मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

धनकुटा – धनकुटामा एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री भएको छ । जिल्लाको धनकुटा नगरपालिका–२ सिप्तिङको एउटै गाउँबाट एक करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री भएको हो । स्थानीय जितेन्द्र राईले सबैभन्दा बढी १५ लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेका छन् । उनको बगैंचामा अझै ३० लाख बराबरको सुन्तला बेच्न बाँकी छ ।

सोही गाउँका रामकुमार राईले पनि पाँच लाख बढीको बिक्री गरिसकेका छन् । यस्तै, भक्तबहादुर कार्की, राधा राई, गोकुल मिश्र, हेमबहादुर कार्की, पर्वत राई, रेशकुमार राईलगायतका कृषकले एक करोड बढीको सुन्तला बेचेको हुन् ।

गाउँमा सबैभन्दा बढी जितेन्द्रको ४२ रोपनीमा रहेको सुन्तला बगैंचामा एक हजार बढी बोटमा सुन्तला उत्पादन भइरहेको छ । ‘पोहोर २० लाखको बेचेको यसपाली त दोब्बर भन्दा बढी हुन्छ नै,’ उनले भने ।

सहिदभूमि गाउँपालिका–४ खोकुका मित्रबहादुर राईले यसवर्ष सुन्तला बिक्री गरेर १० लाख आम्दानी गरे । अढाइ सय बोट रहेको बगैंचामा गतवर्ष भन्दा बढी उत्पादन भएको छ । उनको बगैंचामा अझै सुन्तला बिक्री हुन बाँकी छ ।

जिल्लामा यसवर्ष २० करोड ६८ लाख ५० हजार बराबरको सुन्तलाको उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक अधिकृत रत्नबहादुर ठाडा मगरले बताए । गत वर्ष भन्दा ५ दशमलव ६० प्रतिशतले उत्पादन बढेको उनले बताए ।

केही वर्षदेखि ओरालो लाग्दै गएको सुन्तलाको उत्पादन बृद्धि भएसँगै कृषक उत्साहित बनेका छन् । चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा व्यवसायिकरुपमा स्तरीय बगैंचा विस्तार भएसँगै त्यहाँका कृषकले सुन्तला उत्पादनमा उल्लेख्य रुपमा फड्को मारेका छन् । मौनाबुधुक क्षेत्रका कृषकले एउटै गाउँबाट दुई करोड बढीको सुन्तला बिक्री गर्दै आएका छन् ।

मौनाबुधुकका कृषक सुरेन्द्र चेम्जोङ्ले ३० रोपनीमा रहेको बगैंचाबाट गतवर्षर् २० लाखको सुन्तला बिक्री गरेको र यसपाली आम्दानी बढ्ने अनुमान गरेको बताए । सोही गाउँका ललित लिम्बुले पनि १५ लाख हात पारेका छन् । उक्त गाउँमा १० लाख बढीको सुन्तला बिक्री गर्ने कृषक एक दर्जन बढी रहेको स्थानीय कृष्णगोविन्द चेम्जोङ बताउँछन् ।

‘गाउँभरि रहर लाग्दा बगैंचा बनाएका छन्,’ उनले भने, ‘पछिल्लो समय व्यवसायिक सुन्तला खेतीबाट जिविकोपार्जन हुने आशा पलाएको छ ।’ स्थानीयले एक दशकदेखि सुन्तला मुख्य आम्दानीको स्रोत बनाउन थालेको चेम्जोङले बताए । यहाँ उत्पादन भएका सुन्तलाको बजार धरान, इटहरी, विराटनगरलगायत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?