मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौलिक पहिरनमा युवापुस्ताको आधुनिक फ्युजन

काठमाडौँ– हालै ल्होछार पर्वभन्दा केही दिन अगाडि ‘मम्स इन्टरनेशनल नेपाल’की निर्देशक रञ्जिता तामाङ आधुनिक फ्युजनसहितको तामाङ पोशाकका कारण विवादमा परिन् ।

‘मिस तामाङ’को संस्करणलाई अगाडि बढाइरहेकी उनलाई तामाङ मौलिक पहिरन तोडमोड गरेर विकृति ल्याएको आरोप समुदायका केही युवाले लगाएका थिए । उनले तामाङ पहिरनलाई लेहेङ्गा डिजाइनमा तयार गरेर लगाएकी थिइन् ।

उनको लेहेङ्गा डिजाइन लुङ्गीको अगाडि भाग घुँडाको केहीमाथिसम्म पुर्‍याइको थियो । विश्वले विकासको फड्को मारेर एउटै भूगोल बनेको अहिलेको समयमा आफ्नो मौलिकतालाई अन्तर्राष्ट्रियकरण गर्ने बाटोमा आफू रहेको उनले एक मिडिया मार्फत नै जवाफ फर्काएकी थिइन् ।

अहिले रञ्जिता मात्र नभएर मौलिक पहिरनमा देखिन चाहने युवापुस्ताको संख्या उल्लेख्य देखिन्छ । उनीहरु आधुनिकतामा पनि आफ्नै संस्कृति र आफ्नोपना चाहन्छन् । फलस्वरुप युवा पुस्ताहरु मौलिक पहिरनमा आधुनिक फ्युजनसहित देखिन थालेका छन् ।

आधुनिकतालाई अंगालेका युवा पुस्ताले फेसनको ट्रेन्डलाई पछ्याए पनि आफ्नो मौलिक पोशाकप्रतिको लगावलाई सँगै बोकेर हिँडेको देखिन्छ । समय र पुस्तान्तरणका कारण मौलिक पहिरनमा फ्युजन देखिएको यस क्षेत्रका विज्ञहरु बताउँछन् । विशेष गरी तामाङ, मगर, गुरुङ, राई लगायतका समुदायका मौलिक पहिरनहरु आधुनिक रुपमा आएका छन् ।

मोडल तथा डिजाइनर सीता राईले किराती पहिरनलाई आधुनिक स्वरुपमा ल्याइरहेकी छिन् । उनका अनुसार उनको इमाडोलस्थित ‘लिब्जु कलेक्सन’मा युवा पुस्ताहरुको रोजाइ फ्युजनसहितका मौलिक पहिरनहरुमा नै हुन्छ । उनी आफैं पनि आधुनिकता सँगै मौलिक पहिरनलाई अगाडि बढाउनुपर्ने पक्षमा जोड दिन्छिन् ।

असन, इन्द्रचोक, भेडासिं, बौद्ध जस्ता मौलिक पहिरन पाइने स्थानहरुमा फ्युजनसहितका पोशाकहरु नै अधिक मात्रामा पाइन्छन् । जसमा युवा पुस्ताको रोजाइलाई नै प्राथमिकतामा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?