मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म

अभिनेता अनमोल केसीका पाँच ‘लभ स्टोरी’ सिनेमा

काठमाडौँ– ‘होस्टल’ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेका अनमोल केसीले पहिलो सिनेमाबाट नै सफलता पाए । जतिबेला उनी १७ वर्षका मात्र थिए । यसै सिनेमाबाट दर्शकले उनलाई ‘लभर ब्वाइ’का रुपमा रुचाए । भूवन केसीको सिनेमा ‘साथी म तिम्रो’ मा केमियो भूमिकामा देखिए पनि होस्टललाई उनको डेब्यु सिनेमा मानिन्छ ।

त्यसपछि निरन्तर दर्शकको माया बटुलेका अनमोलका लागि पछिल्लो सिनेमा ‘छड्के २’ ले भने नराम्रोसँग झट्का दियो । सिनेमामा अनमोलले दर्शकको माया अन्य सिनेमामा जसरी पाएनन् । सिनेमामा उनले आफूलाई फरक जनरामा उभ्याउने प्रयास गरेका थिए । जुन प्रयास निराशामा बदलिएपछि उनले नयाँ सिनेमामा धेरै विचार गरेर मात्र साइन गरिरहेका छन् ।

उनी अभिनित सिनेमा ‘फर्की फर्की’ को यतिबेला छायांकन भइरहेको छ । यो सिनेमामार्फत उनी फेरि लभर ब्याइकै भूमिकामा देखिँदैछन् ।

यहाँ अनमोल अभिनित पाँच रोमान्टिक लभ स्टोरी सिनेमाबारे चर्चा गरिएको छ ।

जेरी

हेमराज बिसी निर्देशित सिनेमा ‘जेरी’ मा युवापुस्ताको प्रेमकथा समावेश छ । सिनेमामा अनमोलसँगै अभिनेत्री आना शर्मालाई शीर्ष भूमिकामा देख्न सकिन्छ । ‘जेरी’ आनाको डेब्यु सिनेमा हो । यसमा अनमोलले आधुनिक प्रेम सम्बन्धलाई रुचाउने लभर ब्वाइको भूमिका निभाएका छन् ।

ड्रिम्स

अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको सिनेमा ‘ड्रिम्स’मा अनमोलसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लभ रोमान्स देख्न सकिन्छ । सिनेमामा दुवै घमण्डी चरित्रमा भएपनि प्रेममा परेका छन् । साम्राज्ञीले यसै सिनेमा मार्फत नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेकी हुन् । २०७२ सालमा प्रदर्शन भएको सिनेमालाई निर्देशक केसीसहित कपिल रिजाल, भानु फुयाल र सत्यनारायण केयले निर्माण गरेका हुन् ।

गाजलु

२०७३ सालमा प्रदर्शन भएको सिनेमा ‘गाजलु’मा अनमोलकी जोडीकी रुपमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन् । पूर्व मिस नेपाल श्रेष्ठको यो डेब्यु सिनेमा हो । निर्माता रोहित अधिकारी रहेको सिनेमाको निर्देशन हेमराज बिसीले गरेका छन् । सिनेमा पूर्व कुमारीको कथामा आधारित भएर त्यसैमा प्रेमलाई समावेश गरिएको छ ।

कृ

युवापुस्ताबीच नै चलिरहेको प्रेमकथामा आधारित सिनेमा ‘कृ’ मा अनमोलका साथमा अभिनेत्री अदिति बुढाथोकीलाई देख्न सकिन्छ । सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोल लभर भन्दा पनि एक्सन ब्वाइका रुपमा देखिएका छन् । यद्यपि सिनेमामा लाहुरे(अनमोल) र केशर(अदिति)को अनस्क्रिन प्रेमकथा देख्न सकिन्छ । अदितिले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।

ए मेरो हजुर ३

अभिनेत्री झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलका साथ सुहाना थापाले नव अभिनेत्रीकी रुपमा सिनेमामा डेब्यु गरेकी छिन् । सिनेमामा निर्माता सुनीलकुमार थापा छन् । सिनेमामा अनमोल र सुहानाको अनस्क्रिन सांगीतिक प्रेमकथा समावेश छ ।

ए मेरो हजुर ४

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ दर्शकले रुचाएपछि सोही टिमले निर्माण गरेको सिनेमा हो, ए मेरो हजुर ४ । यो सिनेमामा अनमोल केसी र सुहाना थापाले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यसमा पनि अनमोल र सुहानाले प्रेम जोडीको भूमिका निर्वाह गरेका छन् । यो सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?