काठमाडौँ– राजधानीमा विभिन्न कार्यक्रमहरु गरी ३८ औं ‘तामाङ एल्बम दिवस’ मनाइएको छ ।
नेपाल तामाङ कलाकार संघ तथा तामाङ समुदाय आवद्ध विभिन्न संघ–संस्थाले दिवस मनाएका हुन् । तामाङ सेलोसंगीतमा लोकसम्राटका रुपमा लिइने चन्द्रकुमार मोक्तानले २०४२ साल फागुन १५ गते आफ्नो स्वरमा पहिलो पटक तामाङ भाषाको एल्बम ‘दुम्जाला बजार’ सार्वजनिक गरेका थिए ।
त्यही दिनको स्मरण गर्दै फागुन १५ को दिनलाई तामाङ सेलो संगीत क्षेत्रले ‘तामाङ एल्बम दिवस’को रुपमा मनाउँदै आएको छ । तामाङ कलाकार संघले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङमा कार्यक्रम गरी पहिलो एल्बमका स्रष्टा मोक्तानलाई सम्मान गरेको छ ।
सोही अवसरमा हालै मिस तामाङ २०२४ की विजेता रिया लामा तामाङलाई समेत सम्मान गरियो । ३८ वर्षको दौरानमा हालसम्ममा ३ सय ५० भन्दा बढी तामाङ एल्बमहरु बजारमा आइसकेका छन् । संयौं सेलो सर्जकहरुले सेलो संगीतलाई विश्व बजारमा पुर्याएका छन् ।
यस क्रममा सेलो गीतलाई युवा पुस्ताले नेपाली भाषाको लोक, आधुनिक, पप तथा र्याप शैलीमा समेत रुपान्तरण गरेका छन् । मोक्तानले शुरुवात गर्दा सेलो गीत मेला पर्व र वनपाखामा मात्र सीमित थिए । उनले यसलाई विस्तार गर्ने उद्देश्यले २०३७ सालमा रेडियो नेपालमा गाएर रेकर्ड गरे ।
रेडियो नेपालमा गाइएका झण्डै डेढ दर्जन गीतहरुलाई नै उनले एल्बमका रुपमा बजारमा ल्याएका थिए । क्यासेटको चलन नभएको त्यो बेला एल्बम ल्याउन निकै गाह्रो भएको मोक्तानले जोय नेपालसँगको कुराकानीमा सुनाए ।
‘त्यतिबेला रेडियो नेपालमा विशुद्ध तामाङ भाषाको सेलो गीत रेकर्ड भएको थिएन । फूलबारी भन्ने कार्यक्रममा मैले गाएँ,’ उनले भने, ‘कार्यक्रममा गाउँदै जाँदा १६ वटा गीत भएछ । त्यही गीतहरुको एल्बम बनाएको हो ।’
अहिले सेलो गीतको सागरमा थुप्रै गीतहरु आएका छन् । तीमध्ये कुनै राम्रो र कुनै नराम्रो छाप छोड्ने खालका गीतहरु भएपनि सेलो संगीत बजारको विस्तारले आफूलाई निकै खुशी बनाएको उनले सुनाए ।
सिर्जना भएका गीतहरु र त्यसका सर्जकहरु विश्वमाझ पुग्नु नै ठूलो कुरा रहेको उनको भनाइ छ । सिर्जनाहरु राम्रा भए सधैंका लागि टिकिरहने र नराम्रा भए क्षणभरमा बिलाउने तर्क राख्ने उनले यसमा सेलो सांगीतिक क्षेत्रमा नै मूल्यांकन हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया