मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘पुरुषको तुलनामा महिलामा माइग्रेनको समस्या बढी हुन्छ’

काठमाडौँ– माइगे्रन टाउको दुखाइ सम्बन्धी एक रोग हो । माइग्रेन भएका बिरामीले टाउकोको कुनै एक भाग मात्र दुख्ने समस्या खेपिरहेका हुन्छन् । सामान्य टाउको दुखाइभन्दा माइग्रेन हुँदा दुख्ने टाउको अलि जटिल प्रकृतिको हुन्छ ।

यो रोगको मुख्य लक्षण भनेको एक्कासी टाउको दुख्नु, घोचेजस्तो गरेर दुख्नु आदि हो । माइग्रेन जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । यद्यपि पुरुषका तुलनामा महिलामा यो रोग बढी देखिने विभिन्न अनुसन्धानले देखाएको छ ।

बढी चिन्ता गर्ने, धेरै सोचिरहने व्यक्तिहरुलाई माइग्रेनको समस्या हुन्छ । साथै कतिपयलाई चिसोका कारण पनि माइग्रेन हुने गर्छ ।

माइग्रेन के हो र यसबाट कसरी जोगिन सकिन्छ भन्ने सन्दर्भमा स्नायु शल्य चिकित्सक डाक्टर सुदन ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

माइग्रेन कस्तो खाले रोग हो?

सामान्य बुझाइमा भन्दा माइग्रेन भनेको टाउको दुख्ने रोग हो । यो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । नेपालको परिवेशमा महिलाहरुमा बढी यस्तो रोग भएको पाइन्छ ।

कुनै व्यक्तिलाई माइग्रेन कसरी हुन्छ त?

माइग्रेन हुने ठ्याक्कै यही कारण भन्ने त छैन । कतिपयलाई वंशानुगत कारणले पनि हुन सक्छ । यदि परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने यस्तो समस्या बल्झिन सक्छ । साथै कतिपय अवस्थामा बढी चिन्ता लिँदा, अत्यधिक चिसोका कारणले पनि यो समस्या आउँछ ।

यसका लक्षणहरु के–के हुन् ?

यसका लक्षणहरु भनेको मुख्य गरेर टाउको दुख्ने नै हो । साथै झिँजो लाग्ने, धेरै उज्यालो मन नपर्ने, एकान्तमा बस्न रुचाउने लगायतका लक्षण पनि माइग्रेनका लक्षण हुन् ।

यस रोगको रोकथामका उपायहरु के–कस्ता छन् ?

लामो समयसम्म भोको पेट नबस्ने, अनिधो नबस्ने, बट्टामा साँधेर बनाइएको तामाको अचार नखाने गर्दा पनि माइग्रेनबाट केही हदसम्म जोगिन सकिन्छ । सबैभन्दा मुख्य कुरा त माइग्रेन के कारणले भएको हो भनी पत्ता लगाएर त्यही अनुसार आफूले ख्याल गर्नुपर्छ ।

यदि कुनै चीजले आफूलाई सहँदैन भने त्यसबाट टाढा बस्नुपर्छ । कतिपयको ‘रेड वाइन’ पिउने बानी हुन्छ । यसले पनि माइग्रेन बढाउन सक्छ । यस्ता चीजबाट जोगिनु नै प्रभावकारी हुन्छ ।

के पुरुषहरुको तुलनामा महिलाहरुमा माइग्रेनको समस्या बढी देखिने हो त ?

यो कुरा ठीक हो । पुरुषहरुको तुलनामा महिलामा यस्तो समस्या बढी देखिएको पाइन्छ । किनभने महिलाको शरीरमा त्यस्तो हर्मोन हुन्छ, जुन पुरुषको शरीरमा हुँदैन । त्यही हर्मोनका कारणले महिलाहरुमा माइग्रेन हुने समस्या बढी हुन्छ ।

अन्त्यमा यस रोगबाट बच्न र माइग्रेनका शिकार भइसकेका बिरामीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

यो रोगको पहिचान गरेर त्यसबाट जोगिनु नै सबैभन्दा उत्तम हुन्छ । सीटी स्क्यान, एमआरआई गर्दा पनि यो रोग पत्ता लाग्दैन । त्यसैले के कारणले टाउको दुखिरहन्छ भन्ने पत्ता लगाउन सकेर त्यसबाट जोगिनु नै राम्रो हुन्छ ।

यदि कसैलाई माइग्रेन भइहाल्यो भने चिकित्सकको परामर्श लिएर उपचार गराइहाल्नुपर्छ । कतिपय अवस्थामा टाउको दुख्नुको कारण सामान्य रोग नभएर बे्रन ट्युमर लगायत अन्य प्राणघातक रोगको लक्षण पनि हुनसक्छ । त्यसैले समयमा उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?