काठमाडौँ– हिउँद याम शुरु भएसँगै हिमपात भएर सेताम्मे हुने अधिकांश हिमाली क्षेत्रमा यस वर्ष हिउँ नै परेन । सेता हिमालहरु काला पहाडको रुपमा देखिए । हिमाली क्षेत्रमा पछिल्लो केही वर्षयता हिउँ नै पर्न छोडेकोले यसले वातावरणमै प्रतिकुल असर पारिरहेको विज्ञहरु बताउँछन् ।
हिमाली जिल्ला दोलखा, सोलुखुम्बु लगायत क्षेत्रमा केही वर्षदेखि नै हिउँ पर्न कमी आए पनि अघिल्लो वर्षदेखि निकै न्यून रहेको स्थानीयहरु सुनाउँछन् । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक, जिरी, शैलुङ, खरीढुङ्गा लगायतका क्षेत्रमा यो वर्ष पनि हल्का मात्रामा मात्र हिउँ पर्यो ।
कालिञ्चोक तथा शैलुङ क्षेत्रमा हल्का रुपमा हिमपात परे पनि धेरै स्थानहरुमा यो वर्ष हिउँ नै नपरेको दोलखास्थित भिमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईँले जोय नेपाललाई बताए । कुनैबेला हिउँ परेर यातायात सेवा तथा विद्यालयहरु नै बन्द गर्नुपर्ने अवस्था समेत आएको उनले स्मरण गरे ।
‘यस वर्षचाहीँ गएका वर्षहरुको तुलनामा अति न्युन मात्रै हिमपात भयो, ‘उनले भने, ‘यसपाली जम्मा दुई पटकमात्र हिमपात भएको छ । त्यो पनि उच्च हिमाली क्षेत्र कालिञ्चोकमा मात्रै भयो । यसलाई त हामी हिमपात नै भएको मान्दैनौँ ।’
यसअघिका वर्षहरुमा हिमपात भएर बाटोघाटो नै अवरुद्ध भएर डोजर नै लगाउनुपर्ने अवस्था आएको उनले सुनाए । उनका अनुसार अहिले जाडोमा पनि विद्यालयहरु पनि निरन्तर चलिरहेका छन् ।
दोलखा लगायतका हिमाली क्षेत्रहरुमा हिमपात मात्रै नभई अहिले हिउँदे वर्षा समेत हुन छोडेपछि कृषकहरुले हिउँदे बाली लगाउन पाएका छैनन् । हिउँदे बालीको उत्पादन घटेर खाद्य संकटमा पर्ने चिन्तामा अहिले कृषकहरु छन् । चौलागाईँले भने, ‘आकाशमा बादल देखिन्छ, तर न हिमपात हुन्छ, न हिउदे वर्षा नै । वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले हिउँदे बालीको उत्पादन घट्ने किसानहरुमा चिन्ता बढेको छ ।’
हिमपात नहुँदा तापक्रम पनि त्यतिकै बढिरहेको छ । हिमाली भेगमा जाडो हुन समेत छोडेको छ । यसले धुलोधुवाँका कारण वातावरण नै प्रदुषित भई मानव स्वास्थ्यमा पनि नराम्रो असर परिरहेको वातावरण विज्ञहरुको भनाइ छ ।
धेरै हिउँ पर्ने भनेर चिनिएको हिमाली जिल्ला सोलुखुम्बुमा पनि यस वर्ष खासै हिमपात नभएको सहायक जिल्ला अधिकारी सरोज अर्यालले जोय नेपालसँगको कुराकानीको क्रममा बताए । धेरै हिउँ पर्ने भनेर चिनिएकै ठाउँहरुमा यस वर्ष हिमपात नभएको जोय नेपाललाई बताए । उनका अनुसार सधै हिउँ पर्ने उच्च हिमाली क्षेत्र नाम्चे, खुम्बुजस्ता क्षेत्रमा अति न्युन मात्रामा हिमपात भएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वैज्ञानिकले यस वर्ष नेपालका हिमाल क्षेत्रहरुमा केही वर्षयताकै कम हिउँ देखिएको र सुख्खापन पनि बढेको जनाएको छ । यद्यपि जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँद याममा औसतभन्दा बढी वर्षा हुने जनाएको थियो । विभागका अनुसार यसै वर्ष भने र छोटो समयका लागि मौसमको पुर्वाअनुमान गर्ने क्षमता विभागसँग नभएका कारण कहिलेकाहीँ तलमाथि पर्न सक्छ ।
हिमाली क्षेत्रमा नै वर्षा र हिमपातको अनुपात गडबढ हुनु र समयमा फेरबदल हुनु चिन्ताजनक विषयका रुपमा लिनुपर्ने विज्ञहरुको भनाइ छ । यसमा सचेत समेत हुन उनीहरुले सुझाव छ ।
हिउँदमा हिमपात र वर्षा नहुदा धेरै क्षेत्रहरुमा प्रतिकुल असर पर्ने वातावरणविद् जुद्ध बहादुर गुरुङले सुनाए । उनले भने, ‘यसले वातावरणसँगै मानव स्वास्थ्य, पृथ्वीको जैविक विविधता, कृषि उत्पादन कमी भई भोकमरी जस्ता समस्या निम्त्याउँछ ।’
ग्लोवल वार्मिङ (जलवायु परिवर्तन) , हरितगृह प्रभाव र भू–मध्यसागरबाट आउने जलवाष्पयुक्त वायु प्रयाप्त रुपमा आउन नसकेका कारण हिमाली भू–भागमा हिउँ पर्न सकेन । यसका कारण पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष असर पुग्ने गरेको उनको भनाइ छ ।
के यो जलवायु परिवर्तनको असर हो ?
हिमाली क्षेत्रमा पछिल्लो समय हिमपात र वर्षा नहुनुलाई जलवायु परिवर्तनको असर मान्ने कि नमान्ने भन्नेबारे स्वयम् विज्ञहरु नै एकिन छैनन् । अहिले देखिएको हिमपात कम हुने समस्या ठ्याक्कै जलवायु परिवर्तनका कारण हो भनेर भन्न नसकिने जलवायुविज्ञ तथा ‘प्रकृति रिर्सोसेज सेन्टर (पिआरसी)’का कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीको बुझाइ छ ।
‘यो वर्ष अहिलेसम्मकै हिमपात र हिउँदे वर्षा कम भएको छ । यसलाई जलवायु परिवर्तनको असर हो या होइन भन्न सकिँदैन । यसका लागि धेरै वर्षको हिमपात र हिउँदे वर्षाको विश्लेषण गरिनुपर्छ’ उनले भने ।
उनका अनुसार हरित गृह ग्यास उत्सर्जन लगायतका कारण यो समस्या देखिएको हो ।
यसले गर्दा दक्षिण एसियाकै नदीनाला, कृषिक्षेत्र, उर्जा तथा मानव जनजीवन लगायत हिमाली अर्थतन्त्र नै प्रभावित हुने उनले बताए । यसको समाधानका लागि नेपालले मात्र नभई विश्वले नै यसतर्फ ध्यान दिनुपर्ने क्षेत्रीको भनाइ छ ।
उनले थपे, ‘विश्व तापमान तिव्र रुपमा बढिरहेको छ । जसका कारण यस्ता समस्याहरु बढिरहेका छन् ।’
यो समस्या समाधानमा नेपाल मात्र जिम्मेवारी नभएको बताउँदै उनले समाधानका लागि विश्व लाग्नुपर्ने उनको धारणा छ । तथापि नेपालले यस्ता समस्याबाट राहत पाउनका लागि विपद् पूर्व तयारी, जलवायु अनुकुलनमा तथा जलवायुमैत्री पूर्वाधार निर्माण जस्ता पक्षमा जोड दिनुपर्ने उनको राय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया