काठमाडौं – शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सोसल–ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ ।
पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार भोली काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र अन्य सहरमा गरी ३६ शो उपलब्ध गराएको छ ।
आईएनआईले १२, बिग मुभिजले ६, वान सिनेमाजले नौ शो दिएका छन् । रञ्जना, सीके, बीएसआर, सीडीसी र क्युज हलले पनि सोही अनुपातमा शो विभाजन गरेका छन् । दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुवै देशमा फिल्मको ४०० शो तय भएको जनाइएको छ ।
अमेरिकाका २३ हलमा १९७ शो पक्का भएको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले जनाएको छ । टेक्सस, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागोलगायत नेपालीको संख्या उल्लेख्य रहेका सहरमा फिल्म रिलिज हुने जनाइएको छ ।
रामबाबु गुरुङको बाँसुरी र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया