मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्पादकीय: जोय नेपालको नयाँ यात्रा

सूचना र प्रविधिको विकासले पत्रकारिताको परम्परागत परिधिलाई भत्काइदिएको छ । समाचार जानकारी र सूचनामुलक सामग्रीमा मात्रै सीमित भएको छैन । पाठकका रुपमा नयाँ पुस्ताको उदयले पत्रकारिताको परिभाषालाई पनि व्यापक बनाएको छ । र, पत्रकारिताको परम्परागत अभ्यास ‘फाइभ डब्ल्यू वान एच’ को सूत्रमा आधारित थियो भने अबको आवश्यकता ‘सिक्स डब्ल्यू’ बन्न पुगेको छ । थपिएको एउटा डब्ल्यू हो, वाह !

सत्य, तथ्य र उत्तरदायी पत्रकारिताको मुल मर्मलाई आत्मसात् गर्दै समाचार सामग्रीहरुलाई पाठकको बहुआयामिक रुचिलाई सम्बोधन गर्ने गरी पत्रकारिताको अभ्यासका लागि जोय नेपाल डटकमका रुपमा तपाईंहरु माझ आएका छौँ । निश्चय नै अहिलेको नेपाली पत्रकारिता अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ । यस्तो अवस्था विश्वव्यापी रुपमा पनि देख्न सकिन्छ । हरेक सम्भावनाले नयाँ सिर्जनाको ढोका खोल्छ भनेजस्तै आम सञ्चारको क्षेत्रमा अहिले देखिएको चुनौतीलाई अवसरका रुपमा उपयोग गर्ने प्रणका साथ हामीले नयाँ अभ्यासको थालनी गरेका छौँ । र, यो अभ्यास पत्रकारिताको सीमित परिधिलाई व्यापक बनाउन कोसेढुंगा साबित हुने हाम्रो विश्वास छ ।

परम्परागत सूत्रमा सीमित रहेर पत्रकारिता क्षेत्रले पाठकको बहुआयायिक रुचिलाई सम्बोधन गर्न नसकेको यथार्थलाई बुझेर समाचार सामग्री प्रस्तुत गर्ने हाम्रो प्रयास रहनेछ । अबको पत्रकारिता आम पाठकको जीवनशैलीको एक अभिन्न अंग बन्नुपर्ने अपरिहार्य भइसकेको छ । जसका लागि समाचारयोग्य विषयको छनोटलाई पनि व्यापक बनाउन जरुरी छ । अबको पत्रकारितामा स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा सूचना र प्रविधि छुट्नै नहुने विषय बनेका छन् ।

डिजिटल पत्रकारिताको बढ्दो व्यापकताका बीच यसको प्रभावकारिताको विषय झन् टड्कारो प्रश्न बनेर देखा पर्न थालेको छ । राज्यको चौथो अंगका रुपमा लिइने पत्रकारिता अब एउटा सामान्य व्यक्तिका लागि अभिन्न अंग बन्नुपर्छ, र यस्तो हुन सके मात्र नयाँ पुस्ताका लागि पठनीय बन्न सक्छ । समाचारले रोष, चिन्ता बढाउने मात्र होइन, जीवनोपयोगी सामग्रीको रूपमा पाठकको दैनिक जीवनमा सकारात्मक प्रभाव पनि पार्न सक्नुपर्छ । जसले पत्रकारिताको सूत्रमा नयाँ डब्ल्यू ‘वाह’ को प्रयोगलाई सिद्ध गर्न सकोस् ।

हामीले समाचारका रुपमा प्रस्तुत गर्ने विषयवस्तुहरूको औचित्य आम पाठकको माया र सद्भावबाट पुष्टि हुनेछ । पत्रकारितामा नयाँ प्रयोग कठीन छ भन्ने थाहा छ, तर अहिलेको आवश्यकतालाई वोध गर्न अनिवार्य भइसकेको छ । पत्रकारिताको यात्रामा जोय नेपाल एउटा नयाँ गोरेटो हो, जसको गन्तव्य पाठक वर्गको स्वीकारोक्तिले निर्धारण गर्नेछ । आम पाठक विज्ञापनदाता र सुभेच्छुकहरूको साथ, सहयोग, हौसला र सुझावले हाम्रो यात्रामा नयाँ उर्जा थप्नेछ । हामीलाई विश्वास छ, जोय नेपालको यात्रा पाठकको रुचिअनुसार अनन्त जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?