मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म बहस

‘एनिमल’ जस्ता हिंस्रक फिल्मले घटाउँदै छ नेपाली फिल्मको क्रेज

काठमाडौं– केही समयअघि प्रदर्शनमा आएको हिन्दी भाषाको फिल्म ‘एनिमल’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पायो । ट्रेलर रिलिज लगत्तै उक्त फिल्मले रिलिजअघि नै छुट्टै क्रेज बनाइसकेको थियो ।

फिल्मले बलिउडमा मात्र नभएर नेपालमा पनि करोडौँको व्यापार गर्‍यो । फिल्म हेर्न हलमा दर्शक ओइरिए । भारतका सिनेमा हलमा पनि यो फिल्मले कैयन् रेकर्ड राख्यो । यो फिल्म बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा उत्कृष्ट पाँचमा पर्छ ।

फिल्म ‘ब्लकबस्टर’ भएपछि यसका सकारात्मक र नकारात्मक पक्ष केलाउँदै थुप्रै बहसहरु भए । यसअघि ‘कबीर सिंह’ निर्देशन गरेका निर्देशक सन्दीप रेड्डी भाँगाले ‘एनिमल’ निर्देशन गरेका थिए ।

भनिन्छ, फिल्म समाजको ऐना हो ।

तर, फिल्ममा देखाइएका डरलाग्दा दृश्यहरु भने नेपाली समाजमा सहजै पाच्य हुने खालका थिएनन् । तर, युवापुस्तामा यो फिल्मले निकै ठूलो क्रेज सिर्जना गर्‍यो ।

त्यसपछि प्रदर्शनमा आएको प्रशान्त नील निर्देशित फिल्म ‘सलार’ ले पनि आक्रामक व्यापार गर्‍यो । यो फिल्ममा पनि काटमारबाहेक त्यस्तो खासै केही छैन । बरु ‘सलार’ सँगसँगै प्रदर्शन भएको अर्को हिन्दी फिल्म ‘डंकी’ ले एउटा सामाजिक कथा बोकेको थियो ।

हुन त राजकुमार हिरानीद्वारा निर्देशित फिल्म ‘डंकी’ ले पनि व्यापार राम्रै गरेको हो । समीक्षा पनि राम्रै पाएको हो । तर, सलारको तुलनामा यसको कमाइ र क्रेज दुवै कम देखियो ।

फिल्ममा भारतीय नागरिक विश्वका प्रभावशाली देशमा जान कति मेहनत गर्छन् र बाध्यतावश् चोर बाटोबाट कसरी बेलायत पुग्न आफ्नो ज्यान नै जोखिममा पार्छन् भन्ने कथा उठान गरिएको छ ।

फिल्ममा राजकुमार हिरानीले भारतीय समाजको यथार्थ चित्रण देखाउन खोजे पनि नेपाली समाजको कथा पनि उस्तै छ । नेपाली समाजमा पनि यस्ता घटनाहरु दैनिक घटिरहेका छन् ।

यता दर्शकले सामाजिक कथामा निर्माण भएका यस्ता फिल्महरु त्यति हेर्दैनन् । बरु नकारात्मक सन्देश भएका फिल्म हेर्नमा खुबै रुचि देखाउँछन् । पछिल्लो समय प्रदर्शनमा आएका यस्तै ‘आक्रामक’ फिल्महरु एकपछि अर्को गर्दै हिट भइरहेका छन् ।

त्यसो त फिल्म उद्योगमा विश्वभर बढी कमाइ गर्ने जनरा नै एक्सन र क्राइम हो ।

यसअघि प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ मा पनि शीर्ष पात्रलाई नकारात्मक रुपमै देखाइएको थियो । उक्त फिल्म पनि ‘ब्लकबस्टर’ भयो । फिल्मको सिक्वेलका लागि दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् ।

‘पुष्पा २’ पनि सुपरहिट हुने पक्का छ । किनकि, दर्शकले अहिले यस्तै खालका फिल्म हेर्न चाहेका छन् ।

त्यसो त विधु विनोद चोपराले निर्देशन गरेको फिल्म ‘टुभेल्थ फेल’ ले ओटीटी प्लेटफर्ममा रिलिज भएपछि खुबै चर्चा कमायो ।

भारतका आईपीएस अफिसर मनोज कुमार शर्माको जीवनमा आधारित भनिएको यो फिल्मले एकाएक चर्चा कमायो ।

यस्ता एकाध फिल्मबाहेक अरु फिल्मले दर्शकको ध्यान आफूतर्फ खिच्न सकिरहेका छैनन् । तर, नकारात्मक सन्देश दिने प्रायः फिल्म भने थिएटरमा ‘ब्लकबस्टर’ को ट्याग पाउँदै पैसा छापिरहेका छन् ।

एकातिर यस्ता फिल्मले ठूलो हाइप बनाउँदा नेपाली फिल्महरु ‘चटनी’ बनिरहेका छन् ।

निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘फिल्म हेर्ने दर्शकको रुचिमा परिवर्तन आएको छ, हामीलाई पनि यस्तै फिल्मबाट गाह्रो हो, अरु फिल्मले खासै प्रभाव पारेका छैनन् ।’

सामाजिक रुपमा खलल पुर्‍याउन ‘एनिमल’ तथा ‘सलार’ जस्ता हिंसात्मक फिल्म आखिर किन यति धेरै रुचाइएका छन् त?

मनोविदहरुका अनुसार युवापुस्तामा जोश हुन्छ, उनीहरुलाई छिट्टै रिस उठ्छ र उनीहरु आक्रोशित पनि हुन्छन् ।

‘एनिमल’ जस्ता फिल्म प्रदर्शन हुँदा उनीहरुलाई त्यस्ता फिल्म आफ्नै लागि बनेको महसुस हुन्छ । फिल्म त सुपरहिट हुन्छन् तर यस्ता फिल्मले युवापुस्तामा मनोवैज्ञानिक प्रभाव पार्छ ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘यस्ता फिल्महरु रुचाइनु वास्तवमै राम्रो होइन, ती फिल्मले युवापुस्तालाई झनै प्रभावित पार्न सक्छ, उनीहरुलाई फिल्ममा देखाइएजस्तै हिंस्रक बन्नुपर्ने रहेछ भन्ने हुन्छ ।’

उनका अनुसार दर्शकले आफ्नै कथा भनेको महसुस गरेकाले यस्ता फिल्महरु बढी हिट भएका हुन् । यसमा राष्ट्रिय स्तरमा भइरहेका राजनैतिक, सामाजिक र आर्थिक समस्याले पनि धेरथोर भूमिका निभाउँछ ।

‘एनिमलजस्ता हिंसात्मक फिल्मले झनै आक्रोशित हुन उक्साउँछ, यस्ता फिल्म बन्नु राम्रो होइन,’ मनोविद् ढकाल भन्छन् ।

नेपालमा युवापुस्ता सामाजिक, आर्थिक र राजनैतिक कारणले रुष्ट छन् । उनीहरुलाई आफू अनुकुलको समाज नभएजस्तो लाग्दा यस्ता आक्रामक फिल्म प्रदर्शनमा आउँदा आफ्नो कुरा कम्तिमा फिल्मले बोलिदिएको छ जस्तो लाग्छ ।

राजनीतिमा पनि युवापुस्ताले यस्तै ‘नायक’ को खोजी गरिनुको पछाडि यस्तै सामाजिक प्रवृत्तिहरुले महत्त्वपूर्ण भूमिका खेलेको कतिपयको बुझाइ छ ।

अझ अहिलेका युवापुस्ता त बरु मोबाइलमा भिडियो गेम खेल्न रुचाउँछन् तर समाजमा घुलमिल भएर सामाजिक बन्न रुचाउँदैनन् । यसको प्रभाव फिल्ममा हेर्नेमा मात्र नपरेको मनोविद् ढकाल बताउँछन् ।

‘कतिपयमा त नियम कानून उल्लंघन गर्दा पनि रमाइलो लाग्ने स्वभावको विकास भइरहेको हुन्छ, त्यसैले उनीहरुको रोजाइ ‘एनिमल’ जस्ता फिल्म हुन्छ,’ उनी भन्छन् ।

केही समययता भने सामाजिक सञ्जालमा फिल्म ‘टुभेल्थ फेल’ को पनि चर्चा भइरहेको छ । दर्शकले यस्ता फिल्मलाई खासै महत्त्व नदिए पनि यो फिल्मले भने अत्यधिक चर्चा कमाएको थियो ।

निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘यस्ता फिल्महरु निर्माण हुन र चल्न जरुरी छ, तर दर्शकलाई ‘एनिमल’ र ‘सलार’ जस्ता फिल्महरु मन पर्न थालेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?