मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

पैसाको खेलमा ‘महाजात्रा’, यस्तो छ टिजर (भिडियो)

काठमाडौँ– प्रतिक्षित फिल्म ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ । मङ्गलवार (आज) युट्युबमार्फत फिल्मको टिजर सार्वजिनक गरिएको हो ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा पैसाकै वरिपरि घुमेका तीन पात्रको कथालाई प्रस्तुत गरिएको छ । यसअघि ‘जात्रा’ र ‘जात्रै जात्रा’ मा पनि यस्तै खालको कथानक प्रस्तुत गरिएको थियो ।

यसअघि निर्देशक भट्टराईले निर्देशन गरेका फिल्म सफल भएकाले पनि यो फिल्मलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । यो निर्देशकको डेब्यु फिल्म ‘जात्रा’ को तेस्रो सिक्वेल हो ।

’जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

अघिल्ला शृङ्खखला झैँ यसपटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको जनाइएको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने कथा टिजरमा देखाइएको छ ।

‘महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा उत्तिकै ध्यान दिएका छौँ, हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खलाभन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’, निर्देशक भट्टराईले भने ।

फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ मार्फत उनले यसपटक आम मानिसको समस्यालाई उजागर गर्ने बताए । ‘महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौं । यसकारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौं’, अभिनेता झाले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले दर्शक खुशी भएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको बताए । ‘अघिल्ला शृङ्खला भन्दा प्राविधिक पक्षमा मात्र नभई विषयवस्तु र कथामा पनि बलियो बनाउन कुनै कसर बाँकी राखेका छैनौँ’, उनले भने ।

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले विदेशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन हुने बताए ।

यो फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

यस्तै फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

हेर्नुहोस् टिजर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?