मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाचार हुबहु सार्ने १८३ अनलाइन कारबाहीमा

काठमाडौँ – प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा एक सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने ‘कपी एण्ड पेस्ट गर्ने’, अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता÷सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आज प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आगामी दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्न नगराउन ध्यानाकर्षण गराउने र पुनःत्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।

“एकलाई भुलसुधार गर्न र एकलाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चारमाध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ”, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एशोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

अध्यक्ष बस्नेतले अनलाइनको सङ्ख्यात्मक मात्र नभई गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन कडाइ गर्ने बताए ।

“सञ्चारमाध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ”, उनले भने । काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आव समेतको गरी १६० वटा उजुरी फछ्र्योट भएका छन् ।

काउन्सिलले मूल स्रोतको अनुमतिबिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न÷नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?