मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

क्रिकेटर सन्दीप लामिछानेलाई लागेको लाइपोमा कस्तो खाले रोग हो?

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेको हिजो (मङ्गलवार) लाइपोमाको शल्यक्रिया गरिएको छ । यसअघि गत बैशाखमा पनि यही समस्याका कारण उनको शल्यक्रिया गरिएको थियो ।

सन्दीपको शल्यक्रियापछि यो कस्तो खालको रोग हो भनेर धेरैले चासो व्यक्त गरेका छन् । यो रोगका बारेमा हामीले कमै सुनेकाले पनि धेरैमा यो कस्तो खालको रोग हो भनेर स्वभाविक चासो देखिएको छ ।

यो कस्तो खाले रोग हो? यसका लक्षणहरु के के हुन् लगायतका प्रश्नमा केन्द्रित रहेर पाटन अस्पतालमा कार्यरत वरिष्ठ चर्म तथा यौन रोग विशेषज्ञ डाक्टर विकास पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

लाइपोमा रोग कस्तो प्रकारको रोग हो ?

लाइपोमा भनेको एकदम साधारण खालको रोग हो । जुन शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको बोसाले बनेको तन्तु हो । यो शरीरको जुनसुकै भागमा आउने भएकाले यसलाई युनिर्भसल ट्युमर पनि भन्ने गरिन्छ ।

यो रोग बाहिर आम मानिसमा त्यति धेरै परिचित नभए पनि एक कमन रोग हो । यो रोग सामान्य भएकाले पनि सकभर बिरामीलाई अपरेशन गर्ने सल्लाह दिँदैनौँ । तर, बिरामीले चाहेको खण्डमा अथवा भनौँ शरीरको सौन्दर्य नै बिगार्ने गरी अनुहार, हात लगायतका भागमा आयो भने शल्यक्रिया गर्न सल्लाह दिन्छौँ ।

यो अनुहार, तिघ्रा ,गर्दन, हात, खुट्टा पाखुरा, कुम, कुमको पछाडि भाग र मुखभित्र पनि आउन सक्छ । यो साधारणतया नदुख्ने हुनाले छालाको मुनि भएको डल्लो बाहिरबाट देख्ने भएपछि मात्र थाहा पाइन्छ । यसलाई ठूलो स्वास्थ्य समस्या नमानिए पनि नदुख्ने डल्लो भएकाले पछि गएर क्यान्सरको जोखिम हुनसक्छ भनेर समयमै निकाल्ने गरिन्छ ।

साधारण अवस्थामा विशेष प्रकारको सियोबाट लाइपोमाभित्र रहेको बोसो तानेर निकाल्ने गरिन्छ । कुनै–कुनै चिकित्सकहरुले स्टेर्‍वाइड इन्जेक्सन पनि दिने गरेको पाइन्छ । यो विधिले समस्या पूरै निर्मुल हुने नभई डल्लोलाई खुम्च्याएर मात्र राख्ने गर्छ । यसलाई निर्मूल गर्न चिरफार गरी डल्लो नै निकाल्नु पर्छ ।

यो रोग लाग्नुको मुख्य कारण के हो ?

यो रोग लाग्ने ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । धेरथोर वंशाणुगत कारण पनि हुन्छ । जस्तै पुर्खाहरुमा यो रोग लागेको छ भने पुस्तामा पनि देखिने सम्भावना अधिक हुन्छ ।

यो रोग लाग्दा के–कस्ता लक्षण्हरु देखा पर्दछन् ?

यो रोग लाग्दा शुरुमा सुन्निने, गिर्खाहरु आउने हुन्छ । मासुको डल्लोजस्तो सानो आकारको छुँदा चिप्लो हुने र बढ्दै जाने हुन्छ ।

कतिपय अवस्थामा एकै मानिसमा धेरै ठाउँमा आउने पनि हुन सक्छ । तर यो रोगका कारण डराउनुपर्ने अवस्था भने हुँदैन ।
कतिपय अवस्थामा भने शरीरमा डल्लो उठेर नशा च्यापिने, अत्यन्तै दुख्ने हुन्छ । त्यस्तो भयो भने शल्यक्रिया गर्नु राम्रो हुन्छ ।

महिला र पुरुषको हकमा यो रोग कसलाई बढी मात्रामा देखिने गर्छ ?

त्यसरी महिला या पुरुषमा यसलाई बढी लाग्ने भन्ने हुँदैन तर पनि पुरुषको तुलनामा यस्तो रोगका कारण महिलाहरु नै बढी ग्रसित हुनुहुन्छ ।

यो त्यति परिचित रोग हैन, यसकारण सरदर एक महिनामा यस रोगका बिरामीहरु कति मात्रामा देखा पर्दछन् ?

यो रोग एक सय जनामा जम्मा एकजनामा देखिन्छ ।

कुन उमेर समुहका व्यक्तिहरुमा यो रोग बढी मात्रामा देखिने गर्छ ?

यो रोग ठ्याक्कै यही उमेर समूहका व्यक्तिहरुमा बढी देखा पर्छ भन्ने छैन । यद्यपि ३० वर्षदेखि ४० वर्षसम्मका व्यक्तिहरुमा यो बढी मात्रामा देखिने गर्छ ।

यो सामान्य रोग हो भन्नुभयो, यसका जटिलताहरु छन् कि छैनन् ?

यो रोग सामान्य नै भए पनि यसका जटिलताहरु पनि छन् । शरीरमा आएका मासुका डल्ला बढ्दै गएको खण्डमा पछि गएर रगतका नशाहरुलाई असर गर्न सक्छ । यस्तै स्नायु नशाहरुलाई पनि च्याप्न सक्छ । त्यस्तो भयो भने दुख्ने गर्छ ।

अर्को एउटा के पनि हुन सक्छ भने लाइपोमाबाट क्यान्सर पनि हुन सक्छ तर क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ । यो रोग पेटभित्र, मुटुमा अथवा शरीरको जुनसुकै भागमा पनि हुन सक्छ । यदि पेट, मुटु, आन्द्राजस्तो संवेदनशील भागमा भयो भने यो निकै खतरापूर्ण पनि हुनसक्छ । यदि आन्द्रामा भयो भने पेट दुख्ने, फुल्ने, दिशा नहुने समस्या पनि देखिन सक्छ ।

त्यस्तै मुटुभित्र भयो भने रगतको नशाबाट फैलिएर शरीरको कुनै भागमा रगत नै बन्द पनि हुनसक्छ । यसले स्वास प्रस्वासको समस्या हुन सक्छ । बाहिरी भागमा भएको खण्डमा भयो भने यसलाई सामान्य रुपमा लिन सकिन्छ ।

मुख्यतया शरीरका कुन–कुन भागहरुमा लाइपोमा देखा पर्दछ ?

यो रोग खास गरी हातखुट्टा, घाँटी, छाति, ढाड तथा पाखुरामा भएको पाइन्छ । अझ भन्ने हो भने शरीरको बोसो हुने भागमा यो रोग देखा पर्दछ ।

अन्त्यमा, पाठकलाई यो रोगका बिषयमा के सुझाव दिन चाहनुहुन्छ ?

यो रोग निकै सामान्य र साधारण रोग हो । रोग लाग्यो भन्दैमा डराइहाल्नुपर्ने अवस्था छैन । अहिले मानिसमा चेतनाको स्तर वृद्धि हुँदै जाँदा शरीरमा मासु तथा गाँठाहरु पलाउनसाथ क्यान्सर भयो भन्ने त्रास बोकेर उपचार गर्न आउनुहुन्छ ।

त्यस्तो भयंकर केही पनि हुँदैन । कतिपय अवस्थामा यो रोग शल्यक्रिया नगर्दा पनि ठीक हुन्छ । तर शरीरको भित्री भागमा यो रोग देखा परेको शंका लागेमा बेलैमा अल्ट्रासाउण्ड गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?