काठमाडौँ– अभिनेत्री निशा अधिकारीले आफ्ना पति पूर्वक्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने भएकी छिन् ।
निशाले पतिविरुद्ध हालेको अंश चलनको मुद्दामा काठमाडौँ जिल्ला अदालतले अंश दिलाउने फैसला सुनाएको हो ।
त्यस्तै निशाले अंश नपाउन्जेलसम्म माना चामल वापत शरदले ४१ हजार छुट्याउनुपर्ने फैसलामा उल्लेख छ । निशाले माना चामल वापत एक लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेकी थिइन् ।
निशाले विसं २०७९ साल भदौमा पतिसँग सम्बन्धविच्छेद नगरी छोरा युभान र आफ्नो अंशवापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।
न्यायाधीश शिशिर ढकालको एक इजलासले निशाको सो माग दाबीमा इन्कारी फैसला सुनाएको छ । फैसलामा निशा र युभानले एक–एक भाग पाउने उल्लेख छ । फैसलाअनुसार युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् ।
छोरा युभान आफ्नो एकल संरक्षणमा हुनुपर्ने निशाको माग थियो । तर अदालतले युभान दुवैको संरक्षणमा हुने फैसला सुनाएको छ ।
विभिन्न समयमा अदालतले शरदका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरेको थियो ।
अदालत प्रशासनका अनुसार गत मंसिर २८ गते सो मुद्दाको फैसला भएको हो । मुद्दाको प्रमाणीकरण भने माघ १९ गते भएको पाइन्छ ।
निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् ।
शरद र निशाले २०७४ साल जेठमा प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया