मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवा

युवापुस्तामा किन बढ्दैछ आत्महत्याका घटना ?

काठमाडौं– गत माघ ३ गते पश्चिमी पहाडी जिल्ला डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १० मा बस्ने कौशिला महराले बिष सेवन गरेर आत्महत्या गरिन् ।

त्यसको केही दिनअगाडि मात्रै सोही वडाकै पार्वती बोहराले पनि विष सेवन गरेर मृत्युको बाटो रोजिन् ।

प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार पार्वतीले ‘प्रेमीले धोका दिएको’ भन्दै विष सेवन गरेकी थिइन् । उनको कोठामा प्रेमीलाई सम्बोधन गरिएको एक नोट समेत भेटिएको थियो ।

तर, प्रेमीकै कारण उनले आत्महत्याको बाटो रोजिन् कि अन्य कारण थियो भन्ने अझै खुलेको छैन ।

गत साउनदेखि माघसम्मको तथ्यांक हेर्दा डडेल्धुरा जिल्लामा मात्रै १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । त्यहाँका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुसुम नायकका अनुसार साउनदेखि पुससम्ममा ६ महिला र ३ पुरुषले झुण्डिएर तथा २ महिला र १ पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

सुुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक प्रज्वल महर्जनका अनुसार यस प्रदेशमा मात्रै हालसम्म १ सय २२ महिला र १ सय ५१ पुरुष गरी जम्मा २ सय ७३ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो समय आत्महत्या निकै डरलाग्दो र भयावह रुपले भुसको आगोझैँ फैलिरहेको छ । नेपालमा पछिल्लो केही वर्षयताको आत्महत्याको विवरण हेर्दा वि.सं. २०७७ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५ हजार ७ सय ३१ जनाले झुण्डिएर आमहत्या गरेका थिए भने १ हजार २ सय ८६ ले विष सेवन गरेका मृत्युको बाटो रोजेका थिए ।

बाँकी १ सय ८ जनाले अन्य विभिन्न कारणले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै वि.सं. २०७८ मा पनि ६ हजार १ सय ३२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ४ हजार ९ सय ६४ जनाले झुण्डिएर र ९ सय जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् भने अन्य ९८ जनाले अरु कारणले आत्महत्या गरेका छन् । यस्तै २०७९ मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरिक्षक भिम प्रसाद ढकालका अनुसार यस वर्षको पहिलो ६ महिनामा हालसम्म २ हजार ९ सय ७६ आत्महत्याका घटना घटेका छन् । जसमध्ये १ हजार ६ सय ५६ पुरुष, ९ सय ४६ महिला १ सय १५ बालक तथा २ सय ५९ बालिका रहेका छन् ।

आत्महत्याको पछिल्लो प्रवृति हेर्दा झुण्डिएर आत्महत्या गर्नेको सङख्या बढिरहेको पाइएको छ । विष सेवन गर्नु, हाम फालेर, आगो लगाएर तथा धारिलो हातहतियारको प्रयोग गरेर समेत आत्महत्या गर्ने क्रम बढिरहेको प्रहरी नायव महानिरीक्षक ढकाल बताउँछन् ।

किन बढ्दै छन् आत्महत्याका घटना ?

मनोविद् विनोद पौडेल आत्महत्या मुख्य गरी मानसिक, सामाजिक तथा जैविक कारणले हुने गरेको बताउँछन् । उनका अनुसार आत्महत्या गर्नेमध्ये झण्डै ८० प्रतिशत व्यक्तिमा उदासिनता, डिप्रेसन तथा मानसिक समस्या देखिने गरेको छ ।

‘नेपालको सन्दर्भमा पछिल्लो समय भइरहेका हत्या, आत्महत्या र अन्य अपराधजन्य घटना नियाल्दा यसमा धेरै कारण देखिन्छन्, तनावपूर्ण जीवन, प्रेमी प्रेमिकाबीच हुने तनाव, पारिवारिक समस्या इत्यादि कारणले यस्ता घटना बढिरहेका छन्,’ मनोविद् पौडेल भन्छन् ।

उनका अनुसार कतिपय आत्महत्याका घटना सामाजिक विभेद तथा अन्य कारणले पनि घट्ने गरेका छन् । अझ घरेलु हिंसा, अनैतिक सम्बन्ध, सामान्य कुरामा चिन्ता लिने बानी र पढाइमा सोचेजस्तो परिणाम नआउनु लगायतका कारणले पनि यस्ता घटनामा वृद्धि भएका छन् ।

नेपालको राजनीतिक अवस्था, आर्थिक मन्दी, व्यापारमा घाटा, राजनीतिक संकट, सामाजिक व्यवहार लगायतका विविध कारणले पनि आत्महत्याका घटनामा समस्या आएको पौडेलको तर्क छ ।

गत वर्ष माघमा प्रेमप्रसाद आचार्यले काठमाडौंको संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘नेपालमा गरेर खाने अवस्था नरहेको र आफूले जति गर्दा पनि बाँच्न गाह्रो भएको’ भन्दै मृत्युको बाटो रोजेका थिए ।

यो घटनापछि व्यापक रुपमा यसबारे बहस भए पनि सरकारले यस्ता घटनालाई चासोका साथ हेरेको छैन ।

आत्महत्या गर्न खोज्नेले दिन्छन् पूर्वसूचना

मनोविद् विनोद पौडेल धेरै तनाव लिने, निराश हुने, लागू पदार्थ तथा मादक पदार्थको बढी सेवन गर्नेहरुमा आत्महत्याको सोच आउने बताउँछन् ।

‘आफ्नो भविष्यप्रति निराशापन देखाउने, केही गर्न सक्दिनँ कि भन्ने सोच्ने व्यक्तिले पनि यस्तो निर्णय लिन सक्छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा आत्महत्या र डिप्रेसनका कुरा पटकपटक गर्ने व्यक्तिले पनि आत्महत्या गर्न सक्छन् ।’

फरक व्यवहार देखाउने त्यस्ता व्यक्तिलाई बेवास्ता गर्न नहुने बरु सम्झाउनुपर्ने मनोविद् पौडेल बताउँछन् ।

उनका अनुसार सामाजिक क्रियाकलापबाट टाढा रहने, कसैसँग पनि घुलमिल नहुने, एक्लै बस्न रुचाउने, चाँडै रिसाउने, सामाजिक सञ्जालमा आत्महत्या गर्ने विचार, भावना या पोष्टहरु शेयर गर्ने, असामान्य दैनिकी तथा असहज बोली व्यवहार देखाउने व्यक्तिमा आत्महत्या गर्ने सोच आउन सक्छ ।

कसरी रोक्न सकिन्छ यस्ता घटना ?
पछिल्लो समय बढ्दै गएका आत्महत्याका घटनाले नेपाली समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न तेर्साएको छ । यस्ता घटना घट्न नदिन समाज र सरकारले नै कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।

‘त्यस्ता लक्षण देखिएमा समाज, परिवार र साथीहरुले सद्भावपूर्ण व्यवहार गर्ने, उसको कुरा सुनिदिने, दैनिक कार्यक्रममा सक्रिय रहन प्रेरित गर्ने गर्नुपर्छ,’ मनोविद् विनोद पौडेल भन्छन्, ‘मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, यसलाई महत्त्वका साथ लिएर तीनै तहको सरकारले उचित कदम चाल्नुपर्छ ।’

नेपालमा यससम्बन्धी कानूनहरु भए पनि ती कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको पौडेल बताउँछन् ।

‘मानसिक रुपमा विक्षिप्त रहेका व्यक्तिलाई हौसला प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएमा जतिसक्दो छिटो मनोरोग विशेषज्ञ, मनोविद् उपचार तथा परामर्श समेत लिनुपर्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?