काठमाडौँ– प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसिलय इन्टिलिजेन्स–एआई) ले मानव जीवनलाई सहज बनाइदिएको छ । एआईको प्रयोगबाट मानव मष्तिष्कको प्रयोग नै नगरी केही मिनेट वा सेकेण्डभित्रै कृत्रिम तस्वीरहरूको सिर्जना, लेख, जीवनी, गीत, कार्यालयका लागि आवश्यक पर्ने निवेदन, आख्यान लेखन, कम्प्युटर कोडिङ, समान्यदेखि जटिल गणितीय हिसाब गर्न सम्भव भएको छ ।
अहिले प्रविधिको विकास यति तीव्र गतिमा भएको छ कि, तपाईँले सोधेका हरेक प्रश्नको सटिक जवाफ केही सेकेण्डमै एआईले दिन सक्छ । कतिपयले अबको केही समयमा नै एआई मानव मष्तिष्कको विकल्पको रुपमा विकसित हुने दाबी गरिरहेका छन् । एकातर्फ एआईले मानव जीवन र मान्छेले गर्ने कामलाई धेरै नै सहज बनाइदिएको छ ।
अर्कोतर्फ आलोचकहरु भने यसको विस्तारसँगै मानव मष्तिष्कको प्रयोग हुने काम पनि यसैले गर्ने भएकाले धेरै जनाको रोजगारी पनि गुम्दै जाने चिन्ता गर्छन् ।
ओपनएआई कम्पनीको च्याटजीपीटी नाम दिइएको ‘एआई च्याटबट’ अर्थात् मानव प्रयोगकर्तासँग अन्तर्क्रिया गर्ने ‘बट’ लोकप्रियताको चरम विन्दुमा छ । यो च्याटबट छोटो समयमा नै निकै चर्चित भएको छ । जेनेरेटिभ प्रिट्रेण्ड ट्रान्सफर्मर जीपीटी प्रविधिमा आधारित यस च्याटबटले बोलीचालीको भाषामै जवाफ दिन्छ ।
यसले पनि प्रयोगकर्तालाई च्याटजीपीटी प्रयोग गर्न सहज हुन्छ । च्याटजीपीटीको प्रयोग साहित्य तथा आख्यान लेखन, शैक्षिक तथा प्राज्ञिक शोध, साइबर सुरक्षा र कोडिङ, अर्थशास्त्र एवम् वित्त, चिकित्सा र औषधि विज्ञान, कानुनजस्ता क्षेत्रमा हुँदै आएको पाइन्छ ।
सन् २०१५ मा स्थापना भएको ओपनएआई नामक संस्थाले यस च्याटबटको विकास गरेको हो । सुरक्षित र मानव उपयोगी कृत्रिम बुद्धिमत्ताको विकास गर्ने उद्देश्यले यो कम्पनीको स्थापना भएको हो । सन् २०१५ को डिसेम्बर महिनामा प्रविधि उद्यमीहरु इलन मस्क, साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, जेसिका लिभिङ्स्टोन, इल्या सुत्सकेबर, जोन सुलम्यान, योशुवा बेन्जिओ, वोइचेख जारेम्बाहरु मिलेर ओपनएआईको स्थापना गरेका थिए ।
शुरुमा यस कम्पनीमा अमेजन वेब सर्भिस, इन्फोसिस र वाईसी क्रिएसनले पनि लगानी गर्ने बताइएको थियो ।
वायर्डमा प्रकाशित एक रिपोर्टअनुसार गहन अध्ययन (डीप लर्निङ) गर्नसक्ने प्रविधिमा रुचि राख्ने ग्रेग ब्रोकम्यनले शुरुमा योशुवा बेन्जियोलाई भेटेका थिए । दुवै प्रविधि उद्यमीले कृत्रिम बुद्धिमत्ताको अध्ययन अनुसन्धान गर्न एउटा गैर नाफामूलक संस्था स्थापना गर्ने निर्णय गरे । पछि उनीहरु दुवैले एआईसँग सम्बन्धित क्षेत्रका उत्कृष्ट शोधकर्ताको सूची तयार पारे । त्यसपछि उनीहरुले नौ जनालाई नयाँ कम्पनीमा नियुक्त गरे ।
माइक्रोसफ्टका पिटर लीले बताएअनुसार त्यसबेला एक जना एआई शोधकर्ताको तलब अमेरिकी फुटबल लिग एनएफएलमा खेल्ने खेलाडी बराबर थियो । इलन मस्कले लगानी गरेका कारण पनि त्यसबेला यस संस्थाले कर्मचारीलाई राम्रै तलब दिएर राखेको थियो । यद्यपि उक्त कम्पनीमा काम गर्ने कर्मचारीले फेसबुक र गुगलजस्ता प्रविधि कम्पनीले दिने जति तलब भने पाएका थिएनन् ।
गैरनाफमूलक संस्थाका रुपमा स्थापित भएको एक वर्षपछि ओपनएआईले रिइनफेर्समेन्ट लर्निङसम्बन्धी पहिलो ओपन सोर्स टुलकिट ‘ओपनएआई जिम’ सार्वजनिक गर्यो । त्यसको दुई वर्षसम्म ओपनएआईले एआई वकास र एआईको शोधमा ध्यान केन्द्रित गर्यो । सन् २०१८ मा आएर ओपिनएआईले जेनेरेटिभ प्रिट्रेन्ड ट्रन्सफर्मर (जीपीटी) बारे शोध प्रतिवेदन सार्वजनिक गर्यो ।
ओपन एआईका शोधकर्ताहरुले ठूलो स्तरको डेटालाई निश्चित शैलीमा तयार पारी मानव मष्तिष्कजस्तै ‘आउटपुट’ दिनसक्नेगरी जीजीपीको मोडेल बनाएका थिए ।
यसरी बनाइएको यो मेसिन लर्निङ मोडेललाई प्रयोगकर्ताले खोजेको जवाफ मानव मष्तिष्ककै शैलीमा बोलिचालीको भाषामा दिनसक्ने गरी तयार पारिएको थियो । सन् २०१९ मा ओपनएआई गैरनाफामूलक कम्पनीमा परिवर्तन गरियो । त्यसको दुई वर्षपछि सन् २०२१ को जनवरीमा मा ओपनएआईले ‘डल–ई’ नामक जेनेरेटिभ एआई मोडल तयार पार्यो । यसले मानव प्रयोगकर्ताले दिएको तटस्थ भाषागत शब्दको विश्लेषण गरी त्यसलाई तस्वीरमा रुपान्तरण गर्नसक्थ्यो । यसको अर्थ प्रयोगकर्ताले शब्द लेखेकै आधारमा तस्वीर तयार हुन्छ ।
हालै मात्र यो कम्पनीले हालै भिडियो तयार पार्ने ‘सोरा’ नामक अर्को टुल सार्वजनिक गरेको छ । यसले वास्तविक लाग्ने भिडियोहरू, गेमहरू तथा एनिमेटेड भिडियो शब्द लेखेकै भरमा तयार पारिदिन सक्छ ।
ओपनएआईले आफ्नो सबैभन्दा चर्चित उत्पादन च्याटजीपीटी भने नोभेम्बर २०२२ मा सार्वजनिक गर्यो । एआईमा आधारित हालसम्मकै अत्याधुनिक च्याटबटका रुपमा विकास गरिएको च्याटजीपीटीले मानव प्रयोगकर्ताले सोधेको जस्तोसुकै प्रश्नको जवाफ पनि दिनसक्छ ।
त्यसमाथि मानवले गर्ने अन्तरक्रियाको शैलीमा सरल र स्पष्टसँग जुनसुकै विषयका प्रश्नको जवाफ दिनसक्ने भएकाले छोटो समयमा नै च्याटजीपीटी विश्वभर चर्चित भयो । च्याटजीपीटी सार्वजनिक भएको छोटो समयमा नै यति धेरै चर्चित होला भनेर आफूहरुले अपेक्षा नगरेको ओपनएआईका इन्जिनियरहरु बताउँछन् ।
च्याटजीपीटीबारे न्यूयोर्क टाइम्समा केभिन रुजले ‘आम सर्वसाधारणका लागि सार्वजनिक गरिएको हालसम्मकै उत्कृष्ट एआई च्याटबट’ को संज्ञा दिएका थिए । द गार्जियनकी सामान्था लकले च्याटजीपीटीले ‘प्रभावशाली रुपमा विस्तृत र मानवजत्तिकै प्रतिक्रियात्मक आउटपुट दिनसक्ने’ उल्लेख गरेकी थिइन् ।
सन् २०२३ को नोभेम्बर महिनामा आएर ओपनएआईको बोर्डले कम्पनीका सहसंस्थापक एवम् प्रमुख कार्यकारीका रुपमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका साम अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय गर्यो ।
त्यसलगत्तै ग्रेग ब्रोकम्यनले पनि कम्पनी छाडे । कम्पनीले गेमिङ स्टिमिङ साइट ट्विचका सहसंस्थापक एमेट शेअरलाई नयाँ कार्यकारी नियुक्त गर्यो । कम्पनीले बर्खास्त गरेको तीन दिनपछि माइक्रोसफ्टले ब्रोकम्यान र अल्टम्यानलाई नियुक्त गर्ने निर्णय गर्यो ।
उनीहरुलाई बर्खास्त गरेपछि ओपनएआईमा काम गर्ने ५ सय जना कर्मचारीले बोर्डले तत्काल राजीनामा नदिए आफूहरुले जागिर छाड्ने चेतावनी दिएका थिए । पछि कम्पनीले बाध्य भएर अल्टम्यान र ब्रोकम्यानलाई पुनः नियुक्त गर्यो ।
शुरुवाती चरणमा टेस्ला कम्पनीका संस्थापक इलन मस्कले यस कम्पनीमा लगानी गरेका थिए । पछि आफ्ना अरु व्यवसायमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुने भएपछि मस्क कम्पनीको बोर्डबाट पछि हटेका थिए ।
यस कम्पनीमा अर्को प्रविधि कम्पनी माइक्रोसफ्टले सन् २०१९ मा बहुवर्षीय सहकार्य सम्झौता गर्दै १ अर्ब डलर लगानी गरेको थियो । पछि सन् २०२३ मा माइक्रोसफ्टले १० अर्ब डलर लगानी गरेको थियो । माइक्रोसफ्टको सर्च इन्जिन बिङले ओपनएआईको प्रविधिलाई सम्मिलित गर्यो ।
पछिल्लो समय माइक्रोसफ्टले ओपनएआईले विकास गरेको एआई प्रविधिलाई बिङसँगै माएइक्रोसफ्ट एज ब्राउजर, आउटलुक र टिम्सजस्ता माइक्रोसफ्ट ३६५ का उत्पादनमा समावेश गरेको छ भने यसमै आधारित ‘कोपाइलट’ पनि सार्वजनिक गरिएको छ । कोपाइलटका माध्यमबाट च्याटजीपीटीको प्लस भर्जन पनि नि:शुल्क प्रयोग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया