भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी

काठमाडौं- भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ ।

भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी-२०८० को आयोजना गर्ने जानकारी दिएको हो ।

समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताए ।

भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका फोटो प्रदर्शन गरिने भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?