मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेक्नोलोजी

प्रयोगकर्ताकै कमजोरीका कारण ‘ह्याक’ भइरहेका छन् फेसबूक एकाउन्ट

काठमाडौँ– सामाजिक सञ्जालले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव पार्न थालेको छ । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक हुन्छ भने कतिपय अवस्थामा यसले नकारात्मक प्रभाव पनि पारिरहेको हुन्छ ।

सामाजिक सञ्जाललाई सही तबरले प्रयोग गर्न नजान्दा यसले प्रयोगकर्ताको व्यक्तिगत जीवन पनि प्रभावित हुन्छ ।

पछिल्लो समय ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगका घटना अत्यधिक बढिरहेका छन् ।

पछिल्ला कैयन् घटनाक्रमलाई केलाउने हो भने सामाजिक सञ्जालको दुरुपयोग कतिपयले जानेर गर्छन् भने कतिपयले अन्जानमा पनि गरिरहेका हुन्छन् । सामाजिक सञ्जालकै दुरुपयोगका कारण केही प्रयोगकर्ता कठघरामा पनि पर्ने गरेका छन् ।

अझ पछिल्लो केही घटनाक्रम हेर्दा सामाजिक सञ्जाल फेसबूकको दुरुपयोग व्यापक रुपमा बढेको छ । प्रयोगकर्ताले आफ्नो एकाउन्टको सुरक्षामा ध्यान नदिँदा उनीहरुका फेसबूक तथा अन्य सामाजिक सञ्जालका एकाउन्ट ह्याक हुने जोखिम पनि बढेको छ ।

यस्ता घटना यति धेरै बढिरहेका छन् कि, यतिबेला नेपाल प्रहरीको साइबर ब्यूरोमा आउने अधिकांश उजुरीहरु फेसबुक ह्याकसम्बन्धी छन् ।

किन बढिरहेका छन् फेसबूक ह्याकिङका घटना

फेसबुक ह्याक हुनुको मुख्य कारण भनेको प्रयोगकर्ताकै कमजोरी भएका विज्ञहरू बताउँछन् । फेसबुक प्रयोगकर्ताहरुको कमजोरीले धेरै खाताहरु सहजै ह्याक हुने गरेका छन् ।

फेसबूकमा बलियो पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन इनेबल नगर्नु र अनावश्यक लिंकहरु क्लिक गर्नुले नै प्रयोगकर्ताका धेरै खाता ह्याकरको पहुँचमा पुग्छन् ।

फेसबुक ह्याक हुनबाट कसरी जोगाउने ?

फेसबुक अकाउन्ट ह्याक हुन नदिन सर्वप्रथम तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर थाहा पाउन जरुरी छ । यसअघि नै फेसबूकले सेक्युरिटी चेकअप नामको एक टुल प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । बेलाबेलामा फेसबूकको उक्त टुल प्रयोग गरेर पनि आफ्नो फेसबूक कत्तिको सुरक्षित छ भनेर तपाईंले चेक गर्न सक्नुहुन्छ ।

टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस्

दुई कारक प्रमाणीकरण अर्थात् (टु फ्याक्टर अथेन्टिकेसन) को प्रयोगले पनि फेसबूक खाताहरु निकै सुरक्षित हुने गर्दछन् । अहिले फेसबूकले मात्र नभएर सबैजसो एपहरुले यस्तो सुविधा दिएका छन् ।

फेसबूकमा टु फ्याक्टर अथेन्टिकेसन सक्रिय गर्नका लागि तपाईंले मोबाइलको सेटिङमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले विभिन्न विकल्पका साथ यसलाई सक्रिय गर्न सक्नुहुन्छ ।

यसरी टु फ्याक्टर अथेन्टिकेसन सुचारु गरेपछि कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा ‘लगइन’ गर्ने समयमा फेसबुकले दर्ता भएको नम्बरमा एउटा कोड पठाउँछ । उक्त कोडलाई फेसबूकले दिएको लिंकमा राखेपछि मात्र अर्को डिभाइसमा फेसबूक खुल्छ ।

यो फिचरले यदि ह्याकरले तपाईंको फेसबूक पासवर्ड पत्ता लगाए पनि लगइन गर्न तपाईंको अनुमति चाहिनेछ ।

आफ्नै इमेल वा मोबाइल नम्बरबाट मात्र फेसबूक बनाउने

हालमा प्रयोगमा नआएका इमेल र मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन । पुरानो र धेरै महिनादेखि प्रयोगमा नआएका सिम कार्डको नम्बरहरू नेपाल टेलिकम र एनसेलले नयाँ प्रयोगकर्तालाई जारी गर्ने गर्दछ ।

तपाईंको पुरानो नम्बर जारी गरिएको नयाँ व्यक्तिले सजिलैसँग ‘पासवर्ड बिर्सिनुभयो’ विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्न सक्छ ।

त्यसैले तपाईंले यदि पुरानो या प्रयोगमा नआएको नम्बरबाट फेसबुक सुचारु गर्नु भएको छ भने उक्त नम्बर परिवर्तन गर्न जरुरी छ ।

त्यसैगरी फेसबुक ह्याक हुनबाट जोगाउन सार्वजनिक कम्प्युटरहरू वा साइबरमा सामाजिक सञ्जाल प्रयोग गरेपछि लग आउट गर्ने बानी बसाल्नाले फेसबुक ह्याक हुनबाट जोगाउन सकिन्छ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको तपाईंले फेसबूकमा आएका जथाभावी लिंक पनि क्लिक गर्नु हुँदैन । यसरी क्लिक गर्दा तपाईंको फेसबूक ह्याकरको पहुँचमा जाने प्रबल सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?