काठमाडौँ– भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको सोमवार ८२ वर्षको उमेरमा निधन भएपछि यतिबेला नेपाली सांगीतिक क्षेत्रमा ठूलो ब्रजपात परेको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।
वि.सं. १९९९ असोज १६ गते धनकुटामा जन्मिएका आचार्यले ४ सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिए । ‘भजन शिरोमणि’को उपाधि पाएका भक्तराजले संगीतका लागि कुनै किसिमको सम्झौता गरेनन् । रेडियो नेपालमा काम गर्दादेखि नै मैले उनलाई धेरै नजिकबाट चिन्ने मौका पाएको थिएँ ।
उनी निकै मेहनती र संगीतमा छुट्टै जादु छर्न सक्ने संगीतकार हुन् । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवन पहिलेको जस्तो सामान्य रहेन । छोटो समयमै उनले गाएका गीतहरू निकै लोकप्रिय भए पनि पछि उनको आवाज नै खोसियो ।
स्वर हराएका भजन शिरोमणि
जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्ने छु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
यस्तै मानवीय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक भजन शिरोमणि भक्तराज आचार्य । यो उनकै कालजयी गीत हो, जुन आज पनि उत्तिकै स्रोताको अनुरोधमा रेडियोबाट बज्ने गर्छ ।
उनले हामीबाट विदा लिइसकेका छन् ।
उनले जीवनमा न कुनै गल्ती गरे, न अपराध । केवल राष्ट्रलाई सयौं बर्ष पुग्ने आधुनिक, भजन, स्वदेश गानहरु गाएका हुन् । त्यति नै सफल संगीतहरु पनि गरे ।
त्यसकै राप ताप सहन गर्न नसक्ने र सफलताको सिँढी उक्लिएको देख्न नचाहने समूहको शिकार बने, आखिर ।
बिडम्बना, कुनै पापी आयो नेपाली संगीतमा, जसले कालजयी र अजम्बरी भनिएको उनको जिब्रो छिनभरमा चुँडेर लग्यो ।
यही कारण वि.सं. २०४६ सालदेखि आजसम्म उनी ठूलो पीडामा बाँचे । उक्त दुर्घटनापछि उनको पेटमा अन्न परेको थिएन । दूध र फलफूलको रसको भरले बाँचिरहेका थिए ।
हिजो उनको गायन शक्तिको राप ताप हुँदा सञ्चार माध्यम र आफ्ना भनिनेहरु घर तथा स्टुडियोमा भेट्न लर्को मारिरहेका हुन्थे । विक्रम सम्बत् २०३० सालदेखि २०४६ सालसम्म केवल १५ बर्षको अन्तरालमा रेडियो नेपालमा गाएका उनका अमर गीतहरुले नै भक्तराज आचार्यले संगीत जगतमा इतिहास लेखाए ।
ती गीत संगीतप्रति अगाध आस्था राख्ने लाखौं संगीतप्रेमीहरुको माया र स्नेहले सांगीतिक उर्जा थपिरहेको छ । नेपाली सङ्गीतका उज्ज्वल तारा उनका सुपुत्रद्वय सत्यराज, स्वरुपराज र प्राण प्यारी श्रीमती सुशिला आचार्यकै न्यानो सामीप्यता, साथ र प्रेमले मात्र आफ्नो जीवन बाँचे ।
भक्तराज आचार्यको जीवन सङ्घर्ष
गायक भक्तराज आचार्यको जन्म वि.सं. १९९९ साल असोज १६ गते धनकुटाको कुरुले तेनुपा गाउँमा माता रेणुका आचार्य तथा पिता बलभद्र आचार्यका पुत्र रत्नका रुपमा भएको थियो ।
उनका दुई सन्तान सत्यराज आचार्य र स्वरुपराज आचार्य हुन् । दुवै नेपाली संगीत क्षेत्रका प्रिय गायक हुन् । दुवै वैवाहिक जीवनमा प्रवेश गरिसकेका छन् । सन्तानका अभिभावक समेत भइसकेका छन् ।
भक्तराज श्रीमती सुशिला आचार्य समेत कुनै बेला रेडियो नेपालकी कर्मचारी थिइन् । भक्तराजले आफ्नो करियर निर्माणको क्रममा इलाहावाद भारतबाट शास्त्रीय सङ्गीतमा ‘संगीत प्रभाकर’ गरेका थिए भने यता आईएसम्मको अध्ययन समेत पूरा गरे ।
वि.सं. २०३१ सालदेखि वि.सं. २०६१ सालसम्म उनी रेडियो नेपालमा गायकका रुपमा नै लामो समय जागीरे जीवन बिताए । यस बीचमा उनी सांगीतिक कार्यक्रमको सिलसिलामा भुटान, चीन, उत्तर कोरिया, वर्मा, युएई, जर्मनी लगायतका देशमा आफ्नो गायन प्रस्तुत गरेका थिए ।
भक्तराज सानै उमेर देखि गीत गाउने गर्दथे । कुनै राम्रो रचना भेटे भने त्यसमा धुन हालेर गीत बनाएर गाउने समेत गर्दथे । तर उनको मनभित्र न गायक बन्ने सपना थियो न त संगीतकार नै । जीवन सङ्घर्ष गर्ने क्रममा भक्तराज भारतको डुवर्स पुगे ।
त्यहाँ साँच्चिकै जीवन सङ्घर्ष गरे । उनले आफू र परिवारको पेट पाल्नका लागि स्थानीय स्टेजहरुमा गीत गाउँथे ।
यत्तिकैमा एक कार्यक्रममा नेपालबाट कार्यक्रम गर्न गएका मणिकरत्न जस्ता दिग्गज गायकको आँखामा परे उनी । मणिकले त्यस्तो आवाज भएको गायक त्योभन्दा अघि कहिल्यै काठमाडौँ बाहिरको भ्रमणमा देखे/भेटेका पनि थिएनन् ।
भक्तराजको आवाज सुन्नेबित्तिकै उनले सीधै दायाँबायाँ नगरी काठमाडौँ आउन निम्तो दिए । आफ्नो आवाजको बारेमा खुलेर नेपाली संगीतका कुनै दिग्गज कलाकारले प्रशंसासँगै काठमाडौँ नै आउने निम्तो गरेपछि भक्तराजमा पनि आत्मविश्वास र साहस जुट्यो । उनी काठमाडौँ आएर रेडियो नेपालमा स्वर परीक्षा दिए र सफलता प्राप्त गरे ।
वि.सं. २०३० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगीतामा संगीतकार अम्बर गुरुङको रचना संगीतमा गाएको ‘होसियार’ बोलको गीतबाट उनले प्रथम उत्कृष्ट गायकको पुरस्कार पाएपछि नै उनको जीवनले कोल्टे फेर्यो ।
त्यसपछिका दिनमा आफ्नो गायन कला, प्रतिभा, क्षमता, अध्ययन र अभ्यासलाई स्तरोन्नति गर्दै यी अजर श्रष्टाले आफ्नो सांगीतिक जीवनको १५ बर्षको अवधि मै ४ सय ५० जति गीत गाए । उनको गायन ख्यातिकै कारण ‘आचार्य’ नामक एक स्तरीय नेपाली चलचित्र समेत निर्माण भई प्रदर्शन भइसकेको छ, जसले धेरैको मन लुट्यो । उनकै जेष्ठ पुत्र सत्यराजले पिता भक्तराजको जीवन अभिनय गरेर धेरैको मन जिते ।
आनीबानी र सांगीतिक स्वभाव
गायक भक्तराज आचार्य एक अत्यन्त सफल र कालजयी संगीतकार पनि मानिन्छन् । उनले संगीत गरेका गीतहरु आम संगीतप्रेमी श्रोतामाझ लोकप्रिय छन् । रेडियो नेपालको श्रोता अनुरोध र फर्माइसी गीति कार्यक्रममा सयौं पटक श्रोताले रोजाइमा सुन्ने गरेका छन् । कतिपय संगीतका नवोदित प्रशिक्षार्थीहरुले तिनै गीत गाएर स्वर परीक्षा दिने गरेका छन् ।
आफ्ना गीतहरु प्राय सबै आफै संगीत गर्ने, त्यसको संगीत संयोजन पनि गर्ने, वाद्यवादकहरूको गीतको इन्टरल्युट, प्रिल्युट र काउन्टर म्युजिक अनुसारका सुहाउँदिला धुनहरु सिर्जना गर्ने , गीतमा प्रयोग हुने कर्ड्सबारे गहन हेक्का राख्ने , सुरताल, लय, मिठास र पकडमा गहिरोगरी ध्यान पुरयाउने गर्दथे उनी । उनको संगीत श्रवण शक्ति यस्तो थियो कि, २४ वटा वाद्य यन्त्र बजिरहेको स्टुडियोमा उनी मग्न भएर गीत गाइरहेका हुन्थे ।
त्यसमा कुनै वाद्यवादकले सानु मात्र नोट तलमाथि गरेमा, छुटेमा, या बेसुर बजाएमा तुरुन्त गाउन रोक्थे र फलानोले नोट मिस गर्यो भन्थे । अर्थात् उनी मन मस्तिष्क र श्रवण शक्ति एकैपटक परिचालित गर्थे ।
यो क्षमता सबै गायकमा हुँदैन । सामान्यतया गीत गाउनेले स्वर ताल लय मिठास मै ध्यान दिन्छन् । उनका कुनै गीतमा आधुनिकता कुनै गीतमा शास्त्रीयता र कुनै गीतमा दुवैको फ्युजन र कुनै गीतमा नयाँ प्रयोग उनका सांगीतिक विशेषता हुन् । उनी प्राय: रेडियो नेपालमा स्वराभ्यास गरिरहेको अवस्थामा भेटिन्थे स्टुडियोमा ।
उनको स्वभिमानी प्रविधिलाई कसै कसैले अभिमानसँग पनि जोडथे तर यथार्थमा उनी संगीतमा कुनै किसिमको सम्झौता नगर्ने स्रष्टा पक्कै थिए ।
उनी सात सुर अलङ्कार गरेर मात्र गायन हुँ भन्नेहरुलाई गायक नै ठान्दैनथे । गायकले १२ वटै सुरमा अलंकार गरेर देखाउनुपर्छ भन्ने गर्थे । उनी संगीतका १२ वटै सुरमा आरोह अवरोह र आलंकारिक टेक्निकहरु प्रस्तुत गरेर समेत आफ्नो गायकी प्रस्तुत गर्थे । उनी पाइन्ट, सर्ट, टोपीमा सजिएर साइकलमा रेडियो नेपाल आउने गर्थे ।
त्यसो त नेपाली संगीतका हस्तीहरु प्राय: सबै साइकलमै रेडियो नेपाल आउने गर्थे त्यसबेला । उनी साधारण भएर पनि केही आनीबानीमा क्लिष्ट थिए । प्रष्ट, निर्भिक, शालीन र शिष्ट बोली व्यवहार थियो उनको । सधैं स्टुडियो साधनामा रमाउँथे उनी ।
उनका छोरा सत्य र स्वरुपका अनुसार पहिले पहिले उनी घरमा पनि दैनिक ४ देखि ६ घण्टा नित्य ‘रियाज’मा नै दिन बिताउने गर्थे भक्तराज ।
उनको संगीतमा एकाङ्कीपन या एकोहोरो प्रवृत्ति मात्र सुनिन्नथ्यो । गीतको कम्पोजिसनमा विविधता, गायन प्रतुति र गायकीमा विविधता, गीतका बीचबीचमा साना तर महत्वपूर्ण धुन निर्माणमा विविधता, टोनिक कर्ड्सको प्रयोजनमा विविधता, रेञ्जमा विविधता र रागमा आधारित गीतको बुनोट र संरचना आधार निर्माणमा समेत विविधता प्रस्तुत गर्न उनी सफल र माहिर थिए ।
यसलाई संगीतमा असाधारण प्रतिभा मानिन्छ, जो भक्तराजको सफलताको राज थियो ।
भजन शिरोमणी भक्तराज
भजन शिरोमणि भक्तराज आचार्य नेपाली संगीतप्रेमी स्रोताबाट अभिनन्दित एवम् सम्मानित व्यक्तित्व हुन् । गायक आचार्यलाई वि.सं. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित गरिएको थियो ।
यो सम्मान त्यसै प्राप्त भएको हैन । उनले आधुनिक तथा भक्ति संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर हो । उनले रेडियो नेपालमा प्रारम्भिक दिनहरु देखि नै भक्ति संगीतको रेकर्डमा विशेष ध्यान पुर्याए । जसको परिणाम नै उनका राम्रा भजनहरु रेकर्ड हुन सकेका हुन् र त्यसले स्रोताको मन मुटु र हृदयमा गहिरो छाप छोडेका छन् ।
आऊ न आऊ कृष्ण (चेतन देव), दुर्गे देउ भक्ति देउ मलाई (खेमराज केशव शरण), तन मन बचनले (पुरुषोत्तम सापकोटा), राम यहीं छन् (राममणि रिसाल), श्रीराम प्रभुको (ठाकुरप्रसाद लुइँटेल), दुर्गे तिमी नै (रुद्रराज आचार्य), सजल सजल यो (राममणी रिसाल), हामी भुलेछौँ (राममणि रिसाल), जब मानव हरि (खेमराज केशवशरण ), ईश्वर प्रभु नै (रुद्रराज शर्मा), भगवान दर्शन कसरी ( खेमराज केशवशरण ), भवसागरमा डुबी (रुद्रराज आचार्य), हे नाथ प्रभु (भैरवनाथ रिमाल) आदि उनका चर्चित भजनहरु हुन् ।
प्रारम्भिक र मध्य चरणका उनले सांगीतिक जीवनको उत्तरार्धमा गाएका भजनहरु झनै लोकप्रिय र मन मनमा बसेका छन् भक्ति संगीत प्रेमीहरुको ।
एकदिन मैले प्रभुसँग सोधेँ (लक्ष्मण लोहनी), मैले प्रभुको दर्शन (पुरुषोत्तम सापकोटा), या देवी सर्वभुतेशु (पुरुषोत्तम सापकोटा), हे कृष्ण आऊ (माधवराज शर्मा), निषदिन प्रभु (अमृत श्रेष्ठ), सब निदाए (कन्चन पुडासैनी), अनन्तदेखि बगी, प्रेम प्रभुको (राममणि रिसाल), यो जीवनलाई (कोइलीदेवी), व्यर्थै जीवन बित्यो), लौन अब (केशव लोहनी), दुर्गे भवानी ( ठाकुरप्रसाद लुईंटेल) ,कति लिन्छौ परीक्षा, (श्यामदाश वैष्णव), न धन त्यागेर (राममान तृषित) लगायतका भजनहरु उनले गाएका भक्ति संगीतमा लोकप्रिय छन् ।
उनले गाएका नब्बे प्रतिशत भजनमा आफैले संगीत भरेका छन् भने बाँकी संगीतकार नातिकाजी, दिव्य खालिङ्ग, हुतराज शर्मा, शिवशंकर, कृष्णनारायण, गणेशप्रसाद, हरिबहादुर, फत्तेमान, कृष्णमान, रत्नमान, प्रेमदास प्रकाशले संगीत भरेका छन् ।
अहिले पनि उनका भजनहरु रेडियो नेपाल लगायतका रेडियो माध्यमहरुबाट हरेक बिहान गुन्जन्छन् ।
गीतकार तथा संगीतकारका रूपमा भक्तराज
गायक भक्तराज आचार्यले आफ्नो गायन करियरको प्रारम्भिक दिनमा गीतकार किरण खरेल, रुद्रराज आचार्य, पुरुषोत्तम सापकोटा, गोपाल योञ्जन, उत्तम नेपाली, देव बज्राचार्य, द्वारिका आचार्य, मीठा पराजुली, उत्तम श्रेष्ठ, रत्नशमशेर थापा, विष्णुप्रसाद घायल, दिव्य खालिङ, माधव मणिराज भण्डारी , ईश्वर बल्लभ, विदुर खड्काका गीतहरुमा स्वर दिएका छन् ।
यीमध्ये उनी आफैले अब भन्नलाई, मलाई प्यार, यो साथ् नछुटोस्, हजार आँखा हेर्ने, बिहानीको शितल, सारा सबै आशा, प्रिय तिम्रो, जति भाग्यमा, तस्वीर उनको, माया मेरी साँझ बनी, मेरो दिल लिएर र मायालु तिमीलाई बोलका गीतहरुमा आफैले संगीत भरेका छन् ।
शुरुवाती चरणका तीन गीत तिम्रा सुखहरु (किरण खरेल), मलाई भेट्न (उत्तम श्रेष्ठ), ढल्किरहेछ जूनको (रत्नशमशेर थापा) मा शिव शंकरले संगीत दिएका हुन् भने ‘मेरो छेउ कोमल’ गोपाल योञ्जनको शब्द तथा संगीत हो ।
‘मैले रुने र तिमी हाँसिदेऊ’ दुई गीतहरु नेपालका प्रसिद्ध एकर्डियन वादक समेत रहेका मदन परियारले संगीत गरेका हुन् भने ‘जस्तो तिमी अजर ‘कल्पना मेरो’ दुई गीतहरु दिव्य खालिङले रचना तथा संगीत भरे ।
यसै गरी ‘कल्पना मेरो’ (माधवमणिराज भण्डारी) मा मदन दीपविम र ‘झरी सके आँशु’ (रुद्रराज आचार्य) मा गायन हस्ती फत्तेमानको संगीत सुन्न सकिन्छ ।
यी गीतहरुले गायक भक्तराज आचार्यलाई नेपाली संगीतको क्षेत्रमा कालजयी गायकका रुपमा स्थापित गरायो ।
नेपाली संगीतमा एक अब्बल गायकको प्रवेश भएको अनुभूति दिलाउन सफल रह्यो । वि.सं. २०३४ सालदेखि २०४० सालसम्म रेडियो नेपालमा रेकर्ड भएका गीतहरुमध्ये उनकै संगीतमा सजिएका कथा मेरो अतीतको, सबै बेहोशी नशा पिएर, एउटा विरह, भुल्ने सकिन त्यो, यो कथा शुरु, सिम्रिकले धोइएको, तिम्रो मनमा, यतिसम्म प्रिती, आँखाका आँसु, सागर छ गहभित्र, मुटु जलिरहेछ उनको सांगीतिक जीवनकै कोशेढुंगा साबित भएका गीत संगीतहरु हुन् ।
यी गीतहरुले उनलाई कालजयी एवं अमर श्रष्टाका रूपमा स्थापित गर्यो । त्यतिबेला उनले अन्य प्रसिद्ध संगीतकारहरु शम्भुजित बास्कोटा, शिवशंकर, प्रकाश गुरुङ, सरोज कार्थक, बुलु मुकारुङ्, नोर्बु छिरिङको संगीतमा पनि आधुनिक गीत रेकर्ड गरेका छन् भने आफ्नै संगीतमा भजन र स्वदेश गान पनि रेकर्ड गरेका छन् ।
त्यसबेला उनले गीतकार किशोरप्रसाद शर्मा, सुवास चन्द्र ढुङ्गेल, रवि प्राञ्जल, वीरेन्द्र पाठक, प्रदीप उपाध्याय, राम कुँवर, बालकृष्ण सजीव, भुषण खरेल, रविन्द्र केसी, ईश्वर बल्लभ, पुरुषोत्तम सापकोटा, मोतीराम भट्ट, परशुराम भट्ट, धनेन्द्र बिमल, अमृत श्रेष्ठ, दिनेश अधिकारी, सरोज कार्थक, विनोद ढकाल, हरिभक्त कटवाल, सरोज कार्थक, भिमनिधी तिवारीका रचनाहरु गाए ।
यसताका अन्य प्रसिद्ध संगीतकारहरुद्वारा संगीत भएका चर्चित गीतहरु पनि गाए उनले । ती गीतहरु– जीवन भन्नु त घात छ (रचना: दिनेश अधिकारी, संगीत : नर्बु छिरिङ), सपनीमा आज मैले (स्व. हरिभक्त कटवाल, संगीत : बुलु मुकारुङ), आँखामा केही (रचना : धनेन्द्र बिमल, संगीत : शिलाबहादुर मोक्तान), मायाको परिवेश (रचना : भुषण खरेल, संगीत : प्रकाश गुरुङ), हिँड्दा हिँड्दै (रचना : प्रदीप उपाध्याय, संगीत : शम्भुजीत बास्कोटा), विश्वास घात (रचना : राम कुँवर, संगीत : चित्र शिकारु), दुई मुटुको माया (रचना: बालकृष्ण सजीव, संगीत: शिवशंकर), कहीँ कतै हराएँ (रचना/संगीत सरोज कार्थक) रहेका छन् ।
मुटु जलिरहेछ, जति चोट, हजार सपनाहरुको, जीवन भन्नु त घात छ, प्रिय तिम्रो, सबै बेहोसी नशा, सागर छ गहभित्र, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बनी, हजार आँखा हेर्ने, किन फेरि माया सम्झी (चलचित्र भाग्य रेखा ), आदि उनका अजम्बरी आधुनिक गीतहरु हुन्, जसले उनको स्वरको गहिराइ र संगीतको पहिचान बोकेको छ ।
कुनै भर्खरै बामे सर्दै गरेको नवोदित गायक होस् या सङ्गीतका उस्तादहरु हुन्, तिनका स्वराभ्यास गर्ने गीत प्राय उनकै सङ्गीतका हुन्छन् अहिले पनि । किनकि उनलाई नेपाली सङ्गीतका नयाँ पुस्ता स्वर – व्याकरणकै रुपमा मान्ने गर्दछन् ।
सफल संगीतकारका रुपमा भक्तराज
यस कालखण्डमा रेकर्ड भएका उनीद्वारा संगीतबद्ध तथा अन्य प्रसिद्ध संगीतकारहरुका संगीतमा सजिएका उनका आवाजहरु अमर र अजर कृति छन् ।
त्यसबेलाको स्वर्णिम युगको समेत प्रतिनिधित्व गर्छन् ती गीतहरुले । यसैगरी वि.सं. २०३५ सालदेखि वि.सं. २०४२ सालसम्म रेडियो नेपालमा रेकर्ड भएका उनका गीतहरु सुन्दा जो कोहीलाई लाग्छ– गायनमा जत्तिकै सशक्त हुन् भक्तराज संगीतकारका रुपमा पनि ।
उनका संगीत एकपछि अर्को लोकप्रिय बनेका छन् अहिलेको समयमा पनि । केही शास्त्रीयता, केही आधुनिकता अनि केही मौलिकपन यिनको विशेषता नै रह्यो संगीतमा ।
त्यसताका उनले आफ्नै संगीतमा गाएका गीतहरु– ‘मेरो गीतहरु’ (आफ्नै रचना), मैले काँडाहरुसँग (द्वारिकानाथ खनाल), कोही नगरोस् प्रेम (विरेन्द्र पाठक), आफ्नो भन्नु (उत्तम श्रेष्ठ), झरना तिमी नझरी (आफ्नै रचना), मेरो साधनाको (पुरुषोत्तम सापकोटा), मलाई जीवन चाहिन्छ (नकुल काजी), पिर्न पो थाल्यो (दिनकर प्रधान), यो जोवन तिम्रै हो (रविराज भण्डारी), नेपाल हाम्रो रखबारी (उपेन्द्रराज प्रेमी), जहाँ रहेनी (रुद्रराज आचार्य) ले नेपाली संगीतको क्षेत्रमा बेग्लै स्वाद सन्तुष्टि र मानक समेत निर्माण गर्यो ।
गीती भावमा शुद्धता, शब्दोच्चारणमा शुद्धता, सुर, ताल, लय, गमक, मिड, मुर्छना, मुर्की र मिठासमा बलियो पकड र प्रस्तुतिमा विशेष दख्खलसहितको प्रभाव सिर्जना गर्न गायक भक्तराज आचार्य जति सफल रहे त्यति नै उनका गीतहरु बेग्लै परिस्कारका साथ आम स्रोतामाझ सफल रहे ।
त्यसताका गायक भक्तराज आचार्यले संगीत प्रविण नरराज ढकाल, अम्बर गुरुङ, विष्णुप्रसाद घायल, किरण खरेल, रत्नसमशेर थापा, कन्चन पुडासैनी, नीर विक्रम प्यासी, विश्व बल्लभ, बुद्धबिर लामा, द्वारिकानाथ घायल, वीरेन्द्र पाठक, नकुल काजी, दिनकर प्रधान, रविराज भण्डारी, केशव प्रधान, उपेन्द्रराज प्रेमीका शब्दहरुमा आफ्ना ससक्त आधुनिक सुगम गीतहरु रेकर्ड गरेका थिए ।
गायक आचार्यका आवाजमा राष्ट्रियभावका स्वदेशगानहरु समेत निकै लोकप्रिय छन् नेपाली संगीतमा । जहाँ छन् बुद्धका आँखा (डा. बमबहादुर जिताली, संगीत: गायक स्वयम्), जन्मेका हामी नेपाली (नीर विक्रम प्यासी, सुमनकुमार नेपाली), हामी देशको लागि (रचना: विश्व बल्लभ, संगीत: शिवशंकर), नेपाल हाम्रो रखबारी (रचना: उपेन्द्रराज प्रेमी, संगीत: गायक स्वयम् ), जहाँ रहेनी ( रचना: रुद्रराज आचार्य, संगीत : गायक आफै), होशियार यसबखत (रचना, संगीत- अम्बर गुरुङ) उनका चर्चित स्वदेश गानहरु हुन् ।
राष्ट्रभक्तिको भाव जगाउन नेपाली संगीतमा यी स्वदेश गानहरु सफल छन् ।
सङ्ख्यात्मकभन्दा गुणात्मक कृतिमा जोड
गायक भक्तराज आचार्यले सङ्ख्यात्मकभन्दा गुणात्मक कृति निर्माणमा जोड दिए । धेरै सिर्जना गरेर पछुताउनुभन्दा थोरै स्तरीय गरेर गौरव गर्नु जाती हुन्छ भन्ने भक्तराजले म्युजिक नेपालबाट समर्पण भाग १ र २ प्रकाशित गरे ।
जुन गीतहरुले म्युजिक नेपालको सेल्स रेकर्डमा पनि राम्रो स्थान बनाए । यस्तै ‘हजार सपनाहरुको’ सिडी एल्बम पनि उत्तिकै स्रोताको रोजाइमा परेको उनको चर्चित एल्बम हो ।
यसपछि उनले भजन संग्रह ‘समर्पण’ प्रकाशन गरे । भक्ति संगीतमा यस एल्बमको उत्तिकै योगदान छ । त्यसो त उनका मूल कृति भनेकै रेडियो नेपालमा लाईभ रुपमा रेकर्ड भएका गीत संगीतहरु हुन् । जुन वि.सं. २०३० सालदेखि वि.सं. २०४६ सालसम्म उनले अनवरत रूपमा रेडियो नेपालमा रेकर्ड गरे ।
भजन, आधुनिक गीत, स्वदेश गान, बालगीत, चलचित्रको पार्श्व गायन गरी ४ सय ५१ भन्दा बढी गीतहरु उनले रेकर्ड गरे । यिनै अजर अमर र कालजयी कृतिको परिणाम नै उनी नेपाली सांगीतिक आकाशमा उज्ज्वल दीप बनेर चम्किरहने छन् ।
उनका यी ४ सय ५१ कालजयी कृतिहरुमा ४ सय २५ वटामा उनि आफैले संगीत समेत भरे । यही कारण आफ्ना कृति आफै गाएर लोकप्रिय बन्ने श्रष्टाहरुमा अम्बर गुरुङ, नारायणगोपाल, गोपाल योञ्जन, बच्चु कैलाशसँगै यिनको नाम पनि अग्र पङ्तिमा आउने गर्दछ ।
त्यसो त भक्तराज एक सफल गीतकार पनि थिए । उनीद्वारा रचित गीतहरु यस लेखमै समाविष्ट भइसकेका छन् । यस बीचमा उनले म्युजिक नेपालबाटै गीती क्यासेट, ‘भक्तराज आचार्यका आधुनिक गीतहरु’ सिडी तथा क्यासेटका रुपमा ‘जहाँ छन् बुद्धका आँखा’, भजन संग्रह क्यासेट सिडी ‘भगवान’ समेत प्रकाशन गरे । आज पनि भक्ति संगीतमा यी भजनहरुको लोकप्रियता उतिकै छ ।
पिताका सम्बन्धमा छोरा सत्य- स्वरुप
गायक पिता भक्तराजको मार्गदर्शन पहिल्याउँदै सुपुत्रद्वय सत्यराज र स्वरुपराज नेपाली संगीतको क्षेत्रमा उदाहरणीय गायकका रुपमा चम्किरहेका छन् ।
पिताप्रति उनीहरुमा जति गहिरो जिम्मेवारी छ । पिताले जीवनभर पाएको दु:खलाई पनि उनीहरूले नजिकबाट नियालेका छन् ।
पिताका बारेमा उनीहरू भन्थे– एउटा खुल्ला जङ्गलमा निसङ्को र निस्फिक्री गर्जिरहेको सिंह यतिबेला साँघुरो चिडियाखानामा कैद भएर बसेको छ, आवाज समेत निकाल्न नसक्ने अवस्थामा पुगेको छ, तर ऊ सिंह त सिंह नै हो कहिलै स्याल हुन सक्दैन, बुवा हामीलाई संगीतबारे विचार मन्थन हुँदा भनिरहनु हुन्थ्यो संगीत र मेरो सम्बन्ध पानी र माछा जस्तै छ भनेर, अब कल्पना गर्नुस्, पानीविना माछा कसरी बाँचेको होला?
मेरो नजरमा भक्तराज आचार्य
वि.सं. २०४३ सालमा रेडियो नेपाल प्रवेश गर्दादेखि नै मैले उनलाई एक सबल, सफल र विलक्षण प्रतिभा भएका गायकको रुपमा राम्ररी चिन्ने अवसर पाएँ ।
त्यसपछि नै रेडियो नेपालमा रेकर्ड भएका उनका लोकप्रिय गीतहरुमा मेन्डोलिन वाद्य वादनमा साथ दिने क्रममा उनको अद्वितीय गायन कलासँग साक्षात्कार हुने अवसर पाएँ ।
मलाई सम्झना छ– जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बनी, माया तिम्लाई कै भन्न मन लाग्छ, जीवन भन्नु त घात छ लगायत ४ दर्जन गीतहरुमा मेन्डोलिन धुनहरु सजाएको छु ।
ती धुनहरु आज पनि उनका कालजयी आवाजहरु सँगै भुन्भुनाउँदै गुञ्जन्छन् गीतमा ।
उनी गायनमा असक्त र अस्वस्थ भएपछि नारायणगढमा दिनेश सुब्बा लगायत हामीले ‘भक्तराज आचार्य विविध सांस्कृतिक कार्यक्रम’ गरेर केही आर्थिक सहयोग सोही स्टेजमा छोरा सत्यराजको हातमा हस्तान्तरण गरेको पनि मलाई सम्झना छ ।
भारतको सिलिगुरीमा ‘भक्तराज आचार्य–नारायणगोपाल स्वर्णिम सन्ध्या’मा स्टेजमा उनका गीतमा मेन्डोलिनमा साथ दिएको छु ।
जहाँ नारायणगोपाल जस्ता लोकप्रिय गायकले दश वटा गीत गाउँदा उनले १० वटा आफ्ना अजम्बरी गीत गाइसकेपछि केही बंगाली दर्शकहरुको अनुरोधमा दुईवटा हिन्दी गजल समेत गाएर छुट्टै क्षमता प्रदर्शन गरेको पनि सम्झन्छु ।
तर अन्तिम गीत ‘माया मेरी साँझ बनी’ गाउँदा गाउँदै डुवर्समा आफ्नी प्राणप्यारी आमाको निधन भएको खबर प्राप्त भएको त्यो अनौठो संयोग पनि सम्झन्छु । सोही स्टेजमै उनले बजाउँदै गरेको हार्मोनियममा आँसु खसालेका थिए । उनीसँगै दर्शकहरुले पनि आँसु खसाल्न बाध्य भएको त्यो पल, स्थिति भावविह्वल बनेको त्यो क्षण पनि सम्झन्छु ।
दर्शकको तर्फबाट एक मिनेट मौनधारण समेत गरी श्रद्धाञ्जली अर्पण गरिएको त्यो क्षणमा ।
हामी संगीतकार भुपेन्द्र रायमाझी, म, शिशिर क्षेत्री र गायिका लोचन भट्टराईसँगै नारायणगोपालले शिर झुकाएर श्रद्धा सम्मान अर्पण गरेको त्यो मर्मश्पर्शी पल अहिले पनि मेरो आँखै अगाडि नाचिरहेको छ । कार्यक्रम अघि र पछि त्यहाँ उनीप्रति ‘फिदा’ उनका शुभचिन्तकहरुको पागलपन देखेको छु ।
भक्तराज आचार्यको स्वरको जादुले मानिसको मुटु हल्लाएको पनि अनुभूत गरेको छु । रेडियो नेपालमा लामो समय संगत गर्ने अवसर पनि पाएको छु । समग्रमा भन्नुपर्दा भजन शिरोमणी भक्तराज आचार्यलाई संगीत शिरोमणि उपाधि नै राज्यले दिनुपर्थ्यो । जोसँग शास्त्रीय-आधुनिक गायन कला थियो र जोसँग संगीतका १२ वटै नोट प्रयोग गरेर जादुगरी गायन प्रस्तुत गर्ने क्षमता थियो ।
उनको स्वरको गुञ्जन, कम्पन र मार्मिकताको अति सुन्दर संयोजन पनि थियो । उनको शब्द उच्चारणमा विशिष्ठता र सुस्पष्टता पनि थियो । उनीसँग गायन मात्र हैन, संगीतको विविधता पनि थियो । उनले गाएका स्वदेश गान, भजन गायन र अन्यमा पनि लोकप्रिय र सुप्रसिद्ध छन् ।
उनको कर्ड्स कम्पोजिसनमा विशेष दख्खल थियो भने शून्यबाट उठेर शिखर चुमेको जीवन संघर्षको कथा पनि उनको थियो ।
वास्तवमा नेपाली संगीतले यस्ता स्वर्णिम र कालजयी व्यक्तित्व पाउन धेरै वर्ष लाग्नेछ ।
गायक भक्तराजलाई जसले शारीरिक रुपमा यो अवस्थामा ल्याइ पुर्यायो, ती भने इतिहासबाट कैले नउठ्ने गरी नामेट भैसकेका छन् । जसले उनको आवाज चाहेको थिएनन्, भक्तकै स्वर र सुरले रेटिएर मर्नेछन् । तर उनी अझै आफ्नो कलाका माध्यमबाट हजार वर्ष यसै गरी बाँच्नेछन् । आखिर उनका दुई पुत्र सत्य–स्वरुपले पनि गर्विलो ढंगबाट पिताको बिँडो थामेकै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया