मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जलवायु परिवर्तनको प्रभाव

माघमै ढकमक्क फुले लालीगुराँस, जलवायु परिवर्तनको असर कति?

काठमाडौँ– मुगुको छायाँनाथ नगरपालिकास्थित एक विद्यालयमा हालै सरस्वती पूजाका अवसरमा विद्यार्थीहरुले गुराँसका फूलहरु लिएर आए । लालीगुराँस फुल्ने समय चैत/वैशाख भए पनि मुगुसहित कर्णालीका हिमाली तथा लमजुङका उच्च पहाडी क्षेत्रहरुमा माघ महिनामै ढकमक्क गुराँस फुल्न थालेपछि स्थानीयहरु अच्चमित छन् ।

केही वर्षयता माघ/फागुनतिर नै गुराँस फुल्न थालेको स्थानीयहरु सुनाउँछन् । मुगुमा गुराँस मात्र नभएर बोटबिरुवाहरुमा नयाँ पालुवा र स्याउ पनि पुस महिनादेखि नै स–साना दाना लाग्न थालिसकेको मुगुस्थित छायाँनाथ नगरपालिका १ का स्थानीय जनप्रतिनिधि पदमराज मल्लले बताए ।

‘हाम्रो गाउँको एउटा विद्यालयमा सरस्वती पूजाको लागि विद्यार्थीहरुले गुराँसका फुलहरु ल्याएका थिए’, उनले भने, ‘हामी त अचम्ममा पर्‍यौँ । चैत बैशाखतिर फुल्ने लालीगुराँस माघमै पो फुल्न थाल्यो ।’

जलवायु परिवर्तनका कारण लालीगुराँस चाडै फुलेको यस क्षेत्रका विज्ञहरुले सुनाए । विज्ञहरुका अनुसार लालीगुराँस फुल्ने समस्या भन्दा पनि जलवायु परिवर्तनले वातावरणमा प्रभाव पारी मानवको दैनिक जीवनमै संकट आइपर्न सक्छ ।

लमजुङतिर पनि पछिल्लो तीन चार वर्षदेखि नै माघ महिनामा लालिगुराँस फुल्न शुरु गरेको लमजुङस्थित राइनास नगरपालिकाका सुचना अधिकारी सिजन देवकोटाले बताए । उनले भने, ‘केही वर्ष पहिले चैत बैशाखमा फुल्न शुरु हुन्थे ।

आजभोलि चैत बैशाखतिरसम्म त लालिगुराँस फुलेर सकिसक्छ ।’ चैत वैशाखमा फुल्ने लालीगुराँस मात्र नभएर काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्ने र छिटै पाक्ने क्रम पनि देखिएको स्थानीयहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार खासमा पहिला फागुनको मध्यतिरबाट लालीगुराँसको कोपिला लाग्न शुरु हुन्थ्यो । चैत्र–वैशाखमा मात्र ढकमक्क लालीगुराँस फूलले वनजंगल ढाकिन्थे ।

विश्वमा बढ्दै गएको तापमानका कारण पनि अहिलेको यो समस्या आएको वनस्पतिविद्हरुको मत छ । लालीगुराँस जस्तै विभिन्न फलहरु बेमौसममा देखिनु जलवायु परिवर्तनकै असरका कारण देखिएको वनविज्ञ तथा वन निर्देशनालय मकवानपुरका बरिष्ठ वन अधिकृत मधन कँडेल सुनाउँछन् ।

‘जब तापमान बढ्छ, तब कुनैपनि फलफूल होस् या अन्नवाली छिट्टै पाक्ने गर्दछ । लालीगुराँस चाडैँ फुलेको भन्ने कुरा आएको छ, यो पनि यसकै कारण भएको हो ।’ वनविज्ञ कँडेलले भने ।

नेपालमा भएको जैविक विविधतामा नै जलवायु परिवर्तनले असर पुर्‍याउने र धेरै प्राकृतिक कुराहरु लोप हुन सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ ।

कतिपय वातावरणविद्हरु भने लालीगुराँस छिटै फुल्ने समस्या जलवायु परिवर्तनकै कारण उत्पन्न भएको हो भनेर ठोकुवा गर्न नसकिने बताउँछन् । उनीहरुका अनुसार वनस्पतिको नियमित चक्रमा जलवायु परिवर्तनले फरक पार्न सक्छ । यही कारणले लालीगुराँस चाँडै फुलेको हो भनेर भन्न नसकिने जलवायु विश्लेषक मनजित ढकालले बताए ।

उनले भने, ‘जलवायु परिवर्तनका कारणले गुराँस छिट्टै फुल्ने वा ढिलो फुल्छ भनेर कुनै खास अध्ययनहरु भएकै छैनन् । तर वनस्पतिको नियमित चक्रमा भने जलवायू परिवर्तनले फरक पर्न सक्छ ।’

किटानै गरेर जलवायू परिवर्तनका कारण गुराँस छिटो फुलेको हो भन्नका लागि यस क्षेत्रमा अध्ययन हुनु आवश्यक रहेको उनको तर्क छ । पछिल्लो समय बढिरहेको फलफूलहरु बेमौसममै फुल्ने, पाक्ने गरेको कुरामा जलवायू परिवर्तनको असर परेको छ वा छैन भनेर निष्र्कषमा पुग्न कम्तिमा ३० वर्षको जलवायुको अवस्थालाई अध्ययन गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?