मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौन्दर्य प्रतियोगिता

पहिलेजस्तो छैन ‘मिस नेपाल’ को क्रेज, झन् चर्चा बढेको आयोजकको दाबी

जोयनेपाल
494
Shares
तस्वीर: सिजल्स फोटोग्राफी

काठमाडौँ– नेपालमा सौन्दर्य प्रतियोगिताको नाम लिँदा आउने पहिलो नाम हो– मिस नेपाल । द हिडन ट्रेजरले ३० वर्षअघि शुरु गरेको यो सौन्दर्य प्रतियोगितालाई अहिले पनि निरन्तरता दिइरहेको छ ।

अन्य सौन्दर्य प्रतियोगिताको जन्म नभइरहेको समयमा ‘मिस नेपाल’ को एकछत्र राज नै थियो । टेलिभिजन र रेडियोको विकासक्रम बढिरहँदा दर्शक तथा स्रोताको चासो ‘मिस नेपाल’ प्रति बाक्लै थियो । दर्शक तथा स्रोताहरु ‘मिस नेपाल कहिले हुँदैछ ?’, ‘को विजेता भयो ?’ भन्नेबारे चासो राख्थे ।

‘मिस नेपाल’को चर्चासँगै प्रतियोगितालाई लिएर विरोधका स्वर उत्तिकै उठिरहेका छन् । खासगरी महिला अधिकारकर्मी र केही राजनीतिक दलका भातृसंगठनले ‘महिलालाई नङ्ग्याइने गरिएको’ भन्दै प्रतियोगिताको समयमा विरोध पनि गर्दै आइरहेका छन् ।

तर समय सधैं एकनास रहेन । खासगरी पछिल्ला दशकमा सौन्दर्य प्रतियोगिताको लहर नै चल्यो । सौन्दर्य प्रतियोगिता आयोजना गर्नकै लागि भनेर दर्जनौं संस्था स्थापना भए र ती संस्थाले उति नै मात्रामा सौन्दर्य प्रतियोगिता पनि गरे ।

कोरोना भाइरसको महामारीभन्दा अघिसम्म नेपालमा सौन्दर्य प्रतियोगिताको उपस्थिति बाक्लै थियो । एकै दिनमा २ देखि ३ वटासम्म सौन्दर्य प्रतियोगिता हुन्थे । कुनै कुनै सौन्दर्य प्रतियोगिता त कहिले भयो कहाँ भयो भन्ने कुरा समाचार सार्वजनिक भएपछि मात्र थाहा हुन्थ्यो ।

भलै कोभिड महामारीपछि त्यो क्रम केही कम त भएको छ, तर पहिलाकै जस्तो आफ्नो उपस्थिति देखाउन सौन्दर्य प्रतियोगिता आयोजकहरु कम्मर कसेर लागिरहेका छन् ।

सौन्दर्य प्रतियोगिताको बाढी नै आइरहँदा प्रतियोगिताको जग ‘मिस नेपाल’ अन्य कतै छायामा त परेको छैन ? भन्ने चर्चा नचलेको पनि होइन । मानिसको व्यस्त जीवन शैली, सामाजिक सञ्जालको प्रभाव र ‘च्याउसरी’ हुने सौन्दर्य प्रतियोगिताले ‘मिस नेपाल’ प्रतिको चासो घट्दै गएको चर्चा बजारमा सुनिन थालेको छ ।

के मिस नेपालको क्रेज खस्किएको हो?

द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार बजारमा ‘मिस नेपाल’ प्रति चासो कम भएको भन्ने चर्चामा सत्यता नरहेको दाबी गर्छन् ।

‘हामीले कोभिड महामारी, माओवादी द्वन्द्व र आर्थिक मन्दीको अवस्थामा पनि कार्यक्रम गरिरहेका छौं । इमान्दारिताका साथ काम गरिरहेका छौं । प्रायोजकहरु पनि हाम्रो काम प्रति खुशी हुनुहुन्छ । मिस नेपालको चर्चा कम भएको भन्ने कुरामा सत्यता छैन’, उनी भन्छन्, ‘प्रतियोगितामा चासो नै घटेको थियो भने त प्रायोजकहरु पनि त पछि हट्नु हुन्थ्यो होला नि । कार्यक्रमको गुणस्तर देखेर नै उहाँहरुको संख्या पनि बढ्दै गएको छ ।’

उनी सौन्दर्य प्रतियोगिता आयोजना गर्ने शैली राम्रो र नराम्रो दुवै हुने उल्लेख गर्दै सबै सौन्दर्य प्रतियोगितालाई एउटै स्थानमा राख्न नमिल्ने बताउँछन् ।

‘सौन्दर्य प्रतियोगिता भन्नासाथ मानिसहरु आयोजकलाई भनेर आफ्ना मान्छेलाई प्रतियोगितामा सहभागी गराउँछन् । जसकारण सौन्दर्य प्रतियोगिताको बद्नाम भइरहेको छ’, उनी भन्छन्, ‘आयोजकको पृष्ठभूमि नबुझीकन प्रतियोगितामा सहभागी हुने बानीले गुणस्तरमा प्रश्न उठ्दै आइरहेको छ । कसले कतिवटा प्रतियोगिता गर्‍यो भन्दा पनि त्यसको गुणस्तरीयता कस्तो थियो भन्नेमा चासो देखिँदैन ।’

सन् २००५ की ‘मिस नेपाल’ सुगारिका केसी ‘मिस नेपाल’ को चर्चा र लोकप्रियता कहिल्यै नघट्ने दाबी गर्छिन् । उनी अन्तर्राष्ट्रिय प्लेटफर्ममा ‘मिस नेपाल’ विजेताको उपस्थिति बाक्लिँदै गएका कारणले नेपालमा चासो काम भएको हुन सक्ने बताउँछिन् ।

‘अन्तर्राष्ट्रिय एरिनामा हाम्रो उपस्थिति बढ्दै गएको छ । पहिला अहिलेको जस्तो अवस्था थिएन । अन्तर्राष्ट्रिय रुपमा चर्चाले गर्दा पनि यहाँ कम चर्चा भएको हुनसक्छ’, सुगारिका भन्छिन् ।

सुगारिकाको बुझाइमा ‘मिस नेपाल’ प्रति चासो राख्ने अधिकांश युवाहरु विदेशिएका छन् । युवाहरु विदेशिनु र यहाँ भएका मानिसमा निराशा बढ्नुले पनि ‘मिस नेपाल’ प्रति चासो काम भएको हुनसक्ने सुगारिकाको दाबी छ ।

काम गरेर खानै पर्छ । स्वदेशमै काम गर्न चाहने युवाहरु निराशा बोकेर विदेशिएका छन् । मेरो बुझाइमा यहीकारण पनि सौन्दर्य प्रतियोगिताप्रतिको क्रेज घट्दै गएको छ’, उनी भन्छिन् ।

छरिएर रहेका सौन्दर्य प्रतियोगिता आयोजकलाई एकीकृत गर्न केही वर्षअघि मात्र ब्यूटी पिजेन्ट एसोसिएसन अफ नेपालको स्थापना गरिएको छ । संस्थाका महासचिव निशुकान्त झा नेपालमा ‘मिस नेपाल’को आफ्नै स्थान रहेको उल्लेख गर्दै ‘मिस नेपाल’ मात्र नभई अन्य सौन्दर्य प्रतियोगितामा मान्छेको रुची कम हुन थालेको ठोकुवा गर्छन् ।

‘कोभिड पछि मानिसको आर्थिक अवस्था दयनीय बन्दै गएको छ । मानिसहरु जीवनलाई अगाडि बढाउने वा व्यवसायलाई निरन्तरता दिने भन्ने कुराको अन्योलमा छन्’, निशु भन्छन्, ‘राम्रो कार्यक्रम गर्नका लागि खर्च व्यवस्थापन गर्न उत्तिकै गाह्रो परिरहेको छ । जसकारण सौन्दर्य प्रतियोगिताप्रति रुची र चासो काम हुनु स्वभाविक हो ।’

निशुकान्त ‘मिस नेपाल’ ले अन्य सौन्दर्य प्रतियोगिताका लागि नयाँ अवसर सिर्जना गरेको दाबी गर्छन् ।

‘अन्य सौन्दर्य प्रतियोगिताका सहभागी वा विजेताको चाहना मिस नेपालमा पुग्ने नै हुन्छ । उनीहरुलाई सहभागी गराउँदा मिस नेपाल आयोजकलाई पनि सहभागीलाई प्रशिक्षण दिन धेरै मेहनत गरिरहनु पर्दैन’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?