मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चामा नकारात्मक प्रभाव पार्ने अभिभावकका यी ५ बानी

हामीले आफ्ना सन्तानको निकै ख्याल गर्नुपर्दछ । अभिभावकले पनि आफ्ना सन्तानहरूले कहिले पनि दुख नपाउन्, सधैँ खुसी रहुन् भन्ने चाहना राख्दछन् ।

तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ । 

यस्ता छन् नकारात्मक प्रभावहरू 

अन्य बच्चासँग तुलना गर्ने बानी

एक–अर्कासँग तुलना गर्नु भनेको मानवीय स्वभाव हो । धेरैजसो हामी अरूको तुलना गरेर नै अगाडि बढ्न प्रेरणा लिइरहेका हुन्छौँ । तर कहिलेकाहीँ हरेक समय तुलना गर्ने बानीले बच्चाको दिमागमा नकारात्मक सोच उत्पन्न हुनसक्छ ।

वास्तवमा, आफ्नो बच्चालाई अन्य बच्चासँग तुलना गरेर उसलाई अनावश्यक अप्रत्यक्ष दबाब दिने गरेको देखिन्छ । उसलाई अरू जस्तै बन्न अप्रत्यक्ष दबाब दिँदा बच्चाले आफूलाई अरूभन्दा कम ठान्न थाल्छ ।

भविष्यमा आफ्नो करिअरमा असफल भएमा त्यसको दोष अभिभावकलाई दिन सक्छन् । यस कारण यस्तो बानी त्याग्नुहोस् । 

बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु

आफ्ना सन्तान नहुर्किउन्जेलसम्म अभिभावकले निकै ध्यान दिनुपर्दछ । तर बच्चा सक्षम भइसकेपछि पनि आफ्ना सन्तानहरूलाई जहिले काखमा लिइराख्ने, आफैँले खाना खुवाउने, लुगा लगाइदिने, हरेक समय बच्चासँगै बस्ने गर्नुहुँदैन ।

किनभने अभिभावकको नजरमा त्यो माया हुनसक्छ तर बच्चालाई अभिभावक देखेर रिस उठ्न सक्छ । 

बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा

हरेक अभिभावकको आधारभूत लक्ष्य भनेको बच्चालाई जतिसक्दो चाँडो आत्मनिर्भर बनाउने हुन्छ । तर भावनाका कारण मानिसले ढिलाइ गर्छन् । कोही अभिभावक आफ्ना बच्चालाई लामो समयसम्म नियन्त्रणमा राख्न खोज्छन् ।

यसले बच्चा स–साना कुरामा अभिभावकप्रति निर्भर हुन्छ । जस्तै के खाने, के नखाने, कसलाई साथी बनाउने ? यी कुरामा अभिभावकले भन्दा पनि बच्चाहरू आफैँलाई निर्णय लिन प्रोत्साहन गर्नुपर्छ ।

त्यसैले बच्चाले आफ्नो हेरचाह गर्न सक्षम भएपछि उसलाई साथीहरूसँग घुलमिल हुन दिनुपर्छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ ।

बाहिरको रिस बालबालिकामा पोख्ने बानी

कोही अभिभावक बच्चालाई आवश्यकताभन्दा धेरै माया गर्ने गर्छन् भने कोही अभिभावक बाहिर अरूको रिस घरमा आएर बच्चामा पोख्ने गर्छन् । यस्तो व्यवहार गर्ने अभिभावकप्रति बच्चाको मनमा मान सम्मानको सट्टा डर, घृणा र रिस उत्पन्न हुन्छ । उनीहरू असुरक्षित महसुस गर्छन् ।

यस्ता नकारात्मक सोचले बच्चा र अभिभावकको सम्बन्ध बिग्रिँदै जानुका साथै उनीहरूको वृद्धि विकासमा पनि नकारात्मक असर पर्छ । घरमा यस्तो व्यवहार देखाउने अभिभावकलाई नराम्रो मान्छन् ।

बरु उसको कुरा राम्रोसँग सुन्ने र केही प्रश्न गरेको अवस्थामा सुझाव दिने गर्नुपर्छ । यसो गर्नाले उनीहरूको आत्मविश्वास बढ्दै जाने र निर्णय लिने क्षमताको विकास हुँदै जान्छ ।

बच्चासँग कम बोल्ने बानी

अभिभावकहरू बच्चालाई चाहिने सबैथोक भन्ने बित्तिकै ल्याइदिएकै छ, अरू के चाहियो र भन्ने सोच्छन् ।

चाहेको सामान किनिदिन्छन् तर उनीहरूसँग कुरा गर्ने, उसको स्कुलमा के भइरहेको छ ? उसको रुचि केमा छ ? के मन पर्छ वा के मन पर्दैन ? भनेर बुझ्न वा जान्न कोसिस गर्दैनन् ।

जुन एकदम गलत बानी हो । त्यसैले भनेको चीज सामान पुर्‍याएको छ भन्दैमा राम्रो अभिभावक हुँदैनन् ।

बच्चाको अगाडि बसेर फोन चलाउने बानी     

अभिभावकहरू बच्चालाई स्कुलबाट आउने बित्तिकै होमवर्क गर, पढ भन्छन् । तर अभिभावक भने उनीहरूकै अगाडि बसेर मज्जाले मोबाइलमा रिल हेर्ने, टिकटकमा भिडियो हेरेर बस्ने वा भिडियो बनाएर बस्ने गर्छन् ।

यसले बच्चाहरूले आफ्नो अस्तित्व नै नभएको महसुस गर्ने गर्छन् । अभिभावकप्रति आदर र मानसम्मान गर्दैनन् ।

त्यसैले अभिभावक आफैँ रोल मोडल हुनका लागि बच्चालाई होमवर्क वा पढ्न बस्ने बेला आफूले मोबाइल नचलाईकन उनीसँग समय बिताउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?