मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हजार सपनाहरूको माया लागेर आउँछ’

भक्तराज आचार्यलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं– ‘हजार सपनाहरुको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…।’

मंगलबार नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संगीतका सर्जक तथा राजनीतिककर्मीहरुले भजन शिरोमणी भक्तराज आचार्यको यो कालजयी गीत गुनगुनाइरहँदा वातावरण शान्त र संगीतमय बनिरहेको थियो ।

आफ्नै सिर्जनाको धुनमा साक्षी बनिरहका थिए, भजन शिरोमणि आचार्यको भौतिक शरीर । संगीतका अनुरागी, उनका शुभचिन्तक, परिवारजनको आँखामा आचार्यले सोचेका र छोडेका हजार सपनाहरु भावविभोर परिवेशले दिइरहेको थियो ।

छोराहरु सत्यराज र स्वरुपराजको आँखामा आफ्नो बाबु एकैपल्ट ब्युझिदिए हुने भन्ने रहर छचल्किएको थियो । श्रीमती सुशीला त्यही भिडमा घरी टोलाउँथिन् भने घरी भक्कानिन्थिन् । सत्य र स्वरुप बाबुकै सिर्जना गाउँदै अन्तिम विदाइ गरिरहेका थिए ।

उनीहरु गाउँदै गर्दा रोकेर भक्कानिँदा संगीतका सर्जकहरु उनीहरुलाई सम्हालिराखेका थिए । यी सबैमाझ चुपचाप मौन थिए शिरोमणी आचार्य । उनी कहिल्यै नउठ्ने गरी चीर निद्रामा थिए ।

उनै आचार्यको अन्तिम विदाइका लागि प्रतिष्ठानमा मंगलबार बिहान १० बजेदेखि नै राजनीतिक दलका नेतादेखि कलाकारसम्मको भीड लागेको थियो । उपस्थित सबैले आचार्यले नेपाली सुगम संगीत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै समवेदना प्रकट गरे ।

उनको अन्तिम विदाइमा श्रद्धाञ्जली अर्पणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापादेखि कलाकारहरु नीर शाह, गीतकार तथा कवि दिनेश अधिकारी, संगीतकार तथा गायक शम्भूजित बास्कोटा, संगीतकार राजु सिंह, गायिका कुन्ति मोक्तान, अन्जु पन्त, इन्डियन आइडलमाबाट चर्चा बटुलेकी गायिका मेनुका पौडेल लगायतका संगीतकर्मीहरु श्रद्धाञ्जली सभामा उपस्थित थिए ।

सभामा प्रधानमन्त्री दाहालले आचार्यले संगीतमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सम्मान व्यक्त गर्दै दाहालले आचार्यको अमर–अजर कालजयी गीतले लामो समयसम्म उत्प्रेरणा दिइरहने बताए ।

‘भजन शिरोमणी भक्तराज आचार्य हामी माझ हुनुहुन्न, उहाँ जस्तो कालजयी स्रष्टाको निधनले हामी सबै स्तब्ध भएका छौं,’ उनले भने, ‘उहाँको जुन कालजयी गीतहरुले हामीलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ ।’

उनले आचार्यको उपचार र निधनपछि लाग्ने सम्पूर्ण कार्यमा सरकारबाट सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरे । श्रद्धाञ्जली सभामा समवेदना प्रकट गर्दै अध्यक्ष ओलीले आचार्यलाई नेपाली सांगीतिक क्षेत्रका नक्षत्रका रुपमा स्मरण गरे ।

नेपाली संगीतलाई नयाँ आयाम दिन सफल जनस्तरमा लोकप्रिय तथा असाधारण स्रष्टा आचार्यको निधनले निकै दुःखी बनाएको सुनाए ।

वि.सं. १९९९ असोज १६ गते धनकुटामा जन्मिएका आचार्यले नेपाली संगीतलाई निकै ठूलो उचाइमा पुर्‍याए । ‘जति चोट दिन्छौ देउ मायालु’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायत दर्जनौंको संख्यामा भजन गीत गाए ।

उनले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्य जस्तो स्रष्टाको निधन नेपाली संगीतलाई मात्र नभएर देशलाई नै भारी भएको काँग्रेसका महामन्त्री शर्माले सुनाए । यो समयको लागि मात्र नभएर आचार्यले तीन सय वर्षसम्म पुग्ने कालजयी सिर्जना छोडेर गएको बताउँदै शर्माले ‘हजार आँखा हेर्ने’ जस्ता गीतमार्फत् प्रेम गर्नेहरु धेरैको प्रेममा बाँचिरहने धारणा राखे ।

उनले भने, ‘उहाँलाई स्वरमा मात्र नभएर सुरले पनि साथ दियो, उहाँ स्वर र सुर सम्राट पनि हो, उहाँले सत्यस्वरुप जस्ता दुई धरोहर छोराहरुलाई छोडेर जानुभएको छ, उहाँहरुको दुवैको उचाइ सगरमाथा जस्तै बनोस् भन्ने कामना गर्न चाहन्छु ।’

नेपाली संगीतमा जम्माजम्मी १६ वर्ष आचार्यले साधना गरे । २०३० सालदेखि २०४६ साल सम्ममा उनले नेपाली संगीतमा अमूल्य सिर्जनाहरु दिए । ०४६ सालको घटनाले आचार्यको सुरु बन्द भयो । उनको जिब्रो नै काटिएपछि तरल पदार्थको भरमा उनले तीन दशक बिताए ।

‘एकजना गायकले गाउन नपाउँदा कति धेरै पीडा भयो होला । उहाँको गला अवरुद्ध भएपनि सपना त बाँकी थियो । उहाँ त्यसैमा बाँच्नुभयो’, महामन्त्री शर्माले बताए । नेपाली संगीतमा उर्जाशील समयमै बेसुर भएर बस्नुपर्दाको क्षणमा एकजना सर्जकको मनमा परेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने गीतकार तथा कवि अधिकारीले सुनाए ।

आचार्यलाई गीतकारसंघको तर्फबाट अध्यक्ष चेतन सापकोटाले संघको झण्डा ओढेर सम्मान व्यक्त गरे । संघकै पहलमा स्रष्टाहरुको निधनमा सांगीतिक प्रस्तुतिसहित श्रद्धाञ्जली अर्पण सभा गरिँदै आएको छ । प्रतिष्ठानकी कुलपति निशा शर्माले स्रष्टाको मृत्युपछि भन्दा जीवनकालमै राज्यबाट सम्झने काम हुनुपर्ने बताइन् ।

यसका लागि प्रतिष्ठानको तर्फबाट पहल जारी रहने उनले प्रतिवद्धता समेत व्यक्त गरिन् । आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?