मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हुम्लामा चौथो पटक हिमपात, जनजीवन कष्टकर

हुम्ला– हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथो पटक हिमपात भएको हो ।

शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासि मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।

बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इन्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इन्च बढी हिउँ जमेको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले जानकारी दिए । 

स्वास्थ्यकर्मी भण्डारीले लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए। चिसोका कारण घर बाहिर निस्कन र हिँडडुल गर्न समस्या बनाएको उहाँले जानकारी दिए। 

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथ अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए ।  

जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । यति बेलासम्म एक–दुई उडान नेपालगञ्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो ।

आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् ।

शनिबार तारा एयरले नेपालगञ्जबाट एक उडान गरेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए। अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?