काठमाडौं– जाडोयाम शुरु भएसँगै तराईका जिल्लामा एउटै समस्याले सताउने गर्दछ, त्यो हो शीतलहर । तराई भेगमा चल्ने शीत लहरका कारण हरेक वर्ष जनजीवन प्रभावित हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष भने हालसम्म शीतलहर शुरु भएको भनेर घोषणा गर्नुपर्ने अवस्था देखिएको छैन । अब चिसो मौसम सकिने देखिएकाले जनजीवन सहज हुने ठानिएको छ ।
‘अहिले नेपालको तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा केही समय हुस्सु कुहिरो लाग्ने र हट्ने गरेको अवस्था चाहिँ छ तर शीतलहर नै चलेको भनेर भन्नका लागि निश्चत मापदण्ड पूरा भएको हुनुपर्छ तर अहिले त्यस्तो अवस्था छैन,’ विभागमा कार्यरत मौसमविद् प्रतिभा मानन्धर भन्छिन् ।
मौसमविद् मानन्धरका अनुसार नेपालको तराई क्षेत्रमा सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीसम्मको समयमा शीतलहर चल्ने गर्छ । कतिपय अवस्थामा त बाक्लो हुस्सुका कारण हवाई सेवा समेत प्रभावित हुने गर्छ ।
तराईका जिल्लाहरुमा हप्तौँसम्म घाम नलागी बाक्लो हुस्सु लाग्ने गर्छ । यसले गर्दा अत्यधिक चिसो बढेर जनजीवन निकै कष्टकर हुने गर्छ ।
‘विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्ने प्रक्रिया नै शीतलहर हो,’ मौसमविद् मानन्धर भन्छिन्, ‘यो प्रक्रिया लगातार तीन दिनसम्म रह्यो भने मात्र शीतलहर भन्न मिल्छ ।’
मानन्धरका अनुसार मानवीय क्रियाकलापका कारण पछिल्लो समय पृथ्वीको वायुमण्डल प्रदुषित हुँदै गएको छ । इन्धनको अत्यधिक प्रयोग, विशाक्त धुलो धूवाँ, हरित गृहको प्रभाव आदिका कारणले पृथ्वीको सतह चिसो हुन थालेको छ । यसैका कारण शीतलहर चल्ने वातावरणको निर्माण हुन्छ । यस्तै, हिउँदे वर्षा नहुनु, भौगोलिक अवस्था, हावाको बहावलगायत कारणले शीतलहर हुने गर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द घिमिरेका अनुसार शीतलहरले खासगरी महिला बालबालिका तथा वृद्धवृद्धालाई बढी सताउने गर्दछ ।
‘अत्यधिक चिसोका कारण रक्त नलीहरु खुम्चिन्छन्, जसकारण छालामा असर पर्ने सम्भावना बढी हुन्छ, तापक्रम कम हुँदा छाला चिलाउने, सुन्निने, बाथरोग लाग्ने, जिउ दुख्ने, मानसिक तनाव हुने, सामान्य वा कडा खालको रुघाखोकी लाग्ने, तथा निमोनिया हुने जस्ता स्वास्थ्य समस्या देखिन्छन्,’ डा. घिमिरे भन्छन्, ‘शीत लहरका कारण ब्लड प्रेसर, हृदयाघात तथा मस्तिष्कघातको समस्या समेत उत्पन्न हुन सक्छ ।’
शीतलहर चलेपछि वा चिसो छल्नका लागि धेरैले कोइला, दाउरा तथा भुस बाल्ने गर्छन् । यसबाट उत्पन्न हुने कार्बनडाइअक्साइड तथा कार्बन मोनोअक्साइडजस्ता ग्याँसले मानिसको स्वास्थ्यमा असर पार्ने डा. घिमिरे बताउँछन् ।
शीतलहरकै कारणले तराईका जिल्लामा भाइरल फ्लू, पखाला, खोकी तथा ज्वरोजस्ता स्वास्थ्य समस्या देखिने भएकोले सचेत रहनुपर्ने घिमिरे बताउँछन् ।
यस्तै शीतलहरले गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै कृषि, पशुपालन, यातायात, पर्यटन तथा शिक्षा लगायतका क्षेत्रमा समेत प्रतिकुल असर पार्ने गर्दछ । बिहान बाक्लो हुस्सुसँगै शीत पर्ने तथा दिनभरी कुहिरोका कारण घाम नै नलाग्ने अवस्था भएपछि सरकारी कामकाजका साथै विद्यालयहरु पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।
शीतलहरले पशुपंक्षीलाई समेत असर पार्छ भने हिउँदे बालीको उत्पादन समेत घट्ने गरेको छ । शीतलहरका कारण किसानले लगाएको आलु, तोरी तथा गोलभेँडाजस्ता बिरुवाहरुलाई असर गर्छ । यस्तै चिसो अत्यधिक बढेमा यसले अन्य बालीहरुमा समेत असर पुर्याउने गर्छ । शीतलहरका कारण घाम नलाग्दा बिरुवाले खाना पकाउने प्रक्रिया अर्थात् प्रकाश संश्लेषण गर्न पाउँदैनन् ।
यस्तै चिसो बढ्दै जाँदा तराईका जिल्लाहरुमा देखिएको शीतलहरका कारण हवाई तथा स्थल यातायात समेत प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा भिजिविलिटी कम हुँदा हवाइ सेवा अवरुद्ध हुने वा उडान तथा अवतरणमा समस्या उत्पन्न हुने गर्दछ ।
कसरी जोगिने शीत लहरबाट ?
डा. यदुचन्द घिमिरेका अनुसार चिसो याममा विशेष गरी तराईका जिल्लाहरुमा मुख्य समस्याको रुपमा देखिने शीतलहरबाट जोगिनु आवश्यक हुन्छ । शीतलहरका बेला चिसोबाट बच्न विशेष ख्याल राख्नुपर्छ ।
‘चिसोबाट जोगिन पूरै शरीर ढाक्ने न्यानो लुगा लगाउने, तातो झोलिलो पदार्थहरुको सेवन प्रशस्त मात्रामा गर्ने, आफू बस्ने कोठा न्यानो बनाइराख्नु पर्छ,’ उनी भन्छन् ।
चिसोका बेला फाइबर, भिटामिन सी का साथै अन्य पोषक पदार्थ पनि खानुपर्ने उनी बताउँछन् ।
त्यस्तै हरियो सागपात कम चिनी हालिएको गाजरको खीर, सुन्तला, भोगटे, कागतीजस्ता फलका साथै सामान्य तापमानको भोजन गर्न र प्रश्स्त मात्रामा पानी एवम् अन्य तरल पदार्थको सेवन गर्न पनि डा. घिमिरेको सुझाव छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भए चिचित्सकको सल्लाह लिनुपर्ने उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया