काठमाडौँ– मम्स इन्टरनेशनलको आयोजनामा शनिवार राजधानीमा भएको मिस तामाङ २०२४ को ग्राण्ड फिनाले अन्तर्गत काठमाडौं तारकेश्वरकी २० वर्षीया रिया लामा तामाङले उपाधि जितिन् ।
ताजसहित घरमा पुगेकी उनलाई हजुरबुवा श्याम बहादुर लामाले बधाई दिए ।
बधाई दिँदै हजुरबुवाले भने, ‘स्याबास ! तिमीले त मैले पनि बोल्न नजानेको भाषा बोलेर देखायौ ।’
हजुरबुवाका यी शब्दहरुले साँच्चिकै रिया निकै भावुक बनिन् र गर्वको महसुस गरिन् । उनलाई मिस तामाङको ताज जित्नुभन्दा पनि मञ्चमा परिचयात्मक चरणमा तामाङ भाषामै आफ्नो बारेमा भन्न सक्नु गर्वको कुरा थियो ।
‘मलाई तामाङ भाषा बोल्न आउँदैन, परिवारमा पनि कसैले बोल्नुहुन्न’, उनले भनिन्, ‘हजुरबुवाले त टिबेटियन भाषा बोल्नुहुन्छ, हाम्रोमा कल्चर पनि तामाङको भन्दा शेर्पाहरुसँग मिल्छ ।’
तामाङ समुदायको भए पनि किन फरक संस्कार, भाषा र परम्परा छ भनेर रियाको मनमा प्रश्नहरु उठ्न थाले । त्यही प्रश्नको उत्तर खोज्न उनी मिस तामाङको मैदानमा उत्रिइन् ।
रियाका अनुसार उनका हजुरबुवा, बुवा सबै काठमाडौं स्वयम्भू आपपासमै हुर्के । लामा गुरुहरुको संगतले हजुरबुवाले तामाङभन्दा पनि तिब्बती भाषा सिके । भाषा मात्र होइन, रियाको घरमा संस्कृति र परम्परा पनि तिब्बती नै चल्यो ।
उनको घरमा सोनाम ल्होछार होइन, ग्याल्पो ल्होसार मनाइन्थ्यो । पहिरनमा बख्खु नै लगाइन्थ्यो । जब रिया जात, धर्म र समुदायका बारेमा बुझ्ने भइन्, तब मात्र उनले आफ्नो मौलिक पहिचान के हो भन्नेबारे थाहा पाइन् ।
मिस तामाङको पहिलो अडिसन राउण्डमा नै उनी आमाको विवाहको पहिरन बख्खु लगाएर पुगेकी थिइन् । उनी त्यहाँ भाषाबाट त अलग थिइन् नै मौलिक पहिरनबाट पनि अलग नै भइन् । उनले लगाएको पहिरन तामाङ समुदायको संस्कृतिसँग मेल खाँदैन भन्ने कुराले उनी एकैछिन अलमल्ल परिन् ।
त्यसपछि आफ्नो यथार्थ कुरालाई उनले निर्णायक टोलीलाई ढुक्क भएर सुनाइन् । उनी त्यहाँ तामाङ भाषा र संस्कृतिलाई खोज्न पुगेकी थिइन् । आफू तामाङ हुनुको वास्तविक पहिचानको भोकलाई उनी मिस तामाङको प्लेफर्ममा गएर मेटाउन चाहन्थिन् ।
पछिल्लो समय बसाइसराइ, शहरीकरण र आधुनिकीकरणले युवा पुस्ताहरु आफ्नो मौलिक संस्कृतिबाट टाढा भइरहेका छन् । अभिभावकले भाषा र संस्कृतिबाट सन्तानलाई टाढा बनाइदिँदा रिया जस्तै कैयौं युवाहरु पहिचानको भोका छन् ।
उनीहरु आफ्नो पहिचान, संस्कृति र भाषा सिक्न चाहन्छन् तर उनीहरुलाई सिकाउने समाज छैन । भाषा र पहिचानका लागि भौँतारिरहेका युवापुस्ताको प्रतिनिधि पात्रका रुपमा रिया मिस तामाङको मैदानमा थिइन् ।
उनलाई लाग्छ, शायद आफ्नो पहिचानको खोजलाई बुझेर नै उनलाई अडिसन राउण्डमा छनोट गरियो । अन्ततः उनले ताज नै जितिन् ।
रियाको पहिचान खोजी यात्रा
रिया सानैदेखि कला क्षेत्रमा रुचि राख्थिन् । कलासँगै आफ्नो पहिचानको खोजीमा पनि उनको उत्तिकै खोजी थियो । घरमा चाडपर्व मनाइरहँदा होस् या मौलिक पहिरन लगाउँदा उनी हजुरबुवालाई त्यसबारे सोधीखोजी गर्थिन् । जब उनी हर्किँदै गइन्, तब आफू तामाङ रहेछु भन्ने ज्ञान भयो ।
तामाङ भए पनि उनको घरको संस्कार र अरु तामाङ समुदायमा नितान्त फरक थियो । यसले उनलाई झनै सोचनीय बनायो । मोडलिङ क्षेत्रमा आएपछि बिस्तारै उनले आफ्नो संस्कारबारे अझै बुझ्दै गइन् ।
पछिल्लो चार/पाँच वर्षदेखि उनी कला क्षेत्रमा आवद्ध छिन् । उनले यस अवधिमा ‘भिमफेदी गाइज’ समूहको ‘चिरबिर गर्ने’, मदन घलानको ‘सोल्टीनीको गाउँ’, राजु लामाको ‘मैच्याङ’ लगायतका म्युजिक भिडियो’मा अभिनय गरेकी छिन् ।
युवाहरुको प्रोत्साहन स्वरुप स्थापना गरिएको संस्था ‘ल्याण्ड आवर फ्युचर’ संस्थाकी उनी सांस्कृतिक राजदूत समेत हुन् । उक्त संस्थाबाट उनको समूहले सांस्कृतिक कार्यक्रमदेखि स्वास्थ्य सेवाका कार्यहरु समेत गर्दै आएको छ ।
यसरी रियाले घरभित्र भन्दा पनि बाहिरी संसारमा तामाङ संस्कारबारे बढी बुझ्ने मौका पाइन् ।
‘आफ्नो भाषा पनि बोल्न नआनेलाई के तामाङ भन्नु ?’ यो प्रश्न र आलोचनालाई उनले बाहिरी संसारमा धेरै नै झेलिन् । यही आलोचना दोहोरिरहँदा उनको मन खिन्न हुन्थ्यो । यसबारे उनी घरमा पुगेर पनि गुनासो गर्थिन् । कला क्षेत्र समुदायका तामाङ कलाकारसँग सहकार्यमा भने उनले केही बुझ्ने र सिक्ने मौका पाइन् ।
संस्थाको कामकै सिलसिलामा उनले पूर्व मिस तामाङ सफलता तामाङलाई भेटिन् । तामाङले पनि उनलाई ‘मिस तामाङ’को प्लाटफर्मबारे धेरथोर बताएकी थिइन् । त्यसपश्चात् भने उनले मिस तामाङको मैदानमा प्रतियोगीका रुपमा सहभागी भएर केही सिक्ने अठोट गरिन् ।
मिस तामाङ यात्राको सङ्घर्ष
रियालाई मिस तामाङ यात्रामा पहिलो समस्या नै भाषामा थियो । उनलाई त्यहाँ भाषासँगै आफ्नो तामाङ संस्कारलाई नजिकबाट बुझ्न पाइएला भन्ने मनमा लोभ थियो ।
भाषा र संस्कार सिकेर उनीजस्ता कैयन् युवालाई बुझाउनुपर्छ भन्ने उनको दृढ संकल्प थियो । उनको त्यही संकल्पले उनी अडिसन राउण्डबाट अगाडि बढ्न सफल भइन् । प्रस्तुतिदेखि तामाङ बाहेक नेपाली र अंग्रेजी भाषा संवादमा उनको राम्रो थियो ।
साथीभाइसँग घुलमिल र सामुहिक क्रियाकलाप जस्ता सामाजिक उपस्थितिको पाटोमा पनि उनको राम्रै सहभागिता थियो ।
ग्राण्ड फिनालेमा भने सहभागीहरुले अनिवार्य रुपमा मातृभाषा नै आफ्नो परिचय, खुबी र रुचीबारे आम दर्शकलाई सुनाउनुपर्थ्यो । यस क्रममा उनले आफ्ना शब्दलाई नेपाली भाषामा उतारिन् र अन्य प्रतियोगी साथीहरुको सहयोगमा तामाङ भाषामा अनुवाद गरिन् ।
त्यही अनुवादकै आधारमा उनले आफ्नै भाषामा आफ्नो परिचय दिएको जोय नेपालसँगको कुराकानीमा सुनाइन् ।
उनका अनुसार भाषा र संस्कार नजान्नु उनी र उनीजस्ता युवा पुस्ताको कमजोरी होइन । यसमा आफ्नो भाषा र संस्कृतिबाट युवा पुस्तालाई अलग गराइरहेको अग्रज पुस्तालाई उनी दोष दिन्छिन् ।
‘भाषा बोल्न र आफ्नो बारेमा थाहा नहुनुमा हाम्रो के नै गल्ती छ र ? यो त हाम्रो कमजोरी होइन नि, हामीलाई हाम्रै अभिभावकहरुले किन भाषा र संस्कार सिकाउनु भएन?,’ उनले प्रश्न गरिन् ।
मिस तामाङको ताज शिरमा पहिरिएपछि आफ्नो भाषा र संस्कारको ठुलो जिम्मेवारी बोकेको उनलाई महसुस भएको छ । तामाङ भाषाको संस्कृति र भाषाबारे उनले केही कुरा बुझिन् । आगामी दिनमा उनलाई अझै बृहत् रुपमा सिक्नु छ र नयाँ पुस्तालाई सिकाउनु छ ।
उनी चाहन्छिन्, उनी जस्तै नयाँ पुस्ता आफ्नै संस्कार र पहिचानबाट अलग हुन नपरोस् । पहिचानविहीन भएर बाँच्दा भोग्नु परेको मानसिक सास्ती अब भोलिको पुस्तामा नपरोस् भन्ने सोच उनको छ ।
कलासँगै तामाङ भाषा र पहिचानकै क्षेत्रलाई अगाडि बढाउने उनको लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया