मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

काठमाडौं – एक आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी रिडले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् ।

आधुनिक अल्टरनेटिङ करेन्ट ‘एसी’ प्रणालीमा टेस्लाको महत्वपूर्ण योगदान छ । उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो । उनका परिवार सर्बियाका नागरिक भए पनि स्मिलजनस्थित उनको गाउँ हाल क्रोएसियामा पर्छ । उनी सन् १८८४ मा आविष्कारक थोमस अल्वा एडिसनसँग काम गर्न अमेरिका पुगेका थिए । विद्युत् प्रसारणका लागि ‘अल्टरनेटिङ करेन्ट’ ‘एसी’ वा ‘डाइरेक्ट करेन्ट’ ‘डीसी’ कुन प्रणाली स्थापित गर्ने भन्ने विषयमा अमेरिकी इन्जिनियर तथा व्यवसायी जर्ज वेस्टिङहाउस र एडिसनबीच प्रतिस्पर्धा थियो ।

जबकि एडिसनको कम्पनीले डीसीमा लगानी गरिरहेको थियो । यो छोटो दुरीमा निश्चित भोल्टेजमा एउटा दिशामा मात्रै प्रवाहित हुने विद्युतीय प्रणाली हो । एडिसनले डीसीलाई नै जोड दिएपछि टेस्ला उनीबाट अलग्गिए । पछि वेस्टिङहाउसले टेस्लाको एसी ट्रान्सफर्मर र मोटरको सर्वाधिकार किने । टेस्लाले आविष्कार गरेको प्रणाली अझै पनि विद्युतीय ऊर्जाको उत्पादन, प्रसारणको क्षेत्रमा अग्रणी विधि मानिन्छ ।

टेस्लाको जीवनी आफैमा रोमाञ्चक उपन्यासजस्तै छ । उनी सर्वसाधारण मानिसले कल्पना गर्नसम्म नसक्ने कुरा सम्भव गराउन सक्थे । उनको शरीर नै मानिसका लागि विचित्रको थियो, जहाँ उनी लाखौँ भोल्टको विद्युत् शक्तिको प्रवाह गराउन सक्थे ।
एक कट्टर धार्मिक पुजारीको सन्तान भएर पनि पिताको पन्थमा नगई उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे । आमाको निधनले टेस्लाको जीवनमा निकै हलचल मच्चायो । टेस्लालाई सबैभन्दा दुःखान्त पीडा सहोदर दाजु गुमाउनुमा भयो, उनले यो घटनालाई जीवनभर भुल्न सकेनन् ।

टेस्लाले कहिल्यै विवाह गरेनन् । उनकाले निधन सन् १९४३ मा न्यूयोर्कस्थित एक होटलको कोठामा भयो । बेलग्रेडमा निकोला टेस्ला संग्रहालय सञ्चालनमा छ, जहाँ अझै बर्सेनि हजारौँ मानिस अवलोकनका लागि पुग्ने गर्छन् । यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्ने जोकोहीलाई उत्साह भर्ने खालको छ । कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो ।

यसका मूल लेखकको पश्चिमी दर्शन, साहित्य र ग्रिक मिथकका प्रसंगहरू उपन्यासमा ल्याएका छन् । त्यसलाई आमपाठकले सजिलै बुझून् भनेर यस्ता प्रासङ्गिक शब्दको छोटो परिचय प्रकोष्ठमा राखेर अझ सरल बनाइएको छ । अनुवादको भाषा सरल र शिष्ट छ । नेपाली पाठकका लागि फरक स्वादको यो जीवनीमा आधारित उपन्यासले आनन्द दिने वी रिडले अपेक्षा राखेको छ ।
जम्मा ५२७ पृष्ठ रहेको यस पुस्तकको मूल्य १०५० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?