मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोनाम ल्होछार नजिकिँदै गर्दा कलाकारलाई भ्याइनभ्याइ, कार्यक्रमका लागि ६ महिनाअघि नै हुन्छ बुकिङ

काठमाडौँ– तामाङ समुदायको राष्ट्रिय पर्वका रुपमा लिइने सोनाम ल्होछार नजिँदै गर्दा अहिले कलाकारहरूलाई स्टेज कार्यक्रमहरूमा भ्याइनभ्याइ छ ।

देश तथा देश बाहिरका सांस्कृतिक कार्यक्रमहरूमा अहिले कलाकारहरू सहभागी भइरहेका छन् । ल्होछारका अवसरमा विशेषगरी मातृभाषी कलाकारहरू नै बढी व्यस्त देखिएका छन् ।

तामाङ समुदायले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन शुरु हुन्छ ।

यस वर्ष मञ्जुश्री संवत् अनुसार २८६० औं सोनाम ल्होछार समुदायले मनाउँदै छन् । यस वर्ष विक्रम संवत् अनुसार माघ २७ गते सोनाम ल्होछार परेको छ । समुदायले तावार (बिरालो) वर्गलाई विदाइ गरी डुक ल्हो (गडुल) वर्गलाई स्वागत गर्दै ल्होछार पर्व मनाउँदैछन् ।

ल्होछार पर्वलाई राष्ट्रियसँगै सांस्कृतिक पर्वका रुपमा लिइने भएकोले यस अवसरमा कलाकारहरूको व्यस्तता अलि बढ्ने सेलो गायक तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले बताए । पर्वकै छेकोमा अध्यक्ष काल्तान पनि निकै व्यस्त छन् ।

गायिका रमला पाख्रिन

मकवानपुर हुँदै बारा जितपुर सिमरास्थित बृहत् सांस्कृतिक कार्यक्रममा उनी सहभागी भए । देशभित्र समेत फागुनको पहिलो हप्तासम्मका कार्यक्रमहरूमा उनी व्यस्त रहनेछन् । त्यस्तै, ‘तामाङ समाज युएई’ को आयोजनामा फेब्रुअरी १० र ११ गते हुन गइरहेको ‘सोनाम ल्होछार वृहत सांगीतिक कार्यक्रममा समेत उनी सहभागी हुनेछन् ।

‘हामी संगीतकर्मीहरूका लागि यो खुसीकै कुरा हो’, काल्तानले जोय नेपालसँगको कुराकानीमा भने, ‘संस्कृति र भेषभुषालाई चिनाउने तामाङहरूको यो महान् पर्व हो । हामी कलाकारहरूलाई पनि संगीतमार्फत पर्वलाई अभियानकै रुपमा लैजाने महत्वपूर्ण अवसर पनि हो ।’

ल्होछार पर्वकै कार्यक्रम तथा उत्सवहरूमा काल्तान मात्र नभएर सेलो संगीतका सर्जकहरू पनि उतिकै व्यस्त छन् । सेलो संगीतका सर्जकहरू प्रेम लोप्चन, फूलकुमार बोम्जन, रोज मोक्तान, विश्व दोङ, साम्तेन मोक्तान, सुमिना लो, लक्ष्मी स्याङ्तान, निमा लामा पाख्रिन, आस्मान लोप्चन लगायतका कलाकारहरू कार्यक्रहरूमा नै व्यस्त देखिन्छन् ।

सांगीतिक तथा आर्थिक रुपमा बलियो हुनका लागि ल्होछार कार्यक्रमहरू कलाकारहरूका लागि निकै राम्रो अवसर रहेको सेलो गायक प्रेम लोप्चनले बताए ।

उनका अनुसार देश तथा विदेशमा समेत हुने यस्ता कार्यक्रमहरूमा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउँछन् । उनले भने, ‘यस्तो कार्यक्रमहरू अरु बेलामा पनि भएमा राम्रै हो । तर ल्होछारमा मात्र भए पनि हामी कलाकार र समुदायका लागि राहत मिल्छ ।’

समुदायकेन्द्रित मातृभाषाका गीत गाउनेहरूलाई ल्होछार जस्ता पर्वहरू अझै विशेष हुने सेलो गायिका जीतु लोप्चनले सुनाइन् । पर्वको उत्सवसँगै रमाएर आफ्नो दर्शक तथा स्रोतासँग भेट्ने महत्वपूर्ण अवसरका रुपमा उनले ल्होछारलाई लिएकी छिन् ।

उनी सेलो संगीतमा पछिल्लो समयका निकै व्यस्त कलाकार भित्र गनिन्छिन् । एक दशकभन्दा लामो सांगीतिक यात्रामा उनका तीन सय भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । ल्होछार पर्व विशेष कार्यक्रमहरूमा पनि उनी उतिकै व्यस्त छिन् ।

गायिका जीतु लोप्चन

उनका अनुसार ल्होछार समापनपछि एक/दई हप्तासम्मका उनीसँग कार्यक्रमका लागि तालिकाहरू बनिसकेका छन् ।

अन्य कलाकारजस्तै गायिका रमला पाख्रिन पनि ल्होछार विशेष कार्यक्रमहरूमा प्रस्तुतिहरू दिन व्यस्त नै छिन् । प्रस्तुतिसँगै आर्थिक पाटोमा यस अवसरमा राम्रै आम्दानी हुने उनको भनाइ छ । विश्वका विभिन्न देशहरूमा तामाङ समुदायहरू छरिएर बसेका छन् ।

तिनीहरूका आ–आफ्नै संघ–संगठन र संस्थाहरू छन् । ती संस्थाहरूमार्फत नेपालबाट कलाकारहरू बोलाएर विभिन्न पर्व विशेष कार्यक्रमहरू गरिन्छन् । ती कार्यक्रमहरूमार्फत पनि समुदाय विशेष कलाकारहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच पुर्‍याउन सहयोग मिल्ने गायिका पाख्रिन बताउँछिन् ।

कलाकारहरूले कति लिन्छन्, स्टेज कार्यक्रमको पारिश्रमिक?

समुदाय केन्द्रित महोत्सव तथा कार्यक्रमहरूमा नेपाली भाषाका कलाकारहरूलाई जस्तो पारिश्रमिक नमिल्ने गायक लोप्चनको भनाइ छ । अधिकांश ठाउँमा आयोजक पक्षले जति पारिश्रमिक दिन्छन्, त्यतिमै चित्त बुझाएर हिँड्ने गरेको उनले सुनाए ।

‘हामी आफ्नो समुदायको संस्कृतिलाई जोगाउनुपर्छ भनेर लागेका छौँ । विदेशतिर कुनै आयोजकले एक लाख रुपैयाँ पनि दिनुभएको छ । देशभित्र भने ४० देखि ५० हजार रुपैयाँसम्म पनि पाएको छु’, उनले भने ।

नेपाली भाषाका गीत गाउने कलाकारहरूको दाँजोमा यो पारिश्रमिक अत्यन्तै न्यून रहेको उनको बुझाइ छ । मातृभाषीका कलाकारहरूलाई गरिने यो प्रवृत्ति विभेद नै हो भन्ने उनलाई लाग्छ ।

गायक प्रेम लोप्चन

देशभित्र हुने कतिपय कार्यक्रमहरूमा आर्थिक सहयोग संकलनका लागि गाउने गरेको गायिका पाख्रिनको अनुभव छ । धेरैजसो गुम्बा बनाउने जस्ता कार्यक्रममा सहायताकै लागि उनले गाएकी छिन् ।

आयोजकका अनुसार १० देखि २५/३० हजार रुपैयाँसम्म पारिश्रमिक उनले पाएकी छन् । प्रस्तुतिका हिसाबले यसलाई उनी न्यून पारिश्रमिककै रुपमा लिन्छिन् । अर्की गायिका लोप्चनले भने यसलाई पारिश्रमिक भन्दा पनि आफ्नो सिर्जनालाई दर्शक/ स्रोतामाझ लैजाने माध्यमका रुपमा बुझेकी छिन् ।

अध्यक्ष काल्तानले भने ल्होछार पर्वलाई सम्पूर्ण कलाकारहरू मार्फत एउटा सांस्कृतिक अभियानका रुपमा अगाडि बढाउन आग्रह गरे । तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, भेषभुषा र पर्वलाई अगाडि बढाउन संगीत नै सशक्त माध्यम हुने उनको तर्क छ ।

‘गीत संगीत एउटा मनोरञ्जन मात्र होइन हाम्रो जागरणको अभियान पनि हो । यो जागरणले नै आज हाम्रो समुदायको पहिचान माथि उठेको छ । यो सांस्कृतिक अभियानलाई हामी कलाकारहरूले अगाडि अझै लैजानुपर्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?