मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला जोडी

कला सिर्जनाका प्रेमिल पृथ्वी र सौरगंगाको जोडी: जो एक अर्काका लागि जीवन सारथि मान्छन्

काठमाडौँ– भर्खरै ‘प्रणय दिवस’ सकिएको छ । थुप्रै जोडीहरुले प्रेमको नाममा एक–अर्कालाई उपहार दिँदै माया साटासाट गरे । कला क्षेत्रका जोडी पृथ्वी श्रेष्ठ र सौरगंगा दर्शनधारीलाई भने ‘प्रणय दिवस’ का दिन कला क्षेत्रमै भ्याइनभ्याइ थियो ।

भर्खरै शुरु भएको संयुक्त कला प्रदर्शनी र कला क्षेत्रका अन्य गतिविधिमै पृथ्वी र सौरगंगा व्यस्त भए ।

पाटक चाकुपाटस्थित ‘एम क्युव ग्यालरी’मा माघ २६ गतेदेखि शुरु गरिएको प्रदर्शनीमा दुवैका कलाकृतिहरु राखिएका छन् । ‘फ्लोइङ दुगेदर’ शीर्षकमा जारी प्रदर्शनीमा प्रदर्शित सिर्जनाहरुमा यी दुईले समकालीन समय र समाज, मानवीय र प्राकृतिक संवेदना, सांस्कृतिक सम्पदाको क्षयीकरण, महिलाका आत्मीय भावनाहरुलाई उतार्ने जमर्को गरेका छन् ।

प्रणय दिवसकै अवसर र सन्दर्भमै संयुक्त रुपमा कला प्रदर्शनी गरिएको पृथ्वीले जोय नेपालसँगको कुराकानीमा सुनाए ।

‘ग्यालरीबाट कपुल सिरिजमा प्रदर्शनी गर्न हामीलाई एक वर्षअघिदेखि प्रस्ताव आइरहेको थियो’, उनले भने, ‘सौर र मेरो पनि अहिलेसम्म सँगै प्रदर्शनी भएको थिएन । उनको र मेरो मात्र सँगै भएको यो नै पहिलो प्रदर्शनी हो । यही भ्यालेन्टाइन स्पेशलका रुपमा भयो । झनै गजब भएको छ ।’

कला सिर्जनाको फाँटमा ५० को दशकमा उदयीमान महिला कलाकारका रुपमा सौरगंगाको नाम अग्रपक्तिमा आउँछ । पृथ्वीको पनि कला यात्रा ५० को दशकबाट नै शुरु भएको थियो । सौरगंगा हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ समेत हुन् । उनले प्रतिष्ठानमा वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागलाई सम्हालेकी छिन् ।

विशेषत प्रिन्ट कलामा उनको दखलता देखिन्छ । प्रिन्ट कलामा नै उनी आम समकालीन समाज र मानवीय भावनाहरुलाई सुक्ष्म ढंगले चित्रण गर्छिन् । कलाकार पृथ्वीको सिर्जनामा पनि आम समाज, प्रकृति र मानवका विषयहरु नै केन्द्रित हुन्छन् । उनको माध्यम भने रंग र क्यानभास हुन् । यी दुवै मिलेर मिहिन रुपमा समाजलाई केलाउँछन् अनि तिनलाई सिर्जनाको लहरमा उनेर आम कलाप्रेमीलाई देखाउँछन् ।

सँगसँगैको जीवनयात्रा

पृथ्वी र सौरगंगाले कला क्षेत्रमा प्रेमी जोडीका रुपमा लामो समय बिताए । कला अध्ययनकै क्रममा उनीहरुले एक–अर्कालाई नजिकबाट नियाल्ने मौका पाएका थिए । कला अध्ययन, सिर्जना, कार्यशाला, प्रदर्शनी जस्ता माहोलमै यी दुईले प्रेम साटासाट गरे र सधैंका लागि सँगै हुने वाचा गरे । एक दशकभन्दा लामो प्रेम सम्बन्धलाई उनीहरुले २०७३ सालमा विवाह बन्धनमा बदले । प्रणय दिवसको सन्दर्भलाई जोड्दा पृथ्वीले हाँस्दै सुनाए, ‘हामी छुट्टै टाइम नै लिएर घुम्न जाने, रमाइलो गर्ने भन्ने कुरा नै भएन । आर्टकै सेक्टरका भएका प्रोग्रामहरु नै हाम्रो भेट्ने र कुरा गर्ने माहोल हुन्थ्यो ।’

सौरगंगा पनि उनकै कुरामा सही थप्छिन्, ‘अहिलेसम्म अरु जोडीहरु जस्तो पार्कमा जाने, घुम्न जाने अझैसम्म भएको छैन । जाने भनेकै आर्टकै प्रोग्राममा हो । हामी दुवै कलाकार भएकाले होला जता गएपनि त्यही आर्ट जोडिएर आइहाल्छ ।’

सँगैको कलायात्रामा दुवै एक–अर्कालाई सारथिका रुपमा लिन्छन् । सौरगंगा सिर्जनासँगै कला अध्यापनमा पनि छिन् । दुवै मिलेर घरव्यवहारका साथ सन्तानलाई हुर्काइरहेका छन् र सँगसँगै आफ्नो सिर्जनालाई अगाडि बढाइरहेका छन् । दुवै एक–अर्काका सिर्जनाका पहिलो दर्शक र समीक्षक पनि हुन् । सिर्जनामा चाहिने थपघट, रंगको संयोजन, कलाको भाव र त्यसले समाजमा पार्ने प्रभावबारे दुवैजना खुलेर कुरा गर्छन् । आ–आफ्नो सिर्जनाका कमजोरीहरु पनि यही क्रममा पत्ता लगाउँछन् ।

पृथ्वीलाई ती ललितकला क्याम्पसका दिनहरु अझै सम्झनामा छन् । सौरगंगाको कलाप्रतिको झुकाव र मिहिनेत देखेर नै उनी झनै नजिक भए । उनी सौरगंगालाई आफूभन्दा सिनियर र वास्तविक कलाकारको दर्जा दिन्छन् ।

भन्छन्, ‘सौरका लागि आर्ट गर्न कुनै समय र ठाउँ यही नै भनेर फिक्स हुन्न । कहिले राति दश/एघार र दुई/तीन बनेसम्म उनी आर्ट गर्न सक्छिन् । म त्यो गर्न सक्दिन ।’

समाजको सानोदेखि गहन विषयमा सौरगंगाले ल्याउने मुद्दाहरु उनलाई विशेष लाग्छ । नेपालबाट मानिस देखि देवताहरु विदेश पलायन भएका छन् । मानिसहरु रोजगारी र शिक्षाका लागि विदेश जान्छन् भने देवताहरु चोरी भएर अरु देशमा पुगे । मानिसहरु सुट्केश बोकेर नेपाल आए जसरी नै देवताहरु स्वदेश फर्किने क्रम जारी छ । यसलाई उनले कलामा उतारेकी छिन् । सौरगंगाको यो सिर्जना सिरिज अझै विशेष लाग्छ ।

पृथ्वीको सिर्जनामा भने मानव फिगरहरु प्रायः एकल हुन्छन् । कलामा मानव आकृतिहरु देखाउन रुचाउने सौरगंगा कहिलेकाहीँ पृथ्वीसँग गुनासो गर्छिन्, ‘तपाईँको कलामा त हामी छैनौं कि क्या हो ? जहिल्यै सिंगल आफू मात्र देखाउनुहुन्छ त ।’

त्यसमा पृथ्वी हाँसेर टारिदिन्छन् । यसरी कलाकै सेरोफेरोमा दुवैको संसार चलिरहेको छ । अबको संसार दुवैका लागि यसरी नै चलिरहोस् भनी चाहन्छन् । दुवैको रुचि, सपना र आकांक्षाहरु समान छन् । कला क्षेत्रलाई फलाउन र फुलाउन यी दुवै चाहन्छन् ।

कला क्षेत्रमा लागेर जीवन धान्न सकिँदैन भन्ने अझै आम मान्यता छ । श्रीमान्–श्रीमती दुवै नै कला क्षेत्रमा तल्लीन भएकै कारण कहिलेकाहीँ आर्थिक रुपमा ह्ने कठिनाइहरु यी दुईलाई पर्छन्, तर त्यसलाई दुवै मिलेर समाधानको बाटोतिर लैजान्छन् ।

‘जे–जति छ, त्यसमै हामी चित्त बुझाइरहेका छौं । हाम्रो परिवार चलेको छ, हाम्रो काम रोकिएको छैन र हामी खुसी पनि छौं’, सौरगंगाले सन्तुष्टिको भावमा सुनाइन् ।

आफ्नो काम र आफूलाई बुझ्ने मान्छे भएरै जीवन सहज भएको उनको भनाइ छ । पृथ्वी पनि सौरगंगालाई श्रीमतीभन्दा बढी सहकर्मीका रुपमा लिन्छन् । सबै कुरालाई सहज र सजिलो रुपमा बुझिदिने, उनको सामान्य जीवनशैली र सरल स्वभाव अझ उनलाई प्रिय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?