काठमाडौँ – सर्वोच्च अदालतको ‘वेबसाइट’मा प्रधान न्यायालय (२००८–२०१३) को फैसला हेर्न सकिने भएको छ ।
सर्वोच्च अदालत स्थापनाअघि अस्तित्वमा रहेको प्रधान न्यायालयले गरेका फैसलाहरूको डिजिटल अभिलेखीकरण भएको हो । आम मान्छेले बुझ्ने भाषामा ती फैसलाहरू सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा राखेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल कानुन पत्रिका प्रकाशनको दिवस पारेर सोमबार ती फैसलाहरूको अभिलेखीकरण सार्वजनिक गरेका हुन् ।
सर्वोच्च अदालत सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष न्यायाधीश हरिप्रसाद फुयालले प्रधान न्यायालयको फैसला उतारको काम सकिएको जानकारी दिँदै वेबसाइटमा ‘अपलोड’को काम भइरहेको बताएका छन् ।
उनका अनुसार २००९ देखि २०१४ सालभित्र प्रधान न्यायालयबाट भएका फैसला अपलोडको काम भइरहेका छन् भने छिट्टै सबै फैसला वेबसाइटमा राखिने छन् ।
प्रधान न्यायालय ऐन आएपछि भएको पहिलो फैसलाका रूपमा हाल उपलब्ध भएकामध्ये ‘बाटो खुलाइ पाऊँ’ भन्ने पहिलो फैसला रहेको र उक्त फैसला २००९ साउन २७ गते भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया