मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिउँमा खेल्दै पढ्दै

काठमाडौं- मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ । विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए ।

उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उनले भने, “एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।” उनले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिए । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशङ्कर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उनको भनाइ छ ।

यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताए । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् । यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताए । उनले भने “एसइई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।”

जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उनले बताए । प्रधानाध्यापक पन्थीले भने, “आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेषरुपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।”

वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताए । एसइईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?