काठमाडौँ– काठमाडौंको बुढानीलकण्ठ चुनिखेलस्थित ‘बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव’को शुक्रवार भव्य रुपमा उद्घाटन गरियो । उद्घाटन समारोहमा नगरका १३ वटा वडाका स्थानीय जनप्रतिनिधिहरु मञ्चमा उभिए ।
मञ्चमा जनप्रतिनिधिहरुले मौलिक पहिरनसहित प्रदर्शन, र्याम्प वाक, नृत्यका साथ दुवै हात माथितिर उठाउँदै दर्शकदीर्घालाई अभिवादन गरे ।
झट्ट हेर्दा महोत्सव अन्तर्गत उद्घाटनको यो दृश्य कुनै फेसन ‘शो’ भन्दा नौलो थिएन । यो सबै चलिरहँदा साहित्यका दिग्गज स्रष्टा झमक घिमिरे दर्शकबाट छेलिएकी थिइन् । ह्वील चियरमा बसेकी उनलाई छेकिने गरी अगाडि जनप्रतिनिधिहरु ‘मोडल’का रुपमा उभिएका थिए ।
महोत्सवमा सहभागी कलाका स्रष्टाहरु र कलाप्रेमीहरुले भने दर्शकदीर्घातिरबाट जनप्रतिनिधिहरुको हौसला स्वरुप ताली पिटेर स्यागत गरे ।
आसनग्रहण, फूलमाला, ब्याच वितरण जस्ता परम्परागत कार्यक्रम उद्घाटनको शैलीलाई तोडेर महोत्सवमा जनप्रतिनिधिहरुले र्याम्प नै हिँडेर दर्शकदीर्घालाई अभिवादन गरेको शायद पहिलो अभ्यास नै होला । आयोजक बुढानीलकण्ठ नगरपालिकाको अनुसार पनि महोत्सवले नौलो अभ्यासको शुरुवात गरेको हो ।
पछिल्लो समय केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्म देखिएका साहित्यिक महोत्सवमा साहित्यकारलाई भन्दा राजनीतिक दलका नेतालाई प्राथमिकतामा राखिएका दृश्यहरु देखिन्छन् । स्रष्टाभन्दा पहिले नेताहरु मञ्चमा पुग्नु कुनै नौलो दृश्य होइनन् ।
महोत्सवको उद्घाटन होस् या समापन राजनैतिक दलका नेताको उपस्थितिलाई अनिवार्य जस्तै बनाइएको देखिन्छ । बुढानीलकण्ठ नगरपालिकाले पनि त्यही अभ्यासलाई निरन्तरता मात्र होइन, अझै नेता तथा जनप्रतिनिधिलाई सांस्कृतिक पहिरनसहित मोडलका रुपमा उभ्याएर नायक नै बनायो ।
यो अभ्यासलाई विलकुलै स्वच्छ ढंगले गरिएको नगरका उपप्रमुख अनिता लामाले जोय नेपालसँगको कुराकानीमा बताइन् ।
‘महोत्सव सबैको होस् भनेर हामीले सबैलाई मञ्च दिएका हौँ । स्रष्टाहरुलाई पनि हामीले वक्ताका रुपमा मञ्च दिएका छौं’ उनले भनिन्, ‘सबैलाई सहज र सामान्य बनाउन हामीले नयाँ शैली अपनाएका हौँ ।’
साहित्यिक महोत्सवहरुमा साहित्यलाई ओझेल पारेर राजनीतिलाई स्थान दिइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै रंगकर्मी घिमिरे युवराजले बिहीवार नै सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राखेका थिए । उनका अनुसार साहित्यिक महोत्सवहरु उदार रुपमा फैलिरहँदा त्यसभित्र बहसमा आउने साहित्यको विषय नै खुम्चिँदै गइरहेको छ ।
साहित्यका नाममा गरिने महोत्सवमा कला सिर्जनालाई जोड दिऔँ भनेर उनले आफ्नो अभिप्राय राखेका छन् । साहित्यिक महोत्सवमा नेता र जनप्रतिनिधि नै राख्ने हो भने आयोजकले सैद्धान्तिक विचार र धारणा बोकेकाहरुलाई छनोट गर्नुपर्ने युवराजको भनाइ छ ।
उनले भने, ‘प्रदीप गिरीजस्ता चेतनशील नेताले ठाउँ पाउँथे र पाउनु पनि पर्छ । आयोजकले शक्ति र सत्ताको आधारमा होइन, चेनता हेरेर कस्तो व्यक्ति ल्याउने भन्ने कुरामा सोचविचार गर्नुपर्छ ।’
कुनै कार्यक्रमलाई आर्थिक सहयोग गर्ने बित्तिकै त्यसैलाई उद्घाटन र समापनमा ल्याउनैपर्ने बाध्यतालाई तोड्नुपर्ने उनको मान्यता छ ।
पुस महिनामा मात्र पोखरामा समापन भएको नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन ‘पोखरा महानगरपालिका’का मेयर धनराज आचार्यले गरेका थिए । त्यस्तै हालै मात्र सुर्खेतको बुलबुले उद्यानमा सकिएको ‘कर्णाली उत्सव: कुडा कर्नालीका’को पाँचौँ संस्करणको उत्सव उद्घाटन सत्रमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार प्रमुख अथितिका रुपमा थिए ।
उत्सवको समापन भने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गरेका थिए । सिर्जना क्षेत्रमा पनि राजनीतिकै पहुँचलाई देखाउनुपर्ने पक्षलाई दुःखदायी रुपमा लिन्छन्, घिमिरे युवराज ।
‘पोखरामा वात्सायन (दुर्गा बराल) र सरुभक्त जस्ता अग्रज स्रष्टाहरु हुनुहुन्छ । साहित्यका लागि नेताको भन्दा उहाँहरुको प्रतिष्ठा ठूलो होइन र ?,’ उनी प्रश्न गर्छन् ।
जुन क्षेत्रमा पनि राजनीति र नेतालाई घुसाउनुपर्ने आवश्यकता नरहेको उनको बुझाइ छ ।
हुन त राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरू कला क्षेत्रमा भवन शिल्यान्यासदेखि रिबन काट्नसम्म पुग्छन् । साहित्यका कार्यक्रममा राजनैतिक दलका नेतालाई स्थान दिने प्रवृत्तिमा साहित्यकार तथा समालोचक गीता त्रिपाटीको असहमति छ । यसलाई शक्ति र पहुँच प्रदर्शन गर्ने अभ्यासका रुपमा उनी लिन्छिन् ।
उनले भनिन्, ‘नेतालाई ल्याउनैपर्ने आयोजकको बाध्यता होलान् तर जता पनि मञ्च पाउने नेताले आफू कुनमा जाने या नजाने भन्ने कुरा सोच्नुपर्छ । यसमा साहित्यलाई भन्दा आयोजक र नेतालाई नै फाइदा देखिन्छ । नेतालाई देखाउनैपर्ने यो देवावटी प्रवृत्ति पनि हो ।’
जता पनि मञ्च ओगट्ने नेताहरुले कुन–कुन कार्यक्रममा जाने भनेर आफैंले छनोट गरेर नैतिकता देखाउनुपर्ने युवराज र त्रिपाटीको मत छ ।
मञ्च फेरिन्छन्, वक्ता फेरिँदैनन्
काठमाडौँ केन्द्रित हुने साहित्यिक महोत्सवहरु पछिल्लो समय देशका कुना–कुनासम्म फैलिएका छन् । कर्णालीसम्म पनि महोत्सवका दृश्यहरु पुगिसकेका छन् । साहित्यको विस्तार र साहित्यिक बहसका विषयले हेर्ने हो भने यो निकै सकारात्मक पाटो हो ।
अझ स्थानीय व्यक्ति र विषयले ठाउँ पाउँछन् भने महोत्सव हुनु साहित्यका लागि राम्रै उपलब्धीका रुपमा लिन्छन्, साहित्यकार सुबिन भट्टराई । उनका अनुसार महोत्सवका अवसरमा अग्रजदेखि अनुजसम्मका स्रष्टाहरु र कलाप्रेमीहरुको भेट हुन्छ । जसमा सिकाउने र सिक्ने अवसर पाउन सकिन्छ ।
भट्टराईकै भनाइलाई मात्र आधार मान्ने हो भने महोत्सवको पाटो सिर्जना सिकाइका लागि पनि महत्वपूर्ण बन्न सक्छ । तर, महोत्सवहरुमा भइदिन्छ के भने पूर्व र पश्चिम दिशा जतातिर महोत्सवको आयोजना भए पनि मञ्चमा त्यही व्यक्ति दोहोरिन्छ । वक्ता उही, विषय उही त हुन्छन् नै । अझ कार्यक्रम सञ्चालनदेखि कार्यक्रमको अध्यक्ष, सहजकर्ता सबै ठाउँहरुमा उही पुरानै अनुहार देखिन्छ । फरक चाहिँ आयोजक र दर्शक देखिन्छन् ।
भट्टराईकै सन्दर्भमा कुरा गर्दा उनी छुट्ने महोत्सवहरु विरलै होला । एउटै थलोमा सबै विषय र व्यक्तित्वको भेला हुने भएकोले केही नयाँ कुरा सिक्न पनि आफू सहभागी हुने उनले बताए ।
साहित्य क्षेत्रमा पाठकको मनमा बसेका र ओझेल परेका थुप्रै स्रष्टाहरु छन् । जो न आयोजकको आँखामा पर्छन्, न मञ्च नै पाउँछन् । युवापुस्ताका उम्दा कवि राबत (रामबहादुर तामाङ) साहित्यिक महोत्सवतिर नदेखिएको आधा दशकभन्दा बढी भयो ।
‘राजधानी मास्तिरको राजधानी’ कवितासंग्रहबाट नेपाली साहित्यमा उनले राम्रै छवि बनाएका छन् । जागीरे जीवनबाट कहिलेकाहीँ उनी फुर्सदमा साहित्यका सिर्जना गफ सुन्न निस्कछन् तर कविता नै सुनाउन र बहसै गर्न भने जाँदैनन् । साहित्य महोत्सवमा साहित्यका नौलो बहस र सिर्जना हुनुपर्छ भन्नेमा सचेत छन्, कवि राबत ।
‘उसो भए महोत्सवतिर आयोजकको निम्तो आएनन् कि तपाईको फुर्सद मिलेन ?’ भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘महोत्सवमा सुनाउन मसँग नयाँ सिर्जना छैनन्, भएको सबै सुनाइसकेँ । बहसै गर्ने खालको कुरा गर्न आउँदैन । अरुको बहस सुन्न जाउँ भने सबैतिर एउटै मान्छे र एउटै कुरा हुन्छ । के सुन्न जाने भन्ने पनि हुन्छ ।’
उनको भनाइको तात्पर्य अनुसार महोत्सवहरुको नाम र मञ्च फरक भए पनि उही वक्ता र विषय पटक–पटक दोहोरिँदा सुन्नेहरु पनि आजित छन् । गाउँ र बस्ती–बस्तीबाट साहित्यलाई माथि उठाउने हो भने बजारमा बिक्ने देखाउने मनोविज्ञानलाई त्याग्नुपर्ने उनको राय छ ।
महोत्सवमा व्यक्ति र विषय छनोटमा समावेशी बनाउने पक्षमा निकै चुनौती रहेको ‘कलिङ साहित्यिक महोत्सव’का निर्देशक रञ्जना निरौलाले सुनाइन् । उनका अनुसार मातृभाषी र आदिवासी समुदायका मुद्दालाई उठान गर्न वक्ता खोज्नकै लागि निकै कठिन पर्छ ।
उनले भनिन्, ‘हामीले सबै विषय र वक्तालाई समावेशी बनाउन प्रयास गरि नै रहेका छौं । तर कतिपय विषयमा बोल्ने वक्ता पाउनै गाह्रो हुन्छ ।’ महोत्सवलाई समावेशी बनाउने सक्दो प्रयास गरेको दाबी उनले गरिन् ।
आयोजकहरुले वक्ता छनोटमा पाठक र दर्शकको रुचि र चाहनामा पनि भर पर्ने भट्टराईको अनुमान छ । यद्यपि सकभर व्यक्ति र विषय नदोहोरिओस् भन्नेमा सचेत हुनुपर्ने उनको धारणा छ ।
खस आर्यभाषाको वर्चस्व र मातृभाषी साहित्यलाई बेवास्ता
साहित्य महोत्सवहरुमा देखिने स्रष्टा र बहसका विषयमा खस आर्य समुदायको बाहुल्यता देखिन्छ । मातृभाषी साहित्यलाई निरन्तरता दिइरहेका स्रष्टाहरु साहित्य महोत्सवका मञ्चमा पुग्ने अवसर नै नपाउने स्वयम् मातृभाषी साहित्यकारहरु नै गुनासो गर्छन् ।
मातृभाषीमा लेख्नेहरु न्यून मात्रामा हुनु र भएकाहरुले आफ्नो भाग वा अधिकार नै नखोज्ने परिपाटीले मातृभाषी साहित्य र स्रष्टाहरु नै ओझेलमा परेको थारु संस्कृति तथा साहित्यका स्रष्टा, अनुसन्धाता कृष्णराज सर्वहारी बताउँछन् ।
साहित्यिक महोत्सवहरुमा खस आर्य भाषीमा लेख्ने स्रष्टाहरुलाई मात्र मञ्च दिने परिपाटीप्रति उनको पनि चित्त दुखाइ छ ।
यस्ता महोत्सवहरुले स्थान दिने हो भने छुट्टै जाति र वर्गको भनेर अलग्गै सभा तथा सम्मेलन गर्नुपर्ने आवश्यकता नरहेको उनको ठहर छ ।
जोय नेपालसँगको कुराकानीमा उनले भने, ‘साहित्य महोत्सवहरु अहिले देखाउन गरेजस्तो भयो । यसमा उठाउनैपर्ने मूलधार कुराहरु अझै उठेकै छैनन् । समोवेशी देखाएजस्तो गर्न एक/दुई वटा कविता सुनाउन मञ्च दिइन्छ । यी महोत्सवहरु झारो टार्न गरेजस्तै भयो ।’
मुलुकमा भएको जनयुद्ध र त्यसमा लेखिएका साहित्य, आदिवासी समुदायका कैयन् मुद्दाहरु उठान नभएको उनको भनाइ छ । नेपाली भाषामा लेख्ने दुई/चार जनालाई टपक्कै टिपेर गरिने साहित्य महोत्सवहरुको औचित्य नदेखिएको उनले प्रस्ट्याए । अर्कातिर महोत्सवकै नाममा स्थानीय तहहरुले छुट्टाउने बजेटको विकृति बढिरहेको उनको अनुभव छ ।
उनका अनुसार स्थानीय तहहरुले नाचगान गर्न लाखौं खर्च बजेट निकाशा गरे पनि बौद्धिक तहका बहस सिर्जनामा खर्च गर्न अघि सर्दैनन् । जहाँ बजेट जान्छ, त्यहाँ जनप्रतिनिधिको मञ्च हुन्छ । शासक मनोवृत्ति नहटेसम्म सीमान्तकृत र भुँइमान्छेहरु मञ्च र तिनका विषय अगाडि नआउने उनले सुनाए । पछाडि पारिएका यी समुदाय पनि यो तहमा आन्दोलनकै स्वरुपमा अगाडि आउनुपर्ने उनको राय छ ।
साहित्य र सिर्जनाका लागि बनेका स्टेज र फोरमहरुमा त्यही अनुकूल विषय र व्यक्ति आउनुपर्ने समालोचक त्रिपाठीको मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया