मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लेखक डा पुरण राईका पाँच कृति लोकार्पण

काठमाडौं- लेखक डा पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरे ।

सोही कार्यक्रममा डा राईका अन्य कृतिहरु कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ पनि लोकार्पण गरियो ।

मन्त्री किरातीले लेखक डा राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गरे । “नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन् । लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए ।

अनलाइन अभिलेख प्रालिद्वारा प्रकाशित उक्त कृतिमा प्रा डा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा भक्त राईले समालोचना गरे । नेपाल एयरलाइन्समा कार्यरत लेखक डा राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?