काठमाडौँ – लेखक सिद्धार्थ–गरिमा अभिनित फिल्म ‘दुकान’ को ट्रेलर सार्वजनिक भएको छ । ‘गोलियों की रासलीला राम-लीला’, ‘राब्ता’, ‘टॉयलेट: एक प्रेम कथा’, ‘बत्ती गुल मिटर चालु’ जस्ता फिल्महरूको स्क्रिप्ट लेखेका सिद्धार्थ र गरिमाको यो पहिलो निर्देशकीय फिल्म हो।
ट्रेलर सन्दीप रेड्डी वांगाले मुम्बईमा सार्वजनिक गरेका हुन् । सिद्धार्थ-गरिमाले वांगाको फिल्म एनिमलका लागि सतरंगा गीत लेखेका थिए ।
फिल्म ‘दुकान’ व्यावसायिक सरोगेसीको संसारमा आधारित छ । यो फिल्मले जैस्मीन नामकी केटीको कथा देखाएको छ । यो फिल्मले सरोगेसीलाई पेशाको रूपमा रोज्ने महिलाको मर्यादा, छनोट र स्वतन्त्रतामाथि प्रश्न उठाउँछ। चलचित्रमा मोनिका पनवार मुख्य भूमिकामा छिन् ।
दुई मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा मोनिका पनवारको चरित्र जस्मिनबाट सुरु हुन्छ, जो बच्चासँग कुरा गर्दै भन्छिन्, हाम्रो प्रेम कथा त्रिकोणात्मक हो । फिल्ममा मोनिका पनवारसँगै सोहम मजुमदार, सिकन्दर खेर, मोनाली ठाकुर, व्रजेश हिरजीको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
सिद्धार्थ–गरिमा निर्देशित फिल्म ‘दुकान’लाई अमर झुनझुनवाला र शिखा अहलुवालियाले निर्माण गरेका हुन् । फिल्म यसै वर्षको अप्रिल ५ मा हलमा रिलिज हुँदैछ ।
‘दुकान’ को ट्रेलर रिलिज हुनुअघि सिद्धार्थ–गरिमाले सामाजिक सञ्जालमा फिल्मको बारेमा पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘दुकान’ प्रेमको फल हो, चुनौतीले भरिएको यात्रा । यो फिल्मको निर्माण आफैमा एउटा विजय हो । आशा, विश्वास र शक्तिको विजय। सपना देख्ने र विश्वास गर्ने सबैको विजय होस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया