मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनशैली

यति सामान्य जीवनशैलीमा रमाउँछन् फेसबुकका संस्थापक मार्क जुकरबर्ग

संसारकै धनाड्यमध्येका एक अर्बपति व्यवसायी जुकरबर्ग बर्षौसम्म लगाउँछन् एउटै टिसर्ट

काठमाडौं– विश्वकै धनाड्य व्यक्ति मार्क जुकरबर्ग प्रविधि कम्पनी मेटाका संस्थापक अध्यक्ष एवम् सीईओ हुन् ।

फेसबूक, ह्याटसएप, इन्स्टाग्राम लगायतका लोकप्रिय सामाजिक सञ्जालहरु मेटा कम्पनी अन्तर्गत पर्छन् । यी सबैको नेतृत्व गर्ने ३९ वर्षीय मार्क जुकरबर्ग अमेरिकाका उत्कृष्ट दश अर्बपतिको सूचीमा पर्छन् ।

मेटाको मूल्य ९ सय ४४ अर्ब अमेरिकी डलर अर्थात् नेपालको बजेटभन्दा ७२ गुणा बढी छ । संसारकै धनाड्यमध्ये एक मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्ति मात्र एक सय ३२ अर्ब अमेरिकी डलर छ । जुन नेपालको बजेटको तुलनामा दश गुणा बढी हो ।

जुकरबर्गले सन् २००४ मा फेसबूक सञ्चालनमा ल्याउँदा उनी २४ वर्षका थिए । कम्प्युटर साइन्सका विद्यार्थी जुकरबर्ग क्याम्पसका साथीहरुसँग च्याट तथा तस्वीरहरु शेयर गर्ने उद्देश्यले फेसबुकको स्थापना गरेका थिए ।

अहिले भने फेसबूक विश्वमै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालको शीर्ष स्थानमा पर्छ । फेसबुकमार्फत उनले सामाजिक सञ्जालको माध्यमबाट साथीहरुसँग जोडिन मात्र नभएर मानवीय जीवनशैली नै परिवर्तन गरिदिएका छन्

जुकरवर्ग संसारका प्रभावशाली र शक्तिशाली व्यक्तिहरुमध्ये एक हुन् ।

जुकरबर्गको मुख्य लगानी रहेको फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक संजालले हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गरिरहेको छ । व्यक्तिगत जीवनशैली, संस्कृति, विज्ञान प्रविधिदेखि सबै पक्षलाई सामाजिक सञ्जालहरुले प्रभाव पारेका छन् ।

आज हामीले उनको दैनिकी र जीवनशैलीबारे जानकारी दिन गइरहेका छौँ ।

बिहान ८ बजे उठ्नेबित्तिकै मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गको पहिलो काम हो– मोबाइल चलाउनु । बिहान उठेर केहीबेर मोबाइल चलाएपछि बल्ल जुकरबर्गको दिन शुरु हुन्छ ।

उनले मोबाइलमा हेर्ने भनेको आफ्नै साइटहरु फेसबुक, म्यासेन्जर र ह्वाट्सएप नै हुन् । त्यसपछि मात्रै उनले आँखामा ‘कन्ट्याक्ट लेन्स’ लगाउँछन् ।

उनले बिहान उठ्नेबित्तिकै फोन चलाउने आफ्नो बानी खराब रहेको स्वीकार समेत गरेका छन् । तर, बिहान आफूले मोबाइल चलाउँदा प्रायजसो नकारात्मक र द्वेषपूर्ण सन्देशहरु देख्दा आफूलाई खिन्न लाग्ने उनी बताउँछन् ।

‘भेट भएको बेलामात्रै मान्छेले मसँग सकारात्मक कुरा गर्छन्,’ अमेरिकन कमेन्टर तथा पोडकास्टर जो रोगनसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरा लागि त्यस किसिमको म्यासेज पढ्नु उठ्नेबित्तिकै कसैले मलाई बेस्सरी पेटमा हिर्काएजस्तो हो ।’

त्यसपछि उनी आफ्नो अन्य दैनिकीतिर लाग्छन् । उनी बिहान नियमित व्यायाम गर्छन् । पहिले धेरै नै दौडने गरे पनि पछिल्लो समय आफू दौडन छाडेको उनी सुनाउँछन् । पछिल्लो समय उनले ‘जिउजित्सु’ र मिक्स मार्शल आर्ट्स (एमएमए) को अभ्यास गर्छन् ।

उनले जिउजित्सुमा ब्लु बेल्ट (नीलो बेल्ट) पनि पाइसकेका छन् । बौद्धिक रुपमा पनि दौडभन्दा एमएमए नै आफ्ना लागि फाइदाजनक रहेको उनी बताउँछन् ।

‘म पहिले धेरै नै दौडिन्थेँ, तर दौडमा समस्या के हुन्छ भने त्यो बेलामा तपाईँले धेरै नै सोच्नुहुन्छ,’ उनी भन्छन्, ‘तर एमएमए मेरा लागि राम्रो विकल्प हो, एक सेकेण्ड ध्यान हट्यो भने तपाईँ तल पर्नुहुन्छ ।’

गत जुन महिनामा लेक्स फ्रिडम्यानसँग उनले आफूले साताको तीनदेखि चार वटा जिउजित्सु र एमएमएको अभ्यासमा भाग लिने गरेको सुनाएका थिए ।

उनी बिहान ब्रेकफास्टमा पिनट बटर र टोस्ट लिन मन पराउँछन् । यस ब्रेकफाष्टलाई फाइबर, प्रोटिन र चिल्लो पदार्थको राम्रो स्रोत मानिन्छ । हालै उनले शारीरिक अभ्यासका क्रममा आफूले दैनिक ४ हजार क्यालोरीको खानेकुरा खाने लक्ष्य लिएको बताएका थिए ।

गत जुलाई महिनामा उनी आफैँले स्थापना गरेको अर्को सामाजिक सञ्जाल थ्रेड्समा फास्टफुड चेन म्याकडोनल्ड्सलाई भनेका थिए, ‘मलाई एक क्वार्टर पाउण्डर, ठूलो फ्राइज, ओरियो मकफ्लरी, एप्पल पाइ र पछिका लागि केही चिजबर्गर चाहियो ।’

खानेकुरा त आफ्नो ठाउँमा छ, काम पनि उनी असाध्यै धेरै गर्छन् । उनले हरेक साता ५० देखि ६० घण्टासम्म आफू काममै व्यस्त हुने गरेको सुनाएका थिए । काममा नभएका बेला पनि मार्कको ध्यान फेसबुकतिर नै हुन्छ ।

‘संसारलाई कसरी जोड्ने र हाम्रो समुदायलाई कसरी सेवा गर्नेबारे सोचेरै मेरो अधिकांश समय खर्च हुन्छ ।’ उनले सीएनएनसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘तर त्यसरी सोच्ने धेरैजसो समय म मेरो अफिसमा वा मिटिङमा नहुन सक्छु ।’

‘म आफैँ सोच्न र पढ्न धेरै समय दिन्छु । यदि मैले कार्यालयलाई दिने समयको कुरा गर्नुहुन्छ भने त्यो हरेक साता ५० देखि ६० घण्टा होला ।’ उनले भनेका छन्, ‘तर हाम्रो मिसनमा मैले ध्यान दिने सबै समयको हिसाब गर्नुहुन्छ भने त्यो त मेरो पूरा जीवन नै हो ।’

सन् १९८४ मा न्यूयोर्कको ह्वाइट प्लेन्समा जन्मेका जुकरबर्गले १२ वर्षकै कलिलो उमेरमा ‘जुकनेट’ नामक कम्युटर प्रोग्राम बनाइसकेका थिए । उनी सन् २००२ मा फिलिप्स एक्जिटर कलेजबाट पढाइ सकेर हाडवर्ड विश्वविद्यालयमा भर्ना भएका थिए ।

पछि सन् २००४ मा हाडवर्ड विश्वविद्यालयमा पढ्दै गर्दा उनले इन्टरनेटमा आफ्नै प्रोफाइल बनाउन मिल्ने, अरु साथिहरुसँग पनि सन्देश आदान प्रदान गर्न सकिने र तस्बिरहरु अपलोड गर्ने अर्को प्रोग्राम बनाए त्यही प्रोग्राम पछि गएर फेसबुक बन्यो, जुन अहिले विश्वका तीन अर्ब मानिसहरुले प्रयोग गर्छन् ।

जुकरबर्ग आफ्नै अफिसमा नै मान्छेहरु भेट्न रुचाउँछन् ।

‘मलाई नियमअनुसार चलौँ भन्ने लाग्छ, हरेक मिटिङमा सहभागी हुनु एक घण्टाअघि मसँग मिटिङ गर्ने टिमले मलाई लिखित जानकारी दिनुपर्छ,’ उनले फोब्र्सलाई भनेका छन्, ‘मिटिङ गर्ने टिमले दिएको कागजपत्र पढ्न र त्यसबारे थप बुझ्न म एक घण्टा लगाउँछु, मिटिङमा भएका छलफल र कुराकानीबारे सोच्न म त्यसपछिको अर्को एक घण्टा खर्चिन्छु ।’

तर, काम मात्रै जुकरबर्गको जीवन होइन । कामबाहेक पनि जुकरबर्ग प्रशस्त समय सिकाइमा पनि खर्चिन्छन् । रुचिकै रुपमा उनले चिनियाँ भाषा पनि सिकेका छन् । त्यसबाहेक उनी पुस्तकहरु पनि प्रशस्तै पढ्छन् । कहिलेकाहीँ विदा लिएर समुद्रको किनारमा सर्फिङ गर्न पनि जान्छन् ।

विदेशी नेताहरुसँगको भेटघाट र अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमा भाग लिनुपर्‍यो भने उनी विदेश भ्रमणमा निस्किन्छन् । उनी बारम्बार विदेश भ्रमणमा गइरहेका हुन्छन् । यस्तो बेला जुकरबर्गको दैनिकी पनि फेरिन्छ ।

जुकरबर्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रों, पोप फ्रान्सिस, चिनियाँ राष्ट्रपति सी जिन्पिङजस्ता विश्वका शक्तिशाली नेताहरुसँग भेट गरिसकेका छन् ।

मार्क जुकरबर्ग जहिल्यै पनि एउटै पहिरनमा देखिन्छन् । हरेक सार्वजनिक कार्यक्रममा उनले एकै किसिमको जिन्स र खैरो टिसर्ट लगाएका हुन्छन् । उनी चर्चामा आउने कारण पनि यही नै हो । यस्ता सामान्य निर्णयमा आफ्नो दिमागी शक्तिको खपत घटाउन आफूले यस्तो गर्ने गरेको जुकरबर्ग बताउँछन् ।

सन् २०१४ मा एउटा सार्वजनिक कार्यक्रममा उनलाई कसैले पहिरनबारे सोधेको प्रश्नमा उनको जवाफ थियो, ‘यो समुदायलाई सकारात्मक रुपमा कसरी सेवा गर्नेबाहेक अरु सामान्य निर्णयहरु कमभन्दा कम गर्नु परोस् भन्ने मेरो चाहना हो ।’

जुकरबर्गको परिवार सानो तर सुखी छ । उनले सन् २००३ देखि प्रिस्किला चानसँग डेटिङ गरेका थिए । त्यसपछि उनीहरुले सन् २०१२ आफ्नो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे । अहिले जुकरबर्ग–चान दम्पतीका तीन छोरी छन् । उनका तीन छोरीहरु म्याक्सिमा, अगस्ट र औरेलिया हुन् ।

जुकरबर्गले आफ्नो परिवारलाई प्रशस्तै समय दिन्छन् । सन् २०१५ मा प्रिस्किलाले म्याक्सिमालाई जन्म दिने बेला मार्कले आफ्नो कार्यालयबाट ‘सुत्केरी विदा’ लिएका थिए । जुबरबर्गले बेलुकाको अधिकांश समय आफ्नो परिवारलाई नै दिएका हुन्छन् ।

अहिले जुकरबर्गको परिवार हावाई राज्यमा बसोबास गरिरहेको छ । जुकरबर्गले हवाईमा १४ सय एकड क्षेत्रफलमा फैलिएको आलिशान घर छ ।

त्यहाँ उनीहरुले गाईपालन थालेका छन् । केही दिनअघि इन्स्टाग्राममा पोस्ट गर्दै जुकरबर्गले राम्रो मासु पाउनका लागि गाईलाई बियर र ‘म्याकाडामिया’ ओखर खुवाएर हुर्काउने गरेको उल्लेख गरेका थिए । इन्स्टाग्राममा गाईलाई बियर र ओखर खुवाएर हुर्काएको लेखेपछि जुकरबर्गको आलोचना समेत गरिएको थियो ।

जुकरबर्ग दान र परोपकार क्षेत्रमा पनि सक्रिय छन् । उनले सन् २०१५ मा ‘चान जुकरबर्ग इनिसिएटिभ’ नामको संस्थाको स्थापना गरेका थिए । उनले हालसम्म दशौं करोड अमेरिकी डलर बराबरको सम्पत्ति दान र परोपकारमा खर्चेका छन् ।

उनले अफ्रिका, ल्याटिन अमेरिका र एशियाका गरीब मुलुकका विभिन्न परियोजनामा पनि उत्तिकै मात्रामा आफ्नो सम्पत्ति खर्चिसकेका छन् । सन् २०१५ मा जुकरबर्गले आफ्नो कम्पनीको ९९ प्रतिशत शेयर बाँड्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?