मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

यी नेपाली ‘लभ स्टोरी’ फिल्म, जसले तपाईँलाई प्रेम गर्न सिकाउँछन्

काठमाडौँ– नेपालमा प्रेम कथामा आधारित कैयन् फिल्म निर्माण गरिएका छन् । तीमध्ये केही फिल्मले दर्शकको अपार माया पाएका छन् भने केही फिल्म उत्कृष्ट हुँदाहुँदै पनि दर्शकसम्म पुग्न सकेका छैनन् ।

त्यसो त नेपालमा प्रायजसो खिचडी शैलीका फिल्म निर्माण गरिन्छ । फिल्ममा प्रेम मात्र हुँदैन, व्यावसायिक बनाउनका लागि कथानक नै मसालेदार बनाइएको हुन्छ ।

भ्यालेन्टटाइन विक स्पेशलमा आज हामी तपाईंलाई दश फिल्मका बारेमा जानकारी दिन गइरहेका छौँ । जुन फिल्ममा प्रेमलाई प्राथमिकता दिइएको छ ।

सानो संसार
सन् २००८ मा प्रदर्शनमा आएको यो फिल्म प्रेमिल जोडीका लागि मन पर्ने फिल्म हो । नेपालमा इन्टरनेटको लोकप्रियता बढ्दै गएको समयमा कसरी इन्टरनेटको माध्यमबाट प्रेम बसेको एक जोडीको कथानकलाई फिल्ममा देखाइएको छ ।

आलोक नेम्बाङले निर्देशन गरेको यो फिल्ममा इन्ट्रोभर्ट (अन्तर्मुखी) स्वभावको एक जोडी रवि र ऋतुको प्रेमकथा प्रस्तुत गरिएको छ । फिल्ममा रविको भूमिका कर्मा शाक्यले निर्वाह गरेका छन् भने ऋतुको भूमिका नम्रता श्रेष्ठले निर्वाह गरकी छिन् ।

उक्त फिल्ममा समावेश ‘मायामा यस्तै हुन्छ’ बोलको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

मेरो एउटा साथी छ
आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रहेको यो फिल्म नेपाली उत्कृष्ट फिल्ममध्ये एक हो । कोरियन फिल्म ‘अ मिलिनियर फस्ट लभ’ बाट प्रभावित यो फिल्म सन् २००९ मा प्रदर्शनमा आएको हो ।

फिल्ममा जय शमशेर जबरा (आर्यन सिग्देल) र शिखा (नम्रता श्रेष्ठ) को प्रेमकथा देखाइएको छ ।

बाल्यकालको साथी जय र शिखाको प्रेमलाई निकै सरल र सुन्दर तरिकाले प्रस्तुत गरिएको ‘मेरो एउटा साथी छ’ का निर्देशक सुदर्शन थापा हुन् ।

समर लभ
सन् २०१९ मा प्रदर्शनमा आएको यो फिल्म उपन्यासकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । मुस्कान ढकालले निर्देशन गरेको उक्त फिल्मले उपन्यासको कथालाई पर्दामा उतार्न नसकेको आरोप खेपे पनि चर्चा कमाएको थियो ।

आशिष पिया र रेवती क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्ममा साया र अतितको प्रेम जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

इन्टु मिन्टु लण्डनमा

रेनाशा बान्तवा राईको निर्देशनमा तयार भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । दुई अन्जान युवा युवती प्रेममा परेपछि उनीहरुको जीवनमा प्रेमले ल्याएको खुशी र विछोडले पारेको प्रभावलाई फिल्मको कथानक बनाइएको छ ।

नाइँ नभन्नू ल
विकासराज आचार्यले निर्देशन गरेको फिल्म ‘नाइँ नभन्नू ल’ सन् २०१० मा प्रदर्शनमा आएको थियो । यो फिल्ममा जीवन लुइँटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्ममा जीवन लुइँटेलले शिशिरको भूमिका निर्वाह गरेका छन् भने ऋचा सिंह ठकुरीले ऋतुको भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्मले प्रदर्शनपछि निकै लोकप्रियता कमाएको थियो । त्यसपछि निर्देशक आचार्यले यसका अन्य सिरिज पनि निर्देशन गरे ।

रोमियो एण्ड मुना
नरेश कुमार केसीको निर्देशनमा तयार भएको यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा वेद (विनय श्रेष्ठ) र मुना (सृष्टि श्रेष्ठ) को कथालाई कुशल ढंगमा प्रस्तुत गरिएको छ । यसका अलावा फिल्ममा सुरक्षा पन्त, सुष्मा कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

वेद र मुना एक कार्यक्रमको सिलसिलामा भेट्छन् । उक्त भेटपछि उनीहरुको जीवनमा प्रेमले ल्याएको परिवर्तन फिल्ममा देखाइएको छ ।

ए मेरो हजुर २
सन् २००४ मा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर’ ले त्यतिबेला निकै राम्रो सफलता हासिल गरेको थियो । उक्त फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना थापाको जोडी देखाइएको थियो ।

त्यसैको सफलताको क्रेडिट लिएर झरना थापाले आफै निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २ ’विशुद्ध प्रेमकथामा आधारित फिल्म हो । यो फिल्ममा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । फिल्ममा सलिन र साम्राज्ञीले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन् ।

द ब्रेक अप
आशिरमान देशराज जोशी, शिल्पा मास्के र रेमनदास श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘द ब्रेक अप’ एक यात्राका क्रममा भेटिएको एक जोडीको कथा हो । सन् २०१९ मा प्रदर्शनमा आएको यो फिल्मले दर्शकको औसत प्रतिक्रिया पाएको थियो ।


फिल्ममा आविष्कार (आशिरमान देशराज जोशी) र सारा (शिल्पा मास्के) को प्रेमकथा देखाइएको छ । शुरुमा साथी बनेका उनीहरु कसरी प्रेममा पर्छन् भन्ने कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

लभ लभ लभ
सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘लभ लभ लभ’ मा एउटा मीठो प्रेमकथा छ । आफूले मन पराएको युवती पाउन युवकले गर्ने अनेक प्रयासलाई फिल्मको कथानक बनाइएको यो फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्काले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

मञ्जरी
गणेश देव पाण्डेले निर्देशन गरेको यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको थियो । फिल्ममा ईश्वर (गौरव पहारी) र मञ्जरी (सुजाता कोइराला) को प्रेमकथालाई देखाइएको छ ।

पारिवारिक विचलनका बीच पनि ईश्वर र मञ्जरीले आफ्नो प्रेमलाई कसरी अगाडि बढाउँछन् भन्ने कथा फिल्ममा देखाइएको छ । वर्गीय विभेदले प्रेममा पार्ने प्रभावलाई मुख्य कथा बनाइएको छ ।

र, अन्त्यमा तपाईँका लागि अर्को एउटा बोनस फिल्म,

कुसुमे रुमाल
सन् १९८५ मा प्रदर्शनमा आएको फिल्म ‘कुसुमे रुमाल’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । तुलसी घिमिरेको निर्देशनमा तयार भएको उक्त फिल्ममा भुवन केसी, तृप्ति नाडकर, उदित नारायण झा र नीर शाहको शीर्ष भूमिका छ ।

त्यो समयमा ‘कुसुमे रुमाल’ यति लोकप्रिय भएको थियो कि, फिल्ममा समावेश गीत ‘कुसुमे रुमाल’ अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अमर (उदित नारायण झा), सुनिति (तृप्ति नाडकर) र अर्जुन (भुवन केसी) को प्रेमकथा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?