मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नौ जनालाई नइ पुरस्कार प्रदान गरिने

काठमाडौँ– नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जनालाई २०७९ सालको नइ पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा फागुन ७ गते बसेको प्रकाशनको बैठकले देशमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताए ।

प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी छ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित पोखराका प्रा.जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यस्तै छ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने छ ।

खेलकुदको विकास र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा बढाएकाले कुमार श्री मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’ प्रदान गरिनेछ ।

नेपाली कलाका फाँटमा अविच्छिन्न संलग्न रही अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रतिष्ठा बढाए बापत श्री कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनको स्थापनाका निम्ति विशिष्ट भूमिका निर्वाह गर्नुका साथै पत्रकारिताका माध्यमबाट सामाजिक चेतनाको निर्माण र नेपाली भाषाको संवर्धनका निम्ति अनुकरणीय योगदान गरेका हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ दिइने भएको छ ।
काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान गरेका स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गर्ने भएको छ ।

साथै सनातन अध्यात्म दर्शन र धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा समर्पित श्री कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिनेछ ।

त्यसै गरी नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रूपमा निरन्तर क्रियाशील रही नेपाली भाषासाहित्यको गौरव बढाए बापत श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यी सबै पुरस्कारका राशी जनही एक लाख रुपैयाँ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?