मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरिक्ष दौड

चन्द्रमा मिसन: यी हुन् सफलताका साथ यान अवतरण गर्ने देश, को कहिले पुगे ?

काठमाडौँ– केही दशकयता विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास भएसँगै पृथ्वीदेखि अन्तरिक्षसम्मका रहस्यमय खोज तथा अनुसन्धानहरू भइरहेका छन् । ब्रम्हाण्ड र यससँग सम्बन्धित नयाँ रहस्य पत्ता लगाउन खगोलशास्त्री र वैज्ञानिकहरु लामो समयदेखि अध्ययनमा जुटेका छन् ।

वैज्ञानिकहरुले पृथ्वी नै जोखिममा पर्न सक्ने भन्दै पृथ्वीजस्तै मानव जीवन बस्न सक्ने अर्को ग्रहको खोजी थालिसकेका छन्, जहाँ पृथ्वीजस्तै मानव तथा अन्य जीवजन्तुलाई बसोवासका लागि उपयुक्त वातावरण होस् ।

यसका लागि विभिन्न देशहरुले ब्रह्माण्ड र आकाशीय पिण्डको अध्ययन गर्न अन्तरिक्ष अभियान सञ्चालन गर्दै आएका छन् । विश्वका शक्तिशाली राष्ट्रबीच अन्तरिक्ष अभियान सञ्चालन गर्ने प्रतिस्पर्धाको शुरुवात भने शीत युद्धको समयमा भएको हो ।

सन् १९५० को दशकदेखि अमेरिका र सोभियत संघबीच शुरु भएको अन्तरिक्ष दौड शीत युद्धको समाप्तिसँगै सकियो । यद्यपि अन्तरिक्ष दौड सकिए पनि अन्तरिक्षमा विभिन्न खोज अनुसन्धान गर्नका लागि यान पठाउने क्रम भने अझै रोकिएको छैन ।

सन् १९५७ अक्टोबर ४ मा सोभियत संघले पहिलोपटक मानवरहित अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेपछि विश्वमा अन्तरिक्ष दौडको प्रतिस्पर्धा शुरु भएको मानिन्छ ।

सोभियत अन्तरिक्ष निकायले ४ अक्टोबर १९५७ मा स्पुत्निक १ नामक कृत्रिम भू–उपग्रह पहिलो पटक पृथ्वीको कक्षतर्फ प्रक्षेपण गरेको थियो । ब्याट्रीबाट सञ्चालन हुने गरी निर्माण गरिएको यस उपग्रहले तीन हप्तासम्म पृथ्वीमा रेडियो सिग्नल पठाएको थियो । सोभियत संघले अन्तरिक्षमा कृत्रिम भू–उपग्रह पठाएपछि सन् १९५८ जनवरी ३१ मा अमेरिकाले पनि एक्सप्लोरर १ नामक उपग्रह प्रक्षेपण गर्‍यो ।

पछि तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले अन्तरिक्षसम्बन्धी शोध तथा अनुसन्धान गर्न २९ जुलाई १९५८ मा अमेरिकी अन्तरिक्ष संस्था नासाको स्थापना गरे ।

सन् १९७० को दशकसम्म अन्तरिक्ष होडमा रहेका अमेरिका र सोभियत संघले अन्तरिक्षको क्षेत्रमा सहकार्य गर्न शुरु गरे । जसको परिणामस्वरुप सन्  १९९८ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (इन्टरनेसनल स्पेस स्टेशन) नै निर्माण गरियो ।

शीत युद्धको अन्त्यसँगै सकिएको अन्तरिक्ष दौड पछिल्ला केही वर्षयता फेरि चर्किन थालेको छ । दोस्रो चरणको अन्तरिक्ष दौडमा भने अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन बनेको छ ।

चन्द्रमामा हालसम्म कुन कुन देश पुगे?

मानव जातिले ब्रम्हाण्डलाई अनुसन्धानको विषय बनाएदेखि नै चन्द्रमाको अध्ययन हुँदै आएको छ । मानव सभ्यता स्थापना भएदेखि नै प्रायः सबै संस्कृतिमा चन्द्रमालाई पूजा गरिँदै आएको छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको आकाशीय पिण्ड भएकाले पनि यो वैज्ञानिकहरूको खोज तथा अनुसन्धानको केन्द्र बनेको हो । विभिन्न देशहरुले आफ्ना अन्तरिक्ष यानलाई चन्द्रमाको सतहमा सफल अवतरण गराउने प्रयास गरे पनि हालसम्म विश्वका पाँच राष्ट्रले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।

तत्कालीन सोभियत संघ (रुस)

चन्द्रमाको सतहमा पहिलोपटक सोभियत सङ्घले सन् १९६६ मा लुना—२ नामक चन्द्रयान अवतरण गराएको थियो । १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले चन्द्रमाको सतहमा अवतरण गराएको लुना—२ यान नै चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने पहिलो यान हो ।

यस्तै तत्कालीन सोभियत संघले सन् १९७६ मा लुना–२४ मिसन चन्द्रमामा पुर्‍याएको र उक्त यानले चन्द्रमाबाट करीब १ सय ७० ग्राम माटो लिएर सुरक्षित ढङ्गले पृथ्वीमा फर्किएको दाबीसमेत गरेको छ ।

संयुक्त राज्य अमेरिका

सन् १९६१ मे २५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले एक कार्यक्रलाई सम्बोधन गर्दै दशकको अन्त्य हुनुअघि एक अमेरिकीलाई सुरक्षित रूपमा चन्द्रमामा पठाउने र पुन: पृथ्वीमा फिर्ता ल्याउने दृष्टिकोण प्रस्तुत गरे ।

राष्ट्रपति केनेडीको उक्त दृष्टिकोणले नासाको ठूलो प्राविधिक क्षमताहरू विकास गर्न उत्प्रेरित गरेको मानिन्छ ।

केनेडीले भाषण गरेको आठ वर्षपछि, सन् १९६९ जुलाई २० मा नासाको अपोलो कार्यक्रमअन्तर्गत नील आर्मस्ट्रङ र एड्विन एल्ड्रिन चन्द्रमामा पाइला राख्ने पहिलो मानव बन्न सफल भए । कतिपयले भने अझै पनि अमेरिकाले चन्द्रमा मानिस पठाएको कुरालाई ‘मिथ्या प्रचारवाजी’ भन्दै स्वीकार गर्न सकेका छैनन् ।

चीन

सूचना प्रविधिको विकास तथा खोज अनुसन्धानको क्षेत्रमा आफ्नो छुट्टै इतिहास रच्न सफल भएको देशमा चीन पनि पर्छ । रुस र अमेरिकापछि चीनले पनि अन्तरिक्षमा ‘स्वर्गको दरबार’ नाम दिइएको अन्तरिक्ष स्टेशन समेत निर्माण गरिरहेको छ ।

जहाँ उसले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्षयात्रीहरु ओराल्ने लक्ष्य लिएको छ । चीन मात्रै एउटा यस्तो देश हो, जसका सबै चन्द्रमा मिसन सफल भएका छन् । चीनभन्दा पहिला अमेरिका र सोभियत युनियन मात्र चन्द्रमामा पुग्न सफल भएका थिए ।

चीनले चाङए–३ नामक आफ्नो चन्द्र यानलाई चन्द्रमामा सफल अवतरण गराएको हो । यसमा सोलारबाट चल्ने जेड रोबोट जडान गरिएको थियो ।

यस्तै २०१९ को प्रारम्भमा पनि चीनले चन्द्र अभियान चाङए ४ को ‘ल्याण्डर’ र ‘यन्त्र मानव’ चन्द्रमामा सफलतापूर्वक अवतरण गराइसकेको छ ।

भारत

भारत पनि पछिल्लो समय अनवरत रुपमा विना विश्राम अन्तरिक्षको दौडमा दौडिरहेको छ । अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यान सफल अवतरण गराउने देशहरुमध्ये विश्वमा चौथो र दक्षिण एसियामा पहिलो देश बनेको छ ।

भारतीय अनुसन्धान संगठन ‘इसरो’ ले प्रक्षेपण गरेको चन्द्रयान–३ नामक अन्तरिक्ष यान सन् २०२३, अगस्त २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गराएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गराउने यो विश्वकै पहिलो देश पनि हो । इसरोले यसअघि पनि चन्द्रमामा यान पठाउने प्रयास गरे पनि ती मिसनहरु सफल हुन सकेका थिएनन् ।

जापान

जापान चन्द्रमामा आफ्नो अन्तरिक्षयान सफल अवतरण गराउनेमध्ये विश्वको पाचौँ मुलुक हो । जापानले एक महिनाअघि अर्थात् १९ जनवरीमा चन्द्रमामा आफ्नो यान सफल अवतरण गराएको थियो ।

सन् २०२३ सेप्टेम्बर ६ मा तांगेशिमा स्पेस सेन्टर बाट प्रक्षेपण गरिएको यो यानको नाम (स्र्माट ल्याण्डर फर इन्भेष्टिगेसन मुन) ‘स्लिम’ राखिएको छ । जापानको यो मिसनले चन्द्रमामा रहेका चट्टानहरुको अध्ययन गर्ने जनाइएको छ । जापानले यसअघि पनि चन्द्रमामा यान पठाउने धरै प्रयासहरु गरेको थियो तर पनि सफल भने हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?