मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल लिटरेचर फेस्टिभल

नेपाल किन घुम्ने ?

पोखरा– घुमफिर गर्न रूचाउने र आफ्नो घुमफिर अरूलाई देखाउने ‘कन्टेन्ट क्रिएटर’ हुन् – कञ्चन राई र पूजा रिजाल । घुमन्तेको नामले परिचित कञ्चन र सोलो ट्राभलर पूजाले सोमबार पोखरामा आफ्नो घुमफिर अनुभव सुनाए ।

सोमवार नेपाल लिटरेचर फेस्टिभलमा सहजकर्ता दीपकराज जोशीसँग ‘घुमन्तेका कुरा’ सत्रमा उनीहरूले घुमफिर अनुभव मात्र सुनाएनन् घुम्न जानुअघि के–के गर्ने भनेर टिप्स पनि दिए ।

पूजाको शब्दमा घुम्नु भनेको कुनै गन्तव्य पुग्नुमात्र होइन । आफू गन्तव्यसम्म पुग्दा बास बसेको, खानपिन अनुभव र मौसम पनि यात्राका महत्वपूर्ण पाटो रहेको उनले सुनाइन् ।

‘घुमौं भनेर त्यहाँ गएर खाना कस्तो छ, संस्कृति थाहा पाउन त्यहीँ जान पर्छ । कहीँ बस्न मन लाग्छ । कुनै ठाउँको खाना मीठो लाग्छ,’ उनले भनिन्, ‘घुम्नु भनेको ठाउँमा पुग्नुमात्र होइन । को मान्छे भेटिन्छ, कस्तो खाइन्छ, कस्तो मौसम थियो भन्ने यादले ट्राभलसँग जोड्छ ।’

पैसा र समय खर्चिएर किन घुम्ने ? हामीले आफ्नो जीवनलाई दुःखको कुन अवस्थासम्म धान्न सकिन्छ भन्ने बुझ्न पनि घुम्न आवश्यक रहेको पूजाले बताइन् । यात्राले धैर्य र घुलमिल हुन सिकाएको अनुभव रिजालको छ ।

‘ट्राभल भनेर हामीले दिमागमा वाह भन्ने बनाउँछौं । ट्राभल दुःख पनि हो । कहिलेकाहीँ क्याम्पिङ गर्दा कहिल्यै नगर्नु परेजस्तो हुन्छ,’ पूजाले थपिन्, ‘गन्तव्यमा पुग्ने लक्ष्य हुन्छ, कसैको जहाँसम्म पुग्छु अनि फर्कन्छु भन्ने हुन्छ । आफूलाई मनपर्ने कुरा र कसरी बाँच्न सकिन्छ भन्ने बुझ्न पनि घुम्ने हो ।’

मनोरञ्जन लिन मात्र भन्दा पनि आफूमा परिवर्तन ल्याउन पनि घुम्नुपर्ने कञ्चनको भनाइ छ । घुम्न थालेदेखि आफ्नो सोचाइ र रुचिमा सकारात्मक परिवर्तन भएको उनले अनुभवसहित सुनाए ।

‘पहिला एनटीभीमा लोकदोहोरी बझ्दा झर्को लाग्थ्यो । आजकल लोकदोहोरी र परम्परागत धुन बज्यो भने कहाँको रैछ, कुन भेगको रैछ, कसले गाउने रैछ भन्ने चासो लाग्छ,’ उनले भने ।

घुम्न जाँदा गाउँमा सहयोग गर्ने भावना देखेर आफू प्रभावित रहने गरेको र यो नेपालको सुन्दर पक्ष भएको राईले बताए । तर, विकासले गर्दा गाउँमा रहेको यो ‘असल मानवीय संस्कार’ गुम्न सक्ने चिन्ता उनले सुनाए ।

‘कुनै गाउँ घुम्दा, नयाँ ठाउँ जाँदा हामी पर्यटक होइन । हामी बाटो हिँड्ने बटुवा मात्र हो,’ उनले भने, ‘पानी वा चिया माग्यो भने यसले चियाको पैसा यति दिन्छ भनेर अपेक्षा गर्नु हुँदैन । त्यो नेपालको मीठो पाटो छ । तर, विकासले गर्दा विस्तारै गुम्दै जान्छ होला ।’

विकास कार्यको पछाडि दौडँदा र व्यस्त जीवनशैलीले धेरै देशका जनताले सहयोगको भावना नै गुमाएको राईले सुनाए ।

नेपालको पर्यटन बजारले डिजिटल हिसाबले काम गर्न नसकेको र ट्राभल एजेन्सीले आफूजस्तै घुमफिर गर्नेसँग सहकार्य गर्न सके दुवैलाई फाइदा हुने बताए । स्थानीय तहले आफ्नो गाउँ–ठाउँका गन्तव्य चिनाउन प्रयास गरे पनि यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

अरूलाई नयाँ–नयाँ गन्तव्य देखाउने र घुम्न प्रेरित गर्नेका भने आफ्नै दुःख छन् । क्यामरा लिएर ‘स्टोरी’ खोज्दै हिँड्दा घुम्नुको मज्जा लिन नसकेको राईको अनुभव छ । ‘घुम्ने भनेको क्यामरा लिएर त्यो ठाउँको बारेमा सोधखोज गर्ने कामजस्तो भइसक्यो ।

जसले गर्दा मेरो ५० प्रतिशत घुमाइको मज्जा घटेको छ,’ उनले भने । भूगोलमा सयौं गुणा ठूला देशभन्दा नेपाल सानो भएपनि धेरै विविधता रहेको तर त्यसलाई प्रयोग गर्न नसकेको राईले बताए ।

पछिल्ला वर्ष स्थानीय सरकार पनि आफ्नो ठाउँका गन्तव्य चिनाउन सक्रिय छन् । स्थानीय सरकारहरु पनि आफ्नो ठाउँ चिनाउन सक्रिय हुनु निकै राम्रो पक्ष भएको रिजालको भनाइ छ ।

कहीँ घुम्न जानुअघि त्यो ठाउँको बारेमा अध्ययन गर्न, आफ्नो खर्चको हिसाब गर्न र सुरक्षाको अवस्था के छ भन्ने पनि थाहा पाउन उनको सुझाव छ । घुमफिरमा निस्कँदा डेटाबेसको अभाव र घुम्न जाने ठाउँबारे अध्ययन गर्ने स्रोतको कमी पर्यटन क्षेत्रको समस्या भएको पूजाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?