मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

महिलामा किन बढ्दैछ स्तन क्यान्सरको जोखिम?

क्यान्सर रोगलाई अहिले पनि निकै डरलाग्दो रोगका रुपमा लिने गरिन्छ । यो रोगले बिरामीलाई मृत्युको मुखमा पुर्‍याउँछ भन्ने आम बुझाइ छ । प्राण घातक रोग भए पनि यो निको हुँदै नहुने भन्ने चाहिँ होइन ।

चिकित्सकहरुका अनुसार क्यान्सर धेरै प्रकारका हुन्छन् । महिला र पुरुषमा हुने क्यान्सर पनि फरक फरक हुन हुन्छन् ।

सामान्यतया पुरुषहरुमा मुख, फोक्सो, प्रोस्टेट, पेट, आन्द्रा र छालाको क्यान्सर हुने गर्दछ भने महिलाहरुको हकमा भने पाठेघरको मुख, स्तन, फोक्सो क्यान्सर, डिम्बासय, पित्तथैली, आमाशयको क्यान्सर हुने गर्दछ ।

खासगरी महिलामा स्तन क्यान्सर बढी हुने गरेको पाइन्छ । यसै विषय वरिपरि रहेर नर्भिक अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा.बानिरा कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

स्तन क्यान्सर कस्तो रोग हो ?

स्तनमा भएका कोष कोषिकामा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउ बन्नु नै स्तन क्यान्सर हो ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–के हुन् ?

स्तन क्यान्सरको लक्षणहरु भनेको स्तनमा कुनै प्रकारको गाँठोहरु आयो, स्तनको छालामा परिर्वतन आयो, चिलायो, फोकाहरु आयो, निपलहरु सामान्य अवस्थाको भन्दा अलिक भित्र पस्यो, निपलबाट रगत, पिप बग्यो, पानी बग्यो साथै काखिमुनि पनि गिर्खाहरु आएको छ भने ती स्तन क्यानसरका लक्षणहरु हुन् ।

स्तन क्यान्सर हुने कारणहरु के–के हुन् ?

यदि परिवारमा कसैलाई क्यान्सर छ भने जिनबाट सो क्यान्सर सन्तानमा आउने सम्भावना धेरै हुन्छ । अर्को महिनावारी भएका महिलाहरूलाई र ढिलो सम्म महिनावारी नसुकेका महिलाहरूमा यसको सम्भावना हुन्छ । साथै, जसले बच्चालाई स्तनपान गराउँदैनन् उनीहरूलाई पनि क्यान्सर हुने सम्भावना बढी नै हुन्छ । पिल्स, आईपील जस्ता गर्भ निरोधक चक्कीहरूको धेरै मात्रामा सेवन गर्नाले समेत स्तन क्यान्सरको जोखिम बढाउँछ ।

ढिलो बिहे गर्ने, ढिलो बच्चा पाउने, जङ्क फुडहरू धेरै खाने, व्यायाम नगर्ने बानीले पनि स्तन क्यान्सर हुन सक्छ । आजको समाजमा बच्चा नजन्माउने, जन्माए पनि ढिला जन्माउने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ । यस्तो जीवनशैलीले हार्मोनिल डिसअर्डर निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सरको रूप लिने हुन्छ । धुम्रपान र मद्यपानको सेवन पनि स्तन क्यान्सरका लागि घातक चिज हो ।

क्यान्सर हुन नदिनको लागि हामीले कस्तो संयमता अपनाउनुपर्छ ?

स्तन क्यान्सर हामीले पूर्ण रुपमा रोक्न त सक्दैनौं । तर हामीले क्यान्सर हुन नदिनका लागि मधपान, धुम्रपान नगर्ने, मोटोपनबाट बच्ने, शारीरिक व्यायाम गर्ने, बाहिरी जड्ढ फुडहरु सकेसम्म नखाने, ताजा र फ्रेश खानाहरु खाने,कम्तिमा वर्षमा एकपटक स्तन जाँच गराउने गर्नुपर्दछ ।

महिलाहरुमा स्तन क्यान्सरको जोखिम किन तीव्र रुपमा बढिरहेको छ ?

पछिल्लो समयको बदलिँदो जिवनशैली नै यसको प्रमुख कारक कारण हो । आधुनिक खानपान शैली, नियमित चेकजाँचको अभाव, काम वा शरीर मेन्टेन गर्ने बहानामा पूर्ण स्तनपान नगराउने महिलाको जमात बढ्नु स्तन क्यान्सरका कारणहरु हुन् ।
स्तन क्यान्सर महिलाहरुमा मात्रै लाग्ने रोग हो अथवा पुरुषहरुमा पनि यस्तो समस्या हुने गर्छ ?

यो रोग महिलाहरुमा मात्रै लाग्ने भन्ने हैन । पुरुषमा पनि स्तन क्यान्सर हुन्छ तर महिलाहरुको तुलनामा निकै कम मात्रामा हुन्छ । कुल स्तन क्यान्सरको करीब १५ स्तन क्यान्सर पुरुषमा देखिने तथ्याङ्कले देखाएको छ । पुरुषहरूमा पनि महिलाहरूमा जस्तै स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टो गाडिने, गिर्खा आउने जस्ता लक्षणहरू देखापर्छ ।

कुन उमेर समूह र कुन भेगका महिलाहरुमा स्तन क्यान्सर बढी देखिन्छ ?

मुख्यतया चालीस वर्षदेखि पचास वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको पाइन्छ । र शहरी क्षेत्रका महिलाको तुलनामा दुर्गम, ग्रामीण भेगका महिलाहरुमा स्तन क्यान्सरको समस्या बढी देखिन्छ । किनभने दुर्गम भेगका महिलाहरु यस्ता समस्याहरु खुलेर नभन्ने, हिचकिचाउने, लजाउने हुन्छन् । साथै शहरका महिलाहरुमा भन्दा ग्रामीण भेगका महिलाहरुमा जनचेतनाको पनि अभाव छ । यसकारण गाउँका महिलाहरु यस्ता समस्याबाट पीडित छन् ।

स्तन क्यान्सरको उपचार कसरी गरिन्छ ?

शुरुमा स्तनको छामेर, हेरेर, परीक्षण गरिन्छ । त्यसपछि भिडियो एक्स–रे गरेर छाति, काखी र शरीरका अन्य ठाउँहरुमा पनि गिर्खा, गाँठाहरु छन् कि भनेर परीक्षण गरिन्छ । यसपछि स्तनलाई थिचेर र च्यापेर म्यामोग्राफी गरिन्छ । मेमोग्राम महिलाको स्तनमा क्यान्सर भए/नभएको थाहा पाउने एक किसिमको एक्सरे पद्धति हो ।

स्तनलाई बीचमा राखेर दायाबायाँ तथा तलमाथिबाट मेमोग्रामले स्तन च्यापी एक्स–रे गरिन्छ । जसबाट स्तन क्यान्सर भए/नभएको थाहा पाउन सकिन्छ । यसरी रोग लाग्नुपूर्व नै रोगको संकेत छ वा छैन भनेर एकिन गर्ने स्वास्थ्य जाँचलाई ‘स्क्रिनिङ’ भनिन्छ । यो रोगको पहिचान गर्न एमआरआई, एफएनएसी, बायोप्सी पनि गरिन्छ । यी सबै विधिको आ–आफ्नै महत्त्व छ ।

अल्ट्रासाउण्ड र मेमोग्राम (एक्स–रे) मा इमेज (तस्वीर) निकालिन्छ । त्यसैगरी एफएनएसी तथा बायोप्सीमा टिस्युको परीक्षण (डाइग्नोसिस) गरिन्छ । क्यान्सरको अवस्था तथा लक्षणको प्रकृतिअनुसार मेमोग्राम, अल्ट्रासाउण्ड, एफएनएसी तथा बायोप्सी गरिन्छ । यसरी तिनै किसिमका विधि अपनाएर स्तन क्यान्सर पत्ता लगाइन्छ ।

स्तन क्यान्सरको उपचार विधि क्यान्सरको स्टेज हेरेर निर्धारण गरिन्छ । उनीहरूको चरण हेरेर आवश्यकता अनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापीबाट स्तन क्यान्सरको उपचार गर्न सकिन्छ । रोगको प्रकृति हेरेर उपयुक्त उपचार विधिको चयन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?