मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

प्रकाश सपूतको लोकप्रियताः विवादमा तानिन्छन्, ‘हिट’ गीत दिन्छन्

काठमाडौं– विवाद र प्रकाश सपूत पर्याय भन्दा फरक नपर्ला । आफ्ना सिर्जनामा फरक गर्न चाहने प्रकाश प्रत्येक सिर्जनाको दृश्यांकनमा केही फरक त गर्छन्, तर त्यही फरकपनले उनी विवाद र चर्चामा आउँछन् । 

उनका ‘गलबन्दी’ देखि पछिल्लो गीत ‘जाले रुमाल फाट्यो’ सम्मलाई हेर्ने हो भने यी बीचका सिर्जनाले चर्चासँगै विवादको मौका पाइरहेका छन् ।

प्रकाश गायन, संगीत र अभिनयमा अब्बल छन् । उनले सिर्जना गरेका गीत संगीतलाई सुन्दा र अभिनय गरेका भिडियो हेर्दा आफू अब्बल रहेको पुष्टि गरिसकेका छन् । 

गत दशैंमा रिलिज भएको फिल्म ‘परदेशी २’बाट त उनले नेपाली रजतपटमा डेब्यू नै गरे । फिल्मको अभिनयलाई छेउमा राखेर संगीतको करियरलाई हेर्ने हो भने प्रकाश विवाद मुक्त छैनन् ।

गायिका प्रिती आलेसँग मिलेर ‘दोहोरी ब्याटल’ गाई संगीतमा उदाएका प्रकाशले त्यसपछिका सिर्जनामा भने लोक शैलीलाई पछ्याउँदै मौलिक कथावस्तुलाई स्थान दिए । त्यसअघि उनी दोहोरी साँझमा गीत गाउँदै संघर्षरत थिए ।

प्रकाशको एउटा बानी के छ भने, आफ्ना सिर्जना युट्युबमार्फत सार्वजनिक गरेपछि केही समय मौन रहन्छन् । युट्युबमा आएका दर्शक प्रतिक्रियादेखि सामाजिक सञ्जालमा आएका क्रिया प्रतिक्रियालाई नियालिरहन्छन् । 

गीतको चर्चा र विवादलाई नजिकबाट बुझ्छन् । भिडियोमा कुनै अस्वीकार्य दृश्य छन् भने त्यसलाई हटाउँछन् । अनि फेसबुकमार्फत गल्ती स्वीकार्दै माफी माग्छन् ।

त्यही कारण पनि उनका नियमित श्रोता र दर्शक हुन् वा आम मानिस, उनको सिर्जना बजारमा आएको थाहा पाउनासाथ उनका सिर्जनालाई चनाखोका साथ नियाल्छन् । आफैं गाउने, अभिनय गर्ने र भिडियो निर्देशन गर्ने प्रकाशले आफ्ना भिडियोमा प्रयोग गर्ने कथावाचन शैलीलाई धेरैले मन पराएका छन् । 

त्यो शैली उत्तिकै विवादास्पद पनि बन्छन् । आफ्ना सिर्जनामा विवाद र चर्चा रोप्न खप्पिस प्रकाश यी दुई कुराकै कारण करियरलाई पनि फैलाइरहेका छन् ।

गीतको विवाद श्रृंखला

दोहोरी ब्याटलबाट प्रकाश उदाए पनि गीत ‘बोलमाया’बाट उनले सबैको ध्यान आफूतिर ताने । २०७५ सालमा सार्वजनिक भएको यो गीतमा प्रकाशसँगै नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ । गीतमा उनले बाध्यताले अरब जाने र दुर्भाग्यबस काठको बाकसमा फर्किनुपर्ने नेपालीको पीडालाई प्रस्तुत गरेका थिए । रोमानियाको एक कार्यक्रममा प्रकाशले गत असारमा यही गीत गाइरहँदा उनीमाथि एक दर्शकले क्यान बियरको बोतल प्रहार गरेका थिए ।

वि.सं. २०७६ सालमा प्रकाशले शान्तिश्री परियारसँग नै सहकार्य गरेर ल्याएको अर्को गीत ‘गलबन्दी’लाई स्रोता र दर्शकले उत्तिकै मन पराए । ‘बोल माया’को सिक्वेलका रुपमा गीत ल्याइएको भनिए पनि यो गीत ‘बोल माया’ भन्दा धेरै हदसम्म फरक छ । 

तर यो गीतको दृश्यांकन आफ्नो पुरानो देउसी भैलो गीतको लयसँग मिलेको भन्दै गायक शम्भु राईले आपत्ति जनाएपछि प्रकाश विवादमा तानिएका थिए । केही दिन विवादमा तानिएपछि शम्भुसँग गीतको सर्जकका रुपमा शम्भुको नामसमेत राखिने सम्झौता गरेपछि विवाद मत्थर भएको थियो ।

त्यसपछि वि.सं. २०७८ सालमा सार्वजनिक भएको प्रकाशको अर्को गीत ‘कुरा बुज्न पर्च’ को शब्द र दृश्यले जति चर्चा पायो । गायिकाद्वय शान्ति श्री परियार र समीक्षा अधिकारीको स्वर रहेको यो गीतले मुख्यतया महिला सशक्तीकरणको कुरालाई जोड दिन्छन् । 

धनसम्पत्ति भएको भन्दा पनि माया गर्ने श्रीमान चाहिने भाव बोकेको यो गीतका केही शब्दमा महिलावादीहरुले नै आपत्ति जनाएका थिए ।

सांगीतिक करियरमा प्रकाशलाई सम्झिइरहने अर्को गीत थियो ‘पीर’ । 

वि.सं. २०७८ मै सार्वजनिक गरिएको यो गीतले वर्तमान समयमा माओवादी जनयुद्धका पूर्व लडाकुहरु कस्तो जीवन बिताइरहेका छन् भन्ने विषय उठान गरेको थियो । गीतको एक दृश्यमा एक महिला लडाकु देह व्यापारमा संलग्न रहेको दृश्य देखाइएपछि माओवादीले असन्तुष्टि जनाएपछि प्रकाश विवादमा तानिएका थिए । 

उक्त दृश्य हटाउन चौतर्फी दबाब आएपछि केही समयपछि उनले उक्त दृश्य हटाएका थिए ।

अर्को गीत ‘सकम्बरी’को विवाद र चर्चा उत्तिकै रह्यो । यसै वर्षको गत वैशाख १ गते रिलिज ‘सकम्बरी’मा गाउँबाट सहर आएकी फूलमायाको कथा देखाइएको छ । मोडल बन्न र पैसा कमाउन चाहने फूलमायाले होटलमा वेटरका रुपमा काम गरिरहँदा धनी मानिसहरुसँग सामीप्यता बढाउने र पैसाका लागि शरीर नै सुम्पिने गरेको दृश्य गीतमा देखाइएको छ । 

गीतलाई समर्थन र विरोध गर्नेको संख्या उत्तिकै थियो । एक पक्षले गीतले वास्तविकताको चित्रण गरेको दाबी गरिरहँदा अर्को पक्षले भने सर्जकले महिलालाई यौन दृष्टिकोणमा मात्र प्रयोग गरेको आरोप लगाएका थिए ।

के भन्छन् प्रकाश ?

आफ्ना सिर्जनामाथि विवाद र चर्चा भइरहँदा पनि प्रकाशले करियरलाई डगमगाउन दिएका छैनन् । उनी गीत तयार पार्छन्, सार्वजनिक गर्छन् र तिनै गीत गाउनका लागि विदेश शयर गरिरहन्छन् । विवाद र चर्चा भइरहँदा पनि करियरलाई डगमगाउन नदिनुको रहस्य के हो त?

‘मुख्य कुरा इमान्दारिता हो । विवाद किन आउँछ भन्ने कुरा आफैंमा अर्को रहस्य हो । म हरेक सिर्जनामा नयाँ कुरा दिइरहेको हुन्छु । त्यो नयाँ कुरा कतिपयलाई पाच्य होला त कतिलाई अपाच्य होला’, प्रकाश भन्छन्, ‘विविधता भएको देशमा संगीत सिर्जनामा केही फरक गर्न खोज्दा चर्चा र विवाद हुनु नयाँ कुरा पनि होइन । मूल जड भनेको निराशा हो । त्यो निराशा बाहिर निस्कँदा यस्ता घटना भइरहन्छन् ।’

करियरप्रति सचेत छुः प्रकाश सपूत

आफ्ना सिर्जनामा चर्चा र विवाद एकसाथ देखिँदा प्रकाशलाई आफ्नो छविलाई सन्तुलनमा राख्नु उत्तिकै चुनौती भएको प्रकाश बताउँछन् । संगीतमा आफूले केही न केही योगदान दिइरहँदा पनि कहिलेकाहीँ कमी कमजोरी हुने कुरालाई उनी स्वीकार्छन् । 

‘समाजमा रहेका पात्रको भावनालाई उठान गरिरहँदा कहिलेकाहीँ बिग्रिन पनि सक्छ । यस्तो अवस्थामा आफ्नो छविलाई सन्तुलनमा राख्नु मेरो लागि अर्को चुनौति पनि हो,’ प्रकाश खुल्छन् ।

कहिलेकाहीँ उनी आफ्ना सिर्जना कतै उग्र त छैनन् ? भनेर समीक्षा पनि गर्ने गरेको बताउँछन् । उनलाई आफ्नो करियरमा कतै असर त पर्ने होइन भन्ने भय पनि उत्तिकै छ । 

‘मेरै सिर्जनाका कारण दर्शक स्रोताले म प्रति हेर्ने दृष्टिकोणमा कतै परिवर्तन त ल्याउने होइनन् भन्ने भय पनि ममा हुन्छ’, उनी भन्छन्, ‘तर आफ्नो सिर्जनाको विषयवस्तुमा म स्पष्ट छु । त्योसँगै करियरप्रति पनि सचेत र चिन्तित छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?