मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

आईपीलको बढ्दो प्रयोगले स्वास्थ्यमा असर, निम्तिन सक्छ बाँझोपनको समस्या

काठमाडौं– दोलखाकी रमिला केसी (नाम परिवर्तन) एक युवकसँग प्रेममा परिन् । बिस्तारै उनीहरूको प्रेम झाँगिदै गयो । त्यतिबेला उनी जम्मा २० वर्षकी थिइन् । प्रेमीको उमेर २५ पुगिसकेको थियो ।

प्रेम सम्बन्धमा परेका उनीहरूबीच बिहेअघि नै पटकपटक शारीरिक सम्बन्ध स्थापित भयो । शारीरिक सम्बन्धपश्चात् गर्भ नबसोस् भनेर प्रेमीले रमिलालाई आकस्मिक गर्भ निरोधक चक्की (आईपील) सेवन गर्न लगाए । उनले पनि आफ्ना प्रेमीको कुरामा विश्वास गरेर धेरैपटक आईपील सेवन गरिन् ।

आईपील चक्कीको बढी सेवनले स्वास्थ्यमा समस्या देखा पर्न थालेपछि मात्र रमिलालाई यो जथाभावी प्रयोग गर्न नहुने रहेछ भन्ने लाग्यो । महिनावारी हुँदा धेरै रगत बग्ने, महिनावारी समयमा नहुने लगायतका समस्या देखा पर्न थालेपछि बल्ल उनको होश खुल्यो ।

उनलाई प्रेमीले आकस्मिक गर्भनिरोधक चक्कीले गर्भ रहँदैन भन्ने मात्र जानकारी गराएका थिए तर यसको साइड इफेक्टबारे केही भनेका थिएनन् । त्यसैले उनले आईपील चक्की सेवन गर्न सम्झाइरहे । उनले पनि त्यसै गरिन् ।

चार वर्षपछि रमिलाले ती प्रेमीसँग बिहे गरिन् । विवाहपछि दुवैले सन्तान जन्माउने योजना बनाए । तर, गर्भ रहेन । त्यसपछि उनीहरू चिकित्सकको सल्लाह लिन पुगे ।

त्यतिबेला उनीहरूले थाहा पाए, आकस्मिक गर्भ निरोधक चक्कीको बढी सेवन गर्दा सन्तान उत्पादनमा समेत समस्या पर्दो रहेछ । अहिले विवाह भएको चार वर्षसम्म पनि गर्भ रहन सकेको छैन ।

बिहेपूर्व यो जोडीलाई गर्भ बस्छ कि भन्ने भय थियो तर अहिले गर्भ बस्दैन कि भनेर चिन्तित छन् ।

यो त एक प्रतिनिधि घटना मात्र हो ।

यस्ता घटना नेपाली समाजमा सामान्य बन्दै गइरहेको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत स्त्रीरोग डाक्टर नुतन शर्मा बताउँछिन् ।

‘अहिलेका युवतीले आईपीलको प्रयोग चकलेट जसरी प्रयोग गरिरहेका छन्, यसबारे नबुझीकन अथवा चिकित्सकको सल्लाहविना नै आईपील सेवन गर्दा समस्या निम्तिएको छ,’ डा. शर्मा भन्छिन् ।

उनका अनुसार अहिलेको पुस्तामा आईपीलको सेवन गर्ने क्रम बढ्दो छ । उनीहरूलाई आईपीलको सेवनले गर्भ रहँदैन भन्ने त थाहा छ तर पछि गर्भ नै नबस्ने सम्भावना पनि रहन्छ भन्नेबारे जानकारी छैन ।

‘आजभोलि युवायुवतीले आईपील चक्कीको बढी नै प्रयोग गरेको देखिन्छ, यसले बाँझोपनको समस्या निम्त्याउन सक्छ भन्नेमा उनीहरूले ख्याल गरेका हुँदैनन्,’ डा. शर्मा अगाडि थप्छिन्, ‘आईपील भनेको अत्यावश्यक अवस्थामा मात्र सेवन गर्ने औषधि हो, यसको सेवन धेरै गर्नाले प्रजनन स्वास्थ्यमा समस्या निम्तिन सक्छ ।’

डा. नुतन शर्माका अनुसार आकस्मिक गर्भनिरोधक चक्कीमा हर्मोनको मात्रा बढी हुन्छ । यसले महिलाको स्वास्थ्यमा हानी गरिरहेको हुन्छ । तर, अहिलेको पुस्ताले एउटा चक्की त हो नि भनेर यसको असरबारे बुझ्दै नबुझी सेवन गरिरहेका छन् ।

‘यो चक्की ६ महिनामा बढीमा दुई पटकसम्म प्रयोग गर्नुपर्छ तर युवतीहरूले यसलाई नै गर्भनिरोधक साधनको एक मात्र विकल्प बनाइरहेका छन्,’ डा. शर्मा भन्छिन् ।

मुख्यतया विवाहअघि यस्ता औषधिको सेवन गरेर सम्बन्ध बनाउने दम्पतीहरू विवाहपछि बाँझोपनको समस्या लिएर उपचारका लागि आउने गरेको डा. शर्मा बताउँछिन् ।

अनामनगरस्थित एक फार्मेसी सञ्चालक नाम नबताउने शर्तमा भन्छन्, ‘आईपील किन्न प्राय: १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित युवायुवती आउँछन्, त्यसमा बढीजसो युवाहरू आएर आईपील चक्की लैजान्छन् ।’

आईपील चक्कीको जथाभावी सेवन गर्दा महिनावारीमा गडबडी हुने, उच्च रक्तश्राप हुने, शरीर कमजोर बनाउने लगायतका समस्या देखिने गरेको डा. नुतन शर्मा बताउँछिन् ।

उनी भन्छिन्, ‘भविष्यमा यसको समस्या भोग्नुभन्दा पहिले नै आईपील चक्कीको दुरुपयोगले निम्त्याउने असरबारे सचेत गराउन आवश्यक छ ।’

थापाथलीस्थित प्रसूति गृहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी अप्रत्यासित गर्भ बसेमा मात्र आईपीलको सेवन गर्नुपर्ने बताउँछन् । उनी पनि लगातार यसको सेवन गर्नु नहुने तर्क गर्छन् ।

‘आईपीलको सेवनले बाँझोपनको समस्या हुन्छ नै भन्ने होइन तर यो चक्कीको बढी सेवन गर्दा महिनावारीमा गडबड हुने चाहिँ हो,’ उनी भन्छन् ।

उनका अनुसार आकस्मिक गर्भ निरोधक चक्की धेरै सेवन गर्दा महिलाको स्वास्थ्यमा असर पर्छ । धेरै आईपीलको सेवन गर्दा महिनावारी गडबढ हुन्छ र यसको असरले हर्मोनको कमी हुन्छ । यस्तो अवस्थामा चाहेकै समयमा गर्व नबस्ने पनि अवस्था पनि आउँछ ।

‘कतिपय अवस्थामा आईपीलको सेवन गर्दा पनि गर्भ रहने सम्भावना हुन्छ, आईपीलले ९५ प्रतिशत मात्र गर्भ रहनबाट रोक्छ, यस्तो बेलामा बच्चा बसेमा यौन रोगको जोखिम समेत हुने गर्छ,’ उनी भन्छन् ।

डा. सुवेदी आईपील प्रयोग गर्दा महिलाहरू नै बढी सतर्क हुनुपर्ने बताउँछन् । आफ्नो पुरुष पार्टनरले आईपीलको सेवन गर्न कर गरेमा पनि आफूले प्रतिवाद गर्नुपर्ने उनी बताउँछन् ।

‘आकस्मिक गर्भ निरोधक चक्कीले बढी सेवन गर्दा जोखिम पक्कै पनि हुन्छ, यसको असर र बेफाइदाका विषयमा आफू जानकार बनेर सुरक्षित र स्वस्थ विधि अपनाउनु नै उत्तम हुन्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?