मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: अम्बर गुरुङको जन्म जयन्ती

नेपाली सांगीतिक फाँटका अजर ‘अम्बर’

दार्जिलिङ बस्दै आएका अम्बरलाई जब राजा महेन्द्रले नेपाल ल्याए...

काठमाडौँ– नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङको भौतिक शरीर हामीमाझ भएको भए उनी अहिले ८६ औं वसन्तमा लाग्थे । नेपाली संगीतलाई बेग्लै उचाइ दिएका संगीतका हस्ती गुरुङको भौतिक शरीरले झण्डै आठ वर्षअघि नै धर्ती छोडिसकेको छ ।

उनको वि.सं.२०७३ (७ जुन २०१६) मा काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । पुर्ख्यौली थलो गोरखा जिल्लाको रिसिङमा भए पनि हजुरबुवा र बुवा भारतीय सेनामा भएका कारण वि.सं. १९९४ (सन् १९३८) मा भारतको दार्जिलिङस्थित मिलिङ कमानमा उनको जन्म भएको थियो ।

जन्मथलो भारत भए पनि कर्मथलो भने उनले नेपाललाई नै बनाए । नेपालमा बसेर उनले नेपाली संगीतको उत्थान मात्र होइन, यसको नयाँ गोरेटो र यसमा हिँड्ने संगीतका नयाँ पुस्तालाई जन्माएर हिँडाउने काम गरे । उनले कैयन् कालजयी गीतमा संगीत भरेर नेपाली सांगीतिक इतिहासलाई उँचो बनाएका छन् ।

गुरुङ संगीतकारको परिचयमा मात्र सीमित छैनन् उनले चित्रकार, कवि, गीतकार र लेखकको परिचय पनि बनाएका छन् । साथै गुरुङ नेपाली भाषा साहित्यका एक साधक पनि हुन् ।

आज फागुन १४ अर्थात् फेब्रुअरी २६ मा गुरुङको ८६ औं जन्मजयन्ती हो । नेपाली संगीतमा उनले पुर्‍याएको योगदानको कदर गर्दै संगीत क्षेत्रका सर्जकहरुले उनको ८६ औं जन्मजयन्ती मनाउँदै छन् ।

संगीतकार राजकुमार श्रेष्ठको समूहले ‘अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा’ मार्फत् अर्केष्ट्राको धुनमा ‘अम्बर’का सिर्जनाहरुलाई प्रस्तुत गर्दै उनको जन्म जयन्ती मनाउँदैछन् । कलंकीस्थित एल. आर.आइ.विद्यालयमा आज हुँदै गरेको कार्यक्रमलाई तलेजु धनकुमारी कोषले आयोजना गरेको हो ।

त्यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका पहिलो कुलपतिसमेत रहेका गुरुङको स्मरण गर्दै जन्मजयन्ती मनाउँदैछ । संगीतकार श्रेष्ठ गुरुङका संगीत चेला पनि हुन् । आफ्नो गुरु तथा संगीत क्षेत्रका हस्तीका रुपमा स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिरहेको श्रेष्ठले जोय नेपालसँगको कुराकानीमा बताए ।

नेपाली संगीतलाई आधुनिक मोडमा गुरुङले ल्याए । त्यसैमा अर्केष्ट्रा संगीतलाई फैलाउने उनको सपना रहेको उनका चेलाहरु आभास र राजकुमार श्रेष्ठलगायतलाई उतिबेला नै भान हुन्थ्यो । गुरुङकै सपना स्वरुप श्रेष्ठ अर्केष्ट्रा धुनमा गुरुको जन्मोत्सव बनाउँदै आइरहेका छन् । नेपालमा अर्केष्ट्रा संगीतको विकास र विस्तारमा उनी ५० को दशकदेखि लागि परेका छन् ।

श्रेष्ठ ०४२ देखि गुरुङका चेला भए । सिक्दै जाँदा गुरुङले श्रेष्ठलाई नै भ्वाइलिनको जिम्मा दिएका थिए । ‘गुरुले त्यतिबेला नेपालमा अर्केष्ट्रा संगीतको विकास गर्छु नै भनेर त भन्नुभएन तर उहाँको सपना छ भन्ने चाहीँ देखिन्थ्यो’, उनले भने, ‘त्यतिबेला सिक्ने मान्छे र सिकाउन सक्ने सम्भावना पनि नदेखेर नभन्नुभएको होला ।’

उनी २०५० सालतिर नै गुरुको आग्रहमा भ्वाइलिन खरिदका लागि कलकत्ता पुगेका थिए । त्यहाँबाट दुई वटा भ्याइलिन ल्याएर २०५२ सालदेखि नै बालमन्दिरका कालबालिकाहरुलाई प्रशिक्षण दिन शुरु गरिएको थियो । २०७१ सालदेखि नै चक्रपथस्थित नारायणगोपाल निवासमै बसेर श्रेष्ठले अर्केष्ट्रा संगीत प्रशिक्षण दिँदै आइरहेका छन् । सन् २०१४ मा श्रेष्ठले अर्केस्ट्रा च्याम्बरको स्थापना गरेका हुन् । यसलाई उनी गुरुसँगै नारायण गोपालको सपनाका रुपमा लिन्छन् ।

संगीत भनेको मनोरञ्जन मात्र होइन, आत्मारञ्जन पनि हो भन्ने ज्ञान श्रेष्ठले गुरुबाट नै सिके । संगीतले बाहिर व्यक्तिलाई छुनु–नछुन अलग कुरा हुन्, तर सर्जक आफैंलाई भने पहिला छुनुपर्छ भन्ने गुरुङको मान्यता रहेको श्रेष्ठ स्मरण गर्छन् ।

संगीतलाई दर्शन र व्यक्तिको भावना र शब्द उतार्ने माध्यकका रुपमा लिने संगीतका अथक साधकका रुपमा उनी गुरु गुरुङलाई सम्झन्छन् । उनले सम्झे, ‘संगीतलाई बुझ्न साहित्य पढ्नुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो । संगीतको धुन कानमा गुञ्जिएर सुनिन छोड्ने बित्तिकै आत्मामा पुग्नुपर्छ भन्ने कुरा उहाँ सुनाइरहनुहुन्थ्यो ।’

वि.सं.२०१६ मा ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता गीत कलकत्तामा तयार गरेका गुरुङ त्यतिबेला नै दार्जिलिङका नेपाली भाषी संगीत सर्जकका रुपमा चिनिएका थिए । दार्जिलिङमा नेपाली प्रवासी भएर भोग्नु परेको पीडा र देशभक्तिका भावना उनले आफ्नो सिर्जनामा उतारेका थिए ।

कवि अगमसिंह गिरीले रचनामा रहेको गीत ‘नौ लाख तारा उदाए’ मा संगीत भरेर अझै उनले राष्ट्रभक्ति र क्रान्तिकारी भावना जगाए । दार्जिलिङमा भाषाको आन्दोलन चलिरहेको तीनताका यो गीतले दार्जिलिङबासी नेपालीलाई जगाउने काम गरेको थियो । भारतको अल इन्डिया रेडियोले प्रतिबन्ध लगाइदिएको यही गीत नेपालमा पनि गुञ्जिन थालिसकेको थियो ।

वि.सं. २०२४ मा राजा महेन्द्रले नेपाल ल्याएका उनी २०२६ सालदेखि नेपालमै बसे । उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकका रुपमा लामो समय जागिरे भए । पछि २०६२/०६३ को जनआन्दोलनपछि बनेको नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुसार तीन प्रतिष्ठानहरु (नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान) गठन भएर संगीत नाट्यमा गुरुङ पहिलो कुलपतिका रुपमा नियुक्त भएका थिए । उनको पछिल्लो अमर र अजर सिर्जना राष्ट्र गानको धुन बन्यो । राष्ट्र गान ‘सयौँ थुङ्गा फूलका हामी’मा उनले संगीत भरेका हुन् ।

नेपाली संगीतमा महान हस्तीहरुको लहरमा संगीतकार गुरुङको नाम सांगीतिक फाँट र इतिहासमा सधैं अटल रहने संगीतककार सुरेश अधिकारी सुनाउँछन् । नेपाली मौलिक संगीतलाई पश्चिमा शैलीमा ढालेर नयाँ आयाम दिने काम गुरुङले गरेको अधिकारीको मत छ । उनले भने,‘नेपाली संगीतलाई देख्ने गरी सतहमा अम्बर गुरुङले ल्याउनुभयो । नेपाली आधुनिक संगीतमा उहाँको योगदान विशेष छ ।’ नेपाली संगीतमा तीन वटा चुलीहरुमा अम्बर गुरुङ, गोपाल योञ्जन र नातीकाजीका रुपमा राख्न सकिने उनले सुनाए ।

राजा महेन्द्रले नेपाल ल्याएपछि गुरुङलाई प्रज्ञा प्रतिष्ठानमा जागिरे बनाएर सजाउने काम गरे भनेर संगीत क्षेत्रकै सर्जकहरुको यदाकदा गुनासो सुनिन्छ । संगीत–नाट्यमा कुलपतिकै रुपमा खडा भएपनि उनले आफ्नो अर्केष्ट्राको सपना पूरा गर्न सकेनन् । राष्ट्र गानमा धुन भरेपछि ‘राष्ट्र गायक’को सम्मान पाउने उनको अर्काे सपना थियो ।

त्यो सपना पनि अधुरै छोडेर उनी सधैंका लागि बिदा भए । राष्ट्र गानमा एकल संगीतकार र प्रतिष्ठानको कुलपतिकै पद दिएर पनि गुरुङको सम्मान राज्यले गरेको अधिकारीको ठम्याइ छ । नेपाली संगीत क्षेत्रले गुरुङको योगदानको कदर र सम्मान गरिरहेको उनी सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?