले निकै रुचाएका छन् । प्रेमको चर्चा हुँदा महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ होस् या बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’, रमेश विकलको ‘मधुमालती’ का काल्पनिक पात्रहरुको आदर्श प्रेमलाई उदाहरणका रुपमा लिइन्छ ।

प्रेमका बारेमा लेखिएका सिर्जनासँगै लेखकहरु पाठकको मनमा बसेका छन् । आज भने हामीले ती दश नेपाली कृतिहरूको बारेमा जानकारी दिँदैछौँ, जुन कृतिमा प्रेमलाई विविध कोणबाट नियालिएको छ ।

पल्लो घरको झ्याल

‘पल्लो घरको झ्याल’ लघु उपन्यास हो । गोविन्द बहादुर मल्ल ‘गोठाले’ ले वि.सं. २०१६ सालमा लेखेको यस उपन्यासमा एक नवविवाहित महिलाको यौन र मनोविज्ञानलाई समेटिएको छ । यसमा पात्र मिश्री मार्फत महिलाको चेतन र अचेतन मनको द्वन्द्व, उनले चाहेको स्वतन्त्र प्रेम र जीवनलाई चित्रण गरिएको छ ।

सुम्निमा

विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित यो उपन्यासमा सुम्निमा र सोमदत्तको प्रेम देखाइएको छ । यो उपन्यासका माध्यमबाट विश्वेश्वर प्रसाद कोइरालाले तत्कालीन नेपाली समाजको चित्रण गरेका छन् । उपन्यासमा दुई जातिबीचको सांस्कृतिक द्वन्द्वलाई समेत प्रस्तुत गरिएको छ ।

शिरीषको फूल

पारिजातद्वारा रचना गरिएको यो उपन्यास नेपाली उपन्यासमध्ये एक उत्कृष्ट उपन्यासको सूचीमा पर्छ । यो उपन्यास अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश छ ।

यो उपन्यासमा प्रेमका माध्यमबाट समाजका विविध आयाम प्रस्तुत गरिएको छ । साथै यो उपन्यासमार्फत उपन्यासकारले विसङ्गतिवाद र अस्तित्ववादलाई प्रभावकारी रुपमा प्रस्तुत गरेकी छिन् ।

तीन घुम्ती

विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित यो उपन्यासमा एक नारीका तीन रुपलाई प्रस्तुत गरिएको छ । यौन मनोविज्ञान र प्रेमको वरिपरि घुमेको यो उपन्यासमा मनोवैज्ञानिक पक्षलाई प्रस्तुत गरिएको छ ।

 गुलाबी उमेर

अमर न्यौपानेको चौथो उपन्यास ‘गुलाबी उमेर’ मा १३ देखि १९ वर्षका युवायुवतीले गर्ने प्रेम, उनीहरूको अनुभव, शारीरिक र मानसिक उमेरलाई प्रस्तुत गरिएको छ ।

समर लभ

युवापुस्तामाझ लोकप्रिय लेखक सविन भट्टराईद्वारा लिखित समर लभ प्रेमका विषयमा लेखिएको चर्चित उपन्यास हो । उपन्यासमै आधारित रही सोही नामको फिल्म समेत निर्माण गरिएको छ । यसमा पछिल्लो युवापुस्ताको प्रेम, रोमान्स र वियोगान्त कथा समेटिएको छ ।   

एक सर्को माया

यो उपन्यास जियस पौडेलद्वारा लिखित उन्यास हो । उपन्यासले मायावी संसारको यात्रा गराउँछ । प्रेमको संसार त्यसैभित्र चल्ने मानसिक संघर्षका आयामहरु उपन्यासभित्र समेटिएका छन् । मानिसको जीवनमा चल्ने अवचेतन दुनियाँको भ्रम र यथार्थबीच बनेका पात्रहरु उपन्यासभित्र भेटिन्छन् ।

पर्पला

मिलन सङ्ग्रौँलाद्वारा लिखित उपन्यास पर्पला प्रेमलाई मुख्य विषयवस्तु बनाइएको उपन्यास हो । यो उपन्यासमा युवापुस्तामा देखिने प्रेम, मिलन र विछोडलाई उपन्यासमा पर्पला, बबिन र दिव्य पात्रका माध्यमबाट युवापुस्तामा हुने प्रेम भावलाई प्रस्तुत गरिएको छ ।

 साया

लेखक सुविन भट्टराईको ‘समर लभ’ निकै लोकप्रिय भएपछि यसको दोस्रो भाग हो साया । यो उपन्यास युवापुस्तामाझ निकै लोकप्रिय छ ।

फेब्रुअरी १४

निमेष पौडलद्वारा रचित उपन्यास ‘फेब्रुअरी १४’ मा युवापुस्ताको समय, समाज र परिस्थिति अनुकुलको प्रेम चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?