मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा गजलका सर्जक गिरी ?

रामबहादुर थापा / रासस

गण्डकी – गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा !!!’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ?

हुन त कुनै पनि गीत÷गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रुपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे ।

गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा ’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रुपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ ।

यो गजल गिरीलेकाठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा गरेका थिए । “२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडौंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फु¥यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ”, उनले भने, “पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।”

काठमाडौं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी÷शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडौंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो ।

स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडौंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरु पोखरा महानगरपालिका–२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा !!!’

“मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पारेका थिए ”, गिरीले विगत कोट्याए, “महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गरेका थिए, तर पछि प्रमोद खरेल दाईको प्रणय एल्बममा गजल समावेश भयो ।” उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुआतमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पग्र्यो यो ।

“त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्”, उनले भने, “स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहेका छन्, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक÷दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।”

उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ !!!’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा !!!’ उहाँको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत÷गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् ।

गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उहाँ पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । “जागीरले कही न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न”, उनले भने, “फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रुपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।”

उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । “वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छ, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्”, गिरीले भने, “म बिना कसैकसैलाई।।। लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।”

उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत÷गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । “कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन”, उनले भने ।

गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पु¥याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडौं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा !!!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?