मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

बाल रङ्गमञ्चमा शैली थिएटरले गरेको सङ्घर्ष

काठमाडौँ– यतिबेला कमलपोखरीस्थित रुसी सदनमा ‘राष्ट्रिय बालनाटक महोत्सव–२०८०’को माहोल चलिरहेको छ । महोत्सवमा देशभरीबाट बाल नाटकहरु लिएर बालकालिकाहरु सहभागी भएका छन् । फागुन २ गतेबाट शुरु गरिएको महोत्सवमा दुई दर्जनभन्दा बढी नाटकहरु प्रतियोगिताका लागि आएका छन् ।

यो उत्सवमय माहोलमा बालबालिकाहरु त यसै रमाएका छन्, त्यो भन्दा रौनक रङ्गकर्मी नवराज बुढाथोकीको मनमा छाएको छ ।

महोत्सवमा नाटक हेर्नकै लागि विद्यालयहरुले बालबालिकाहरुलाई लहर लगाएर ल्याइरहेका छन् । आफ्ना नानीबाबुलाई नाटक देखाउन अभिभावकको उपस्थिति बाक्लो देखिएको छ । बाल नाटककै क्षेत्रमा काम गरिरहेका रंगकर्मी तथा लेखकहरुको एकैठाउँमा जम्काभेट भइरहेको छ ।

यही माहोलको परिकल्पना बुढाथोकीले १५ वर्ष अगाडि गरेका थिए । २०६५ सालमा शैली थिएटरको स्थापना भएपछि पहिलो वार्षिकोत्सवका अवसरमा रंगमञ्चमा केही नौलो कामको शुरुवात गरौं भन्ने उनको मनमा हुटहुटी थियो । रंगकर्मी त उनी यसै हुन् र नाटकहरु गरि नै रहेका थिए । बालबालिकाका लागि पनि केही गर्ने योजनाले उनी लगायत शैलीका समूहले २०६६ सालमा बाल नाटक महोत्सव शुरु गरे ।

शुरुवाती दिनको उनी स्मरण गर्छन् । त्यतिबेला बालबालिकाका लागि नाटक र उनीहरुका लागि नै भनेर रंगमञ्चको अभ्यास नभएको उनले सुनाए ।

‘बालबालिकाका लागि नै भनेर नाटक नै लेख्ने अभ्यास खासै थिएन, बालनाटकको माहोल नै थिएन भन्दा पनि हुन्छ । हामीले पहिलो वर्षमा सात वटा नाटक मञ्चन गरेर महोत्सव सम्पन्न गरेका थियौँ,’ जोय नेपालसँगको कुराकानीमा उनले भने ।

उनका अनुसार त्यतिबेला काठमाडौंबाहिरबाट जम्मा दुई/तीन वटा नाटकहरु आएका थिए । बाँकी शैली भित्रकै समूहमा भएकाहरु मिलेर नाटक तयार गरिएको थियो ।

अहिले शैलीको १५ औं संस्करणको महोत्सव हुँदै गर्दा बुढाथोकी यहाँसम्म आइपुग्नुको आरोहअवरोहलाई स्मरण गर्छन् । उनको समूहले आर्थिक चुनौती सधैं झेल्नुपर्‍यो । शुरुदेखि अहिलेसम्म आर्थिक स्रोत जुटाउन नै गाह्रो पर्ने उनले सुनाए ।

उनले भने, ‘अहिले नाटकहरु त आइ नै रहेका छन् । बाल नाटक भनेर पनि सबैले बुझ्नुभएको छ तर आर्थिक पक्षमा भने अलि गाह्रै हुन्छ ।’

अहिलेसम्म विभिन्न संघ–संस्था त कहिले व्यक्तिसँग सहकार्य गरेर नै शैलीले बाल नाटक महोत्सवलाई निरन्तरता दिइरहेको छ । यस वर्षको महोत्सव अगाडि आर्थिक जोहोका लागि शैली समूह निकै खटिए । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानदेखि नेपाल चलचित्र विकास बोर्डसम्म आर्थिक सहयोगकै पुगेको बुढाथोकीले सुनाए ।

विकास बोर्डबाट महोत्सवका लागि शैलीलाई केही रुपैयाँ आर्थिक सहयोग मिल्यो । कला क्षेत्रकै अझ नाटककै विकास र विस्तारका लागि भनेर प्रतिष्ठानबाट भने बजेट अभावको कारण देखाएर आर्थिक सहयोग प्राप्त भएन । प्रतिष्ठानमा नाटककै लागि भनेर नाट्य विभाग नै खडा छ ।

नाटक र रंगमञ्चका अग्रज मानिएकी रंगकर्मी निशा शर्मा प्रतिष्ठानकी कुलपति छिन् । बाल नाट्य क्षेत्रमै शैलीले गरेको संघर्ष र नाटकलाई बुझेकी कुलपति शर्माले महोत्सवका लागि आर्थिक सहयोग गर्नेछिन् भन्ने बुढाथोकीलाई केही आशा थियो । यसप्रति भने उनको चित्त दुखाइ छ ।

नाट्य क्षेत्रमा बुढाथोकी २०५४ सालदेखि जोडिएका हुन् । शैलीको स्थापना कालदेखि हालसम्म समूहमा को–को जोडिए र को–को छुट्टिए भन्ने उनीसँग लेखाजोखा र गुनाशाहरु छैनन् । आफूले रंगमञ्चमा देखेको सपनालाई उनले आजसम्म सँगै बोकेर हिँडेका, त्यसैमा उनको मन खुशी छ ।

बाल रङ्गमञ्चमा जोडिएका थुप्रै रङ्गकर्मीहरु छन् । बाल नाटक महोत्सवहरु भइरहेका छन् । बाल विकासको पक्षमा नाटकलाई जोडिएको छ । आज नाटकहरु प्रत्येक नीजि विद्यालयहरुमा पुगेका छन् । त्यहाँ रंगकर्मीहरु नाटक पढाउनकै लागि शिक्षकका रुपमा खटिरहेका छन् ।

बालबालिकाको सिकाइमा नाटकको महत्वलाई बौद्धिक तहबाट बहस हुन थालेका छन् । बाल नाट्य क्षेत्रले मारेको यो फराकिलो फड्कोलाई नै शैलीले आफ्नो उपलब्धी मानेको छ । शैलीको उपलब्धी नै बुढाथोकीका लागि आफ्नै सरह हो ।

‘आर्थिकसँगै आजको यो अवस्थामा आइपुग्न त्यति सजिलो थिएन । हामीहरु बाल नाटककै माध्यममा फैलिएका छौँ । विद्यालयहरू र प्रत्येक अभिभावकमा नाटकको डिमाण्ड बढेको छ । हाम्रो लागि यही नै उपलब्धी हो’, जोय नेपालसँगको कुराकानीमा उनले खुशी व्यक्त गरे ।

कस्तो हुनुपर्छ बाल रङ्गमञ्च ?

बालबालिकाहरुको विषय त्यसै पनि संवेदनशील छ । बाल मनोविज्ञान र तिनको परिवेशलाई सुहाउँदो सिर्जना हुनुपर्नेमा बुढाथोकीको धारणा छ । उनका अनुसार बालबालिकाहरुले अभिनय गर्दैमा बाल नाटक हुँदैन । बालबालिकाकै विषय र उनीहरुको उमेर सुहाउँदो विषयवस्तुमा अत्यन्तै सचेत हुनुपर्ने उनले बताए ।

उनका अनुसार विद्यालयदेखि नाटकघरसम्म प्रस्तुत गरिने बाल नाटकहरु बालबालिकाको विकासको लागि उपयोगी हुनुपर्छ । उनले अझै थपे, ‘बाल नाटकको अर्थ बालबालिकालाई कलाकार बनाएर अभिनय गराउने उद्देश्य मात्र होइन । उहाँहरुलाई जुनसुकै फिल्डमा कुनै न कुनै रुपमा यो क्षेत्र काम लाग्छ ।’

बालबालिकाको चौतर्फी विकासका लागि नाट्य क्षेत्रले सघाउने उनको मत छ । नाटकलाई बालबालिका र उनीहरुको बाल संसारलाई सँगै बोकेर लैजाने खालका सिर्जनामा लाग्न उनले बाल रङ्गमञ्चको क्षेत्रमा लागेका सम्पूर्ण रङ्गकर्मीहरुलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?