मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् फिल्म क्षेत्रमा सम्भावना बोकेका नेपाली अभिनेत्री

काठमाडौं– कलाकारिता क्षेत्रमा जो कोही आफ्नो करियर (वृत्ति) बनाउन चाहन्छन् । कति त करियर बनाउन आउँछन्, तर बीचमै पलायन हुन्छन् । कतिपय भने फिल्म क्षेत्रमै स्थापित हुन अहिले पनि सङ्घर्षरत छन् ।

विशेषत् अभिनेत्रीहरुको कुरा गर्दा उनीहरुको मेहनत र सङ्घर्ष तारिफ योग्य नै छ । आफूले अभिनय गरेका फिल्म व्यावसायिक रुपमा असफल भए पनि उनीहरु सफलता पाउन सङ्घर्षरत नै हुन्छन् । यहाँ नेपालका ती ७ अभिनेत्रीको चर्चा गरिएको छ, जो करियरको सम्भाव्यतालाई अगाडि बढाउन प्रयासरत छन् र अभिनयमा ठूलो सम्भावना पनि देखाएका छन् ।

मिरुना मगर

अभिनेत्री मिरुना मगर पछिल्लो पुस्ताकी व्यस्त अभिनेत्री भन्दा फरक नपर्ला । फिल्म ‘लालपुर्जा’बाट नेपाली रजतपटमा डेब्यू गरेकी मिरुनाले फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’बाट सफलताको स्वाद चाखिन् । फिल्म ‘लालपूर्जा’पछि ‘रोज’, ‘साइनो’ र ‘चचहुई’ व्यावसायिक रुपमा असफल भए पनि मिरुना असफलताबाट हतोत्साही भइनन् ।

पाँचौं फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ ले बक्सअफिसमा व्यावसायिक सफलता हात पारेपछि भने उनले पछाडि फर्केर हेर्नु परेको छैन । यो फिल्मपछि रिलिज ‘जारी’, ‘नाङ्गो गाउँ’ ले उनलाई ‘सफल अभिनेत्री’को ट्याग दियो ।

अझ ‘जारी’ले त प्रदर्शनको सय दिनको रेकर्ड नै कायम ग¥यो । यो रेकर्ड पछिल्लो समयको नेपाली फिल्ममा दुर्लभ रेकर्ड नै हो । मिरुना ‘रङ्गेली’, ‘हात्तीछाप’ र ‘ऊनको स्वीटर’लगायतका फिल्ममार्फत पर्दामा देखिँदैछिन् ।

सुहाना थापा

अभिनेत्री टर्न निर्देशक झरना थापा र निर्माता सुनील कुमार थापाकी छोरी सुहानाले फिल्म ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्ममा पाइला चालिन् । होम प्रोडक्सनबाट निर्माण भएको यो फिल्मपछि उनी होम प्रोडक्सनकै फिल्म ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’ र ‘एक भगवत् एक गीता’ मा अभिनय गरिन् ।

उनले अहिले होम प्रोडक्सनकै फिल्मलाई प्राथमिकता दिइरहेकी छिन् । होम प्रोडक्सनकै फिल्ममा अभिनय गरे पनि उनले फिल्म उद्योगमा स्थापित हुने सम्भावना यी फिल्मबाट देखाइसकेकी छन् ।

शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्केले नेपाली रजतपटमा फिल्म ‘द ब्रेकअप’बाट डेब्यू गरिन् । त्यसपछि उनी ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘फूलबारी’ र ‘परस्त्री’ जस्ता फिल्ममा अभिनय गरिन् । ‘फूलबारी’ले औसत व्यापार गरे पनि बाँकी फिल्म फ्लप भए । उनले हलिउडका ‘डक्टर स्ट्रेन्ज’ र ‘मिसन इम्पोसिबल–फलआउट’मा सानो भूमिकामा अभिनय गरेकी छन् ।

त्यस्तै नेट्फ्लिक्स सिरिज ‘द क्राउन सिजन २’ को भाग ५ र ‘सुटिङ एन एलिफेन्ट’ नामक सर्ट फिल्ममा पनि अभिनय गरेकी छन् । बलिउड फिल्म ‘गोल्ड’मा पनि शिल्पालाई देख्न सकिन्छ ।

जसिता गुरुङ

नेपाली फिल्ममा उदाउँदी अभिनेत्रीका रुपमा जसिता गुरुङ पनि पर्छिन् । फिल्म ‘लिलीबिली’ बाट नेपाली फिल्ममा पाइला चालेकी उनले त्यसयता ‘लभ स्टेसन’ र ‘ज्याकी–आइ एम २१’ मा अभिनय गरेकी छिन् । हाल उनी अभिनेता अनमोल केसीसँग फिल्म ‘फर्की फर्की’को सुटिङमा व्यस्त छिन् । नृत्यमा अब्बल उनको अभिनयलाई दर्शकले मन पराउँदै आएका छन् ।

मलिका महत

अभिनेत्री मलिका महत अभिनित फिल्म ‘सतीदेवी’ यतिबेला फिल्म वृत्तमा चर्चाको विषय बनेको छ । खासगरी फिल्मको सार्वजनिक फस्ट लुकमा मलिकालाई अनुहारमा कालो मोसो र घाँटीमा जुत्ताको माला लगाएर खेदाइँदै गरेको देखाइएको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मले प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन । मलिकाले फिल्म ‘यात्रा’बाट अभिनय करियर सुरुवात गरिन् ।

त्यसपछि उनले फिल्म ‘पानीफोटो’मा अभिनय गरिन् । म्यूजिक भिडियोमा समेत स्थापित भइसकेकी मलिका अब नेपाली फिल्म क्षेत्रमा स्थापित हुन संघर्षरत छिन् । उनले हालै फिल्म ‘अगस्त्य’ को शूटिङ पूरा गरेकी छिन् भने नाटक ‘पगला घोडा’ मा समेत अभिनय गरेर चर्चा बटुलेकी छिन् ।

उपासना सिंह ठकुरी

अभिनेत्री उपासना पनि नेपाली फिल्ममा संघर्षरत अभिनेत्रीमा पर्छिन् । फिल्म ‘क्याप्टेन’बाट नेपाली रजतपटमा पाइला चालेकी ‘कबड्डी कबड्डी कबड्डी’ र ‘दुई नम्बरी’ फिल्मबाट सफलताको स्वाद चाखिसकेकी छन् ।

उनको अर्को फिल्म ‘डिसेम्बर फल्स’ भने बक्सअफिसमा फ्लप साबित भएको थियो । उनको अभिनय रहेको नयाँ फिल्म ‘हात्तीछाप’ आगामी माघ २६ गते प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अहिले सबैको ध्यान तानिएको छ ।

सृष्टि श्रेष्ठ

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले फिल्म ‘गाजलु’बाट अभिनयमा पाइला चालिन् । उनको यो डेब्यू फिल्म हिट साबित भएको थियो । उनले आफ्नो करियरमा यो फिल्मसहित ९ फिल्ममा अभिनय गरिन् ।

तीमध्ये ‘पोई पर्‍याे काले’ र ‘गाजलु’ हिट भए । बाँकी फ्लपको टोकरीमा पुगे । सृष्टि यतिबेला फिल्म ‘११ः५५’को सुटिङमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?