मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनशैली

शक्तिशाली अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘आइसक्रिम’ सोख, कस्तो छ उनको जीवनशैली?

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन संसारकै शक्तिशाली व्यक्ति हुन् । विश्व महाशक्ति राष्ट्र अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेन उमेरले ८१ वर्ष पुगिसकेका छन् । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने उनी सबैभन्दा पाका व्यक्ति पनि हुन् ।

अमेरिकी राष्ट्रपतिको विलासी जीवनशैली, शक्तिशाली सुरक्षा घेरा, विशेष विमान, हेलिकोप्टर लगायतमा सवारी हुने अमेरिकी राष्ट्रपतिको जीवनशैलीले संसारकै ध्यान खिच्ने गर्छ ।

बाइडेनले वार्षिक ४ लाख अमेरिकी डलर तलब वापत् लिन्छन् भने वार्षिक मनोरञ्जन भत्ता मात्र १९ हजार डलरभन्दा बढी हुन्छ ।

अमेरिकी राष्ट्रपतिको निवास र कार्यालय एउटै कम्पाण्डमा छ । जसलाई ह्वाइट हाउस भनिन्छ । चार दशक राजनीतिमा बिताइसकेका बाइडेन दोस्रो कार्यकालका लागि यही वर्षको नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानहरूमा सक्रिय भइसकेका छन् ।

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार समाल्नु पक्कै पनि चानचुने जिम्मेवारी होइन । उनको जीनवशैली र कार्यशैलीले अमेरिकाको मात्र नभएर विश्वभर रहेको अमेरिकी शक्ति, प्रभाव र वैभवलाई प्रतिनिधित्व गर्दछ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका अनुसार सातामा उनी पाँच दिन काममै व्यस्त हुन्छन् ।

सिड्नी विश्वविद्यालयको मुस्कुलोस्केलेटल स्वास्थ्य प्रतिष्ठानकी प्राध्यापक एन टिडमान पाको उमेरसँगै मानिसको क्षमता र चरित्रमा युवामा भन्दा थप विविधता आउने बताउँछिन् । उनका अनुसार ८० वर्षको उमेर पुगेको मानिसले समुदायमा दिने योगदान व्यक्तिपिच्छे फरक पर्छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले जारी गरेको स्वास्थ्य प्रतिवेदनअनुसार राष्ट्रपति बाइडेन मुटुको अनियमित चालबाट पीडित छन् । त्यसबाहेक उच्च कोलेस्ट्रोल, कहिलेकहीँ देखा पर्ने एलर्जीबाट पनि उनलाई बेला बेला समस्या पर्ने गर्छ । त्यस्तै, उनको खुट्टाको स्नायुमा पनि सामान्य छ ।

स्वास्थ्य प्रतिवेदनमा चिकित्सकले उनी ‘स्वस्थ र सबल’ रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न ‘फिट’ रहेको उल्लेख गरेका छन् । ह्वाइट हाउसका अनुसार उनी राति हुने कार्यक्रममा जान मन पराउँदैनन् ।

सुरक्षा तथा अन्य विविध कारणले गर्दा ह्वाइट हाउसले उनको दैनिकी सार्वजनिक गर्दैन । तैपनि हालै एक्जियोसले सार्वजनिक गरेको समाचारमा राष्ट्रपति बाइडेन बिहान वा सप्ताहन्तमा विदा पर्ने दिन पनि बाइडेन सार्वजनिक वा निजी कार्यक्रममा जाँदैनन् । सातामा कार्यालय सञ्चालन हुने दिन बिहान १० देखि बेलुकाको ४ बजेसम्म मात्रै बाइडेन सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।

टिडमानका अनुसार पाको उमेरमा को कति स्वस्थ छ भन्ने विषय व्यक्तिको जीवनशैली, शारीरिक क्रियाकलाप, खानेकुरा, धुम्रपान एवम् मदिरा सेवन गर्ने बानी र सुत्ने आनीबानीले निर्धारण गर्छ । ह्वाइट हाउसको स्वास्थ्य प्रतिवेदनमा बाइडेनले कहिल्यै धुम्रपान एवम् मदिरा सेवन नगर्ने उल्लेख गरिएको छ । त्यस्तै, उनी सातामा कम्तीमा ५ दिन शारीरिक व्यायाम गर्छन् ।

वासिङ्टन पोस्टका अनुसार बाइडेनको दिनको सुरुवात शारीरिक व्यायामबाट हुन्छ । उनी प्रायः व्यक्तिगत प्रशिक्षकका साथ नै व्यायाम गर्छन् । ६ फिट उचाइका बाइडेनलाई यस्ता शारीरिक व्यायामले रक्तचाप नियन्त्रण गर्न र तन्दुरुस्त बनाउन धेरै सहयोग पुग्ने गरेको छ ।

व्यक्तिको स्वास्थ्य उसको परिवार र पारिवारिक माहोलले पनि निर्धारण गर्छ । राष्ट्रपति बाइडेनलाई स्वस्थ र तन्दुरुस्त राख्न उनको परिवारको पनि उत्तिकै ठूलो भूमिका छ । राष्ट्रपतीय जिम्मेवारीमा जति नै व्यस्त भए पनि बाइडेनले आफ्नो परिवारलाई पनि समय दिन्छन् । पारिवारिक घुलमिल र श्रीमती, छोराछोरी र नातिनातिनालाई उनले प्रशस्तै समय दिन्छन् । उनी प्रायः आफ्नी श्रीमती जिलसँग डिनर गर्छन् ।

त्यसबाहेक आफ्ना परिवारका सदस्यको फोन उठउन हिच्किचाउँदैनन् । केही समयअघि उनले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मा लेखेका थिए, ‘मेरो जीवनमा एउटा मान्यता छ, जे भइरहेको भए पनि वा जतिसुकै महत्वपूर्ण बैठक भए पनि म आफ्ना नातिनातिनाको फोनको जवाफ दिन्छु ।’

नातिनातिनासँग धेरै नै घुलमिल हुने भएर होला नातिनातिनाले बाइडेनलाई ‘पप’ भनेर बोलाउँछन् ।

आइसक्रिमका पारखी

श्रीमती एवम् प्रथम महिला जिल बाइडेनले राष्ट्रपति बाइडेनको खानपिन ‘सामान्य’ रहेको बताएकी छिन् । बाइडेन धेरै खाँदैनन् । खाए पनि ठिक्क खान्छन् । उनी लन्चमा सुप, ग्रिल गरिएको चिकेन र सलाद लिन्छन् । त्यस्तै, उनको डिनरमा पास्ता र रेड सस पनि हुन्छ ।

हरियो सागपात, माछाका चिल्ला परिकार र न्यून मात्रामा प्रशोधित मासुजस्ता खानेकुरा शारीरिक र मानसिक स्वास्थ्यका लागि धेरै नै महत्वपूर्ण रहेको साउथ अस्ट्रेलिया विश्वविद्यालयको स्वास्थ्य विभागकी डा. एस्ले स्मिथ बताउँछिन् ।

उनका अनुसार स्वस्थ खानेकुराको सेवन र नियमित शारीरिक व्यायाम गरेको खण्डमा चकलेट बिस्कुट, आइसक्रिम, कोकाकोलाजस्ता खानेकुराको सेवनले खासै असर पर्दैन ।

बाइडेन गुलियो स्वाद रुचाउँछन् । उनले ह्वाइट हाउसमा चकलेट चिप बिस्कुटको भण्डार नै राखेको बताइन्छ । त्यसबाहेक उनी ललिपप, कोक जिरो, सुन्तलाको स्वाद भएको पेय पदार्थ, पिनट बटर पनि मन पराउँछन् । त्यसैगरी, जाम स्याण्डविच पनि राष्ट्रपति बाइडेनलाई असाध्यै मन पर्ने खानेकुरा हो ।

राष्ट्रपति बाइडेन आइसक्रिमका पारखी नै हुन् ।

सन् २०१६ मा एउटा आइसक्रिम कारखानाको भ्रमण गर्दा बाइडेनले मञ्चमै पुगेर भनेका थिए, ‘मेरो नाम जो बाइडेन हो र म आइसक्रिम धेरै नै मन पराउँछु । तपाईँहरूलाई मैले ठट्टा गरेजस्तो लाग्ला, तर होइन । म अरु तीन जनाले खाने आइसक्रिम एकैपल्टमा एक्लै खाइदिन सक्छु ।’

त्यसअघि सन् २०१० मा पनि उनले घोषणा नै गरेका थिए, ‘म आइसक्रिमको पारखी नै हुँ । म पिउँदिन, म धुवाँ उडाउदिनँ । तर म धेरै नै आइसक्रिम खान्छु ।’ उनी चकलेट चिप स्वादको आइसक्रिम मन पराउने उनका निकटस्थहरू बताउँछन् ।

उनी यति धैरै आइसक्रिम मन पराउँछन् कि, सन् २००८ मा ओहायो राज्यमा सिनेटर शेरोड ब्राउनको चुनावी अभियान चल्दै गर्दा एउटा ब्राउनकी आमा एमिलीसँगै आइसक्रिम खान पसल पुगेका थिए । सन् २०२० मा अमेरिकी लेट नाइट टेलिभिजन होस्ट जिम्मी फालोनको कार्यक्रममा सहभागी हुँदा अन एअरमै बाइडेनलाई आइसक्रिम खान दिइएको थियो ।

आइसक्रिमबारे मजाक गर्दा उनी एकपटक झण्डै समस्यामा परेका थिए । गत वर्ष मार्चको अन्त्यतिर टेनिसी राज्यको नाशभिलमा रहेको एक विद्यालयमा तीन केटाकेटी र तीन वयस्क र आक्रमणकारीसमेत ७ जनाको ज्यान जाने गरी गोलीकाण्ड भएको थियो ।

त्यस गोलीकाण्डपछि राष्ट्रपतिले ह्वाइट हाउसमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । साना व्यवसाय प्रशासनले आयोजना गरेको महिला उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले सम्बोधनको सुरुमै भनेका थिए, ‘धन्यवाद मेरो नाम जो बाइडेन हो । म डा. जिल बाइडेनको श्रीमान् हुँ । म जेनीको चकलेट चिप आइसक्रिम खान्छु । चकलेट चिप छ होला भन्ने सुनेर म तल आएको हुँ । माथि फ्रिजभरी आइसक्रिम छ । तपाईँलाई ठट्टा गरेजस्तो लाग्ला, तर होइन ।’

गोलीकाण्ड भएको केही घण्टालगत्तै आयोजित कार्यक्रममा असंवेदनशील टिप्पणी गरेको भन्दै त्यसबेला उनको आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?